नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालमा सघन उपचार सेवा (आइसियू) सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेश सरकारले रू १३ करोड ६६ लाखको लागतमा निर्माण गरेको ५० शय्याको अस्पतालमा सो सेवा सुरू भएकोे पृथ्वीचन्द्र अस्पतालका सूचना अधिकारी गोविन्दबहादुर ज्ञवालीले जानकारी दिए ।

पछिल्लो समय पृथ्वीचन्द्र अस्पतालमा सघन उपचार सेवा नहुँदा अस्पतालमा आएका बिरामीलाई भैरहवा, बुटवल, भरतपुरमा पठाउनुपर्ने बाध्यता रहिआएको थियो । माघदेखि निर्माणाधीन अस्पतालको नयाँ भवनमा सो सेवा सुरू भएसँगै जनरल तथा आर्थोपेडिक सेवा पनि सुरू गर्ने प्रक्रिया थालिएको सूचना अधिकारी ज्ञवालीले जानकारी दिए ।
आइसियू सेवासँगै जनरलसरजन तथा बेहोस गराउने (एनेस्थेसिया) विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, डेण्टल सर्जन, ल्याब एवं नर्सिङ सेवामा काम गर्ने विशेषज्ञ लम्बिनी प्रदेश सरकारले पृथ्वीचन्द्र अस्पतालमा पठाएको पृथ्वीचन्द्र अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नुरूल होदाले बताए ।
उनका अनुसार केही दिन पहिला आँखा विशेषज्ञ डाक्टर आएका छन् । अब हामी आँखासम्बन्धी सेवा प्रवाह गर्ने प्रक्रियामा छौँ । पृथ्वीचन्द्र अस्पतालमा आइसियू सञ्चालनमा आएसँगै चिकित्सक पनि थपिएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताए ।