Logo
Logo

त्यो प्रिय डायरी, यी असल मान्छे


882
Shares

जीवनमा डायरी धेरै नै लेखेँ । अझै पनि लेख्दैछु । मेरो सबैभन्दा मिल्ने साथी नै डायरी हो जस्तो लाग्छ । त्योसँग जे कुरा गर्न पनि मिल्छ । जस्तै कठिन समस्या आइपर्दा पनि उसैसँग दुःख सुखका कुरा गर्छु । त्यसले उचित सल्लाह पनि दिए झैँ लाग्छ ।

उसँग कुरा गर्दा विगतका अनेक पलहरू सम्झाइदिन्छ । दशकौँ अघिका कुराहरू सम्झिनु पर्दा उसैका पाना पल्टाउँछु । डायरी लेख्ने बानी भने हाम्रो ‘भूमिगत विवाह’को बेला पार्टीबाट उपहारका रूपमा पाएको नोटबुकमा लेख्न थालेपछि लागेको हो । बिहे कसरी भयो भन्ने कुरा त उहिल्यै लेखिसकेकी छु ।

बिहेमा मेरा या सरोजका कुनै आफन्त सामेल थिएनन् । आफूलाई मनपर्ने, बोलाउन चाहेका साथीहरू पनि बोलाउन सकेका थिएनौँ । तत्कालीन नेकपाका (माले)का केही नेता र कार्यकर्ताको उपस्थितिमा पार्टीकै आयोजनामा एक कार्यकर्ताको घरको सानो कोठामा भएको थियो त्यो बिहे । त्यो बेला हामी दुबैले एउटा–एउटा हरियो खोल भएको डायरी पाएका थियौँ । जिन्दगीमा पार्टीबाट पाएको भौतिक वस्तु त्यही नै होला ।

त्यो विशेष उपहार हाम्रो जीवनसँगै जोडियो । यात्राको क्रममा चीन पुग्दासम्म पनि त्यो बोकेरै गएकी थिएँ । हरेक दिन नलेखे पनि कहिले कहिले आफू भावनामा बगेको बेला, साथी खोजेको बेला त्यसैसँग कुरा गर्ने गर्थें । त्यसका पानाहरू सबै भरिएपछि डायरी लेख्ने नोटबुक फेरेँ । फेरि अर्को फेरि अर्को गर्दै जम्मा हुँदै गए ।

चीन बसाईँको अन्तिम वर्ष सन् १९९०/९१ तिरको डायरी चीनमै किनेको राम्रो गाता भएको मोटो नोटबुक थियो । त्यो झिलिक्क परेको रातो खोलले नै चीनका दिनहरू सम्झाउँछ । त्यसभित्र अनेक दुःख सुखका कुराहरू छन् । आफूले बुझेको चीनको इतिहास छ, आफैले भोगेको चीनको सम्झना छ, अनुभूति छ ।

चीनका बारेमा संस्मरणहरू लेखिरहँदा त्यसलाई पल्टाउँछु । अचेल कम्तिमा हप्ताको एकपल्ट त पल्टाएकै हुन्छु । त्यसले सहयोग गरिरहेको भएरै यति धेरै कुरा सम्झिन सकेको छु । त्यो बेलाको चीन र अहिलेको चीनबीचको आकाश–जमिन सरहको फरक देख्न त्यसैले सघाएको छ ।

यतिखेर पल्टाउँदै गरेको मेरो डायरीको पहिलो पानामै ‘१९९० का कुरा’ भनेर लेखेकी रहेछु । त्यसैले गर्दा “त्यो बेला के भएको थियो’’ भनेर मेरो बुढासँग पनि सोध्नु पर्दैन । आजको गुगलमा नभेटिने कुरासमेत भेटिन्छ कहिलेकाहीँ ।

देशमा २०४६ सालको आन्दोलन हुँदाका कुराहरू पनि परै बसेर “हे¥यौँ’’ । कहिले टिभीका समाचारबाट, कहिले साथीहरू र घरबाट आएका चिठीहरूबाट । देशको चिन्ता र छटपटीसँगै आन्दोलनपछि आएका परिवर्तनलाई खुसी र कृतज्ञताका साथ आत्मसात ग¥यौँ । अझै देशमा बसेर बेस्सरी खटिरहेका साथीहरूलाई बेस्सरी सम्झियौँ । स्थिरता अझै नआइसकेको स्वदेश र आफू बसेको परदेशको तुलना ग¥यौँ ।

चीन आज जस्तो विकास भइसकेको त थिएन, तर पनि त्यहाँ भइसकेका राम्रा कुरा हाम्रो देशमा पनि कहिले होला भनी प्रश्न गर्थे । एकपल्ट आफ्नो देशमा २०हजार महिलाको जुलुस आएको कुरा सुनेँ । खुसी लाग्यो केही उथलपुथल त अवश्य आएको छ महिलाहरुकै जीवनमा पनि भनेर । १९९० कै अगस्त तिरको कुरा हो ।

त्यही अगस्त महिनामा मेरो कसैले नदेख्ने दाँत, जोडी नभएको बुद्धि बंगराले बरोबर दुःख दिइराख्ने भएर उखेल्नु प¥यो । सानो घनले ठ्वाङ ठवाङ ठोकेर निकालेको कुरा पनि लेखेकी रहेछु । असह्य दुःखाई थियो । घर आएर लेखेकी रहिछु– “पैसा तिरेर दुखाई किनेँ’’ भनेर ।

युनिभर्सिटीमा भाषाको खण्ड सिद्एर चिनियाँ साहित्यको पढाई हुन थालेको थियो । धेरै लामो इतिहास बोकेको चिनियाँ साहित्य जति पढ्यो त्यति नै चाख लाख्दो हुने नै भयो । पढ्न पाएकोमा खुसी थिएँ ।

एकजना अमेरिकी चिनियाँ साथी डा. सिन्डी पनि मेरै कक्षामा थिइन् । अमेरिकामा नै पिएचडी सिध्याएर कलेजमा समेत पढाएर चीनको साहित्य पढ्ने इच्छाले फेरि पढ्न आएकी उनीसँग मेरो घनिष्ठता बढ्यो ।

मेरो बुढा पनि सर्जरीमा पिएचडी गर्न लागिरहेको कुरा थाहा पाएर सुनाउँथिन् आफ्नो अनुभव– ‘धैरै गाह्रो काम !’ उनको पिएचडी सकिने बेला उनको बाबु रोएका थिए रे । कति गाह्रो काम सम्पन्न गरी छोरीले भनेर । साहित्यप्रति उनको पनि बढि आकर्षण थियो ।

जुनै कुरामा सहयोग गर्न पनि तत्पर थिइन्, उनको सद्भावप्रति आभारी भएँ । एकपल्ट चिनियाँ कविताहरूकै बारेमा कुरा भइरहँदा र हाम्रै मित्रताको बारेमा कुरा हुँदा चिनियाँ भाषामा त्यो बेलाकी चिनियाँ कवि ‘सि मु–रोङ्ग’को एउटा कविताको सानो अंश सुनाएकी थिइन् उनले–
‘बगेर गयो लामो समय
बाँकी रह्यौ तिमी र म
यही त हो मित्रता !’

धेरै मन परेर चिनियाँ अक्षरमै आफ्नो डायरीमा सारेर राखेकी थिएँ । अहिले त चिनियाँ अक्षर पनि धेरै बिर्सिसकेछु । आफूले लेखेको आफैँले नचिन्ने र नबुझ्ने भैसक्यो– प्रयोग र अभ्यास छुटेर । आफ्नै डायरीमा आफ्नै हातले उतारेका ती पङ्क्तिको भावानुवाद गर्न सरोजको मद्दत चाहियो ।

चीनबाट फर्किसकेपछि ३ दशक त पुरै बितेर गइसक्यो १५ वर्ष जति त चिनियाँ पढेको ऋण तिरेजस्तै गरी विश्वभाषा क्याम्पसमा प्रारम्भिक तहको चिनियाँ भाषा पढाउने काम गरेँ । त्यतिबेला धेरै आवश्यकता पनि थियो क्याम्पसलाई ।

अहिले त त्यो छुटेको पनि धेरै भयो । त्यति धेरै महत्व दिएर पढेको शिक्षा बिर्सनुको दोष अरु कसैलाई छैन । समयले पढायो, त्यो अवसर दियो समयले नै, बिर्सिने अवस्थामा पनि समयले नै पु¥यायो । तर मेरो डायरीले भने जोगाएर राखिदिएको छ महत्वपूर्ण सम्झनाहरूलाई ।

अघिल्लो हप्ता ‘गुन्जन’ र ‘पोखरेली युवा साँस्कृतिक परिवार’को संयुक्त कविता गोष्ठीमा सहभागी हुन र पोखरा घुम्न भनी जाँदा “१९९०’’ लेखेको त्यो पुरानो डायरीलाई पनि साथैमा बोकेकी थिएँ । फेवातालपारीको होटेलमा दुईदिन बसेका थियौँ । लेख्न सकिन्छ कि भनेर चीन डायरी निकालेर पढेकी पनि थिएँ । होटेलबाट निस्किने बेला टेबुलमा राखेको त्यो डायरी त टिप्नै बिर्सेछु ।

ताल तरेर ट्याक्सी चढिसकेका थियौँ । ट्याक्सी गुडिसकेको पनि थियो । बाटैमा होटेलबाट फोन आयो– “तपाईँहरूको रातो कभर भएको पुरानो नोटबुक छुटेछ…’’, अनि झस्केँ । तुरुन्तै गाडी फर्कायौँ । एउटी बहिनीले डुंगा खियाउँदै ताल तरेर त्यो डायरी ल्याइदिइन् । डायरी हातमा पर्दा धेरै खुसी लाग्यो । ल्याइदिने बहिनीलाई टिप्ससहित धेरै धेरै धन्यवाद भनेँ । ३३ वर्ष पुरानो चीनका महत्वपूर्ण संस्मरण बोकेको मेरो डायरी गुमाउनु परेन । धन्यवाद ती बहिनीलाई । धन्यवाद होटेल फिसटेल लजलाई !

प्रतिक्रिया दिनुहोस्