Logo
Logo

अतिक्रमण गरेर वाग्मती किनारमा तरकारी र मकै, सरोकारवाला निकाय मौन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ११ असार । राजधानीको सभ्यताको स्रोत वाग्मती नदी किनारमा स्थानीयवासीले तरकारी, मकैलगायत अन्नबाली लगाएर सार्वजनिक जग्गा अतिक्रमण गर्दा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।
वाग्मती सफाइ महाअभियानको बुधबार बेलुकी भएको भर्चुअल बैठकमा अभियानकर्मी नरेन्द्र श्रेष्ठले नदी किनारको शंखमूल क्षेत्रमा नदी किनारको दायाँबायाँ तरकारी, मकैलगायत अन्नबाली लगाएर कब्जा गर्दा पनि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको ध्यान नगएको बताए । शंखमूल क्षेत्रको नदी किनारमा पनि थापाथलीमा जस्तै सुकुम्वासीका नाममा कब्जा गर्ने उद्देश्यले अन्नबाली लगाइएको उनले बताए ।
अभियानकर्मी चक्रबहादुर चन्दले कोटेश्वर महादेवस्थान नजिकैको नदी किनारको जग्गामा स्थायी संरचना निर्माण भइरहे पनि रोक्न पहल नभएको बताए । वाग्मती किनारको अधिकांश खाली जग्गामा तरकारी, मकैलगायत अन्नबाली लगाउँदासमेत अधिकार सम्पन्न वाग्मतीको ध्यान जान नसक्नु दुःखद् भएको उनको भनाई थियो ।
शंखमूलबाट कोटेश्वर जाने नदी किनारको जग्गामा वाग्मती प्रदेशसभा सदस्य गणेश दुलालले समेत मापदण्ड विपरीत प्रदेशसभा सदस्यको पूर्वाधार विकास कार्यक्रमको बजेटबाट स्थायी संरचना निर्माण गर्नुभएकामा अभियानकर्मीले आपत्ति जनाए । संयुक्त राष्ट्र संघ उद्यान (यूएन पार्क)बाट आलोकनगरसम्मको नदी किनारका अधिकांश स्थानमा तरकारी लगाएर कब्जा गरिएको छ ।
अधिकार सम्पन्न वाग्मती समितिको सञ्चालक सदस्यसमेत रहेका अभियानकर्मी राम साहले कोटेश्वर क्षेत्रको नदी किनारको जग्गा अतिक्रमण गरी बनाइएको भवनका विषयमा कार्यालयमा जानकारी गराएपनि रोक्न पहल नभएको गुनासो बैठकमा गरे । समितिमा २०० कर्मचारी हाजिर हुने गरेपनि काम नगर्ने गरेको विषय आफूले बैठकमा उठाए पनि कार्यान्वयन नभएकाले राजीनामा दिने सोचमा पुगेको समेत उनले बताए ।
अभियानकर्मी गोकुल थापाले अधिकार सम्पन्न वाग्मतीमा बेथिति भएकैले नदीको हालत प्रदूषित भएको बताए । प्रदेशसभा सदस्य जस्तो पदमा रहनेले भत्काउनुपर्ने भवन बनाएर जनताको करको दुरुपयोग भइरहेको उनको टिप्पणी थियो । अभियानकर्मी गोविन्द काफ्लेले नदी किनारको जग्गाका विषयमा अधिकार सम्पन्न वाग्मती र स्थानीय सरकारबीच द्वन्द्व रहेकाले पनि समस्या आउने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्