जनकपुरधाम । उपचारमा लापरबाही गरेको भन्दै जनकपुरको मुस्कान अस्पताललाई तत्काल बन्द गर्न मुख्यमन्त्री सतिशकुमार सिंहले निर्देशन दिएका छन् । शुक्रबार राति ११ बजे अस्पताल पुगेर मुख्यमन्त्री सिंहले त्यहाँका सञ्चालकलाई आज बिहान ११ बजेसम्म अस्पताल बन्द गरेर साँचो बुझाउन निर्देशन दिएका हुन् ।

गत माघ ३ गते पित्तथैलीको शल्यक्रिया गरेपछि सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नं ५ की २५ वर्षीय बबिता कुमारी यादव अहिलेसम्म बेहोस छन् । शुक्रबार उक्त समाचार सार्वजनिक भएपछि मुख्यमन्त्री सिंह साँझ नै हस्पिटलमा पुगेका थिए । तर, त्यहाँ सञ्चालक नहुँदा फर्केर गएका उनी पुन: राति ११ बजे पुगेर दर्ताका कागजातहरू देखाउन भनेका थिए ।
उक्त अस्पतालको दर्ता समेत नरहेको खुलेको थियो । दर्ता नरहेको पाइएपछि मुख्यमन्त्री सिंहले यहाँ उपचाररत रहेका तीनजना बिरामीलाई अन्य अस्पतालमा व्यवस्थापन गर्न र बिहान ११ बजेसम्म अस्पतालमा ताल्चा लगाएर साँचो सरकारलाई बुझाउन उनले निर्देशन दिएका हुन् ।