Logo
Logo

सुप्रिम सहकारी ठगी प्रकरण : रविको पक्षमा क-कसले गर्दैछन् बहस ?


1.3k
Shares

रुपन्देही । सुप्रिम सहकारी ठगीका प्रतिवादी रास्वपा सभापति रवि लामिछाने विरुद्धको मुद्दामा दोस्रो दिनको बयान सुरु भएको छ । बुधबार अदालतमा हाजिर भएका उनको रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बहस भइरहेको हो ।

बिहीबार थुनछेक बहसको पहिलो दिन ८ जना सरकारी वकिलहरूले ४ घण्टा बहस गरेका थिए । आज जाहेरवालाको तर्फबाट दुई जना वकिलले बहस गर्नेछन् ।

त्यसपछि रवितर्फका वकिलहरूले बहस गर्नेछन् । रविको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशील पन्त, सुरेन्द्र थापा, पशुपति भण्डारी तथा अधिवक्ताहरू डा. नारायणदत्र कंडेल, सुरज बस्नेत, सुनिता रावल, राजेन्द्र सेढाईलगायतले बहस गर्ने तयारी छ ।

प्रतिवादीको तर्फबाट ८ जनाले बहस गर्ने नाम टिपाइएको र दुवैतर्फको बहस सकिएपछि जवाफी बहस हुने अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

विहीबार सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए । त्यस्तै उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले बहस गरेका थिए ।

रविको तर्फबाट बहस गर्नेको सूची लामो भएकाले आजै आदेश आउन सक्ने सम्भावना कम छ । त्यही पनि बहस छोट्याउने तयारी छ । जवाफी बहसपछि मात्रै न्यायाधीशले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्नेछन् ।

गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग पत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्