काठमाडौं , १४ असार ।
अन्तत सोमबारदेखि शेयर बजार खुल्ने भएको छ । बजार खोल्न तिव्र दबाब परेको थियो ।
आइतबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैंठकले सोमबारबाट सेयर बजार खोल्ने निर्णय गरेको बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बताए ।
‘आज बसेको बोर्डको सञ्चालक समितिको बैंठकले सोमबारबाट सेयर बजार खोल्ने निर्णय गरेको छ,” उनले भने, “कसरी र कुन मोडालिटीमा बजार सञ्चाललन गर्ने निर्णय भने नेप्सेले गर्नेछ ।” बोर्डमा भएको निर्णयअनुसार नेप्सेलाई पत्राचार गर्ने तयारी भएको उनले बताए । नेप्सेलाई बोर्डले पत्राचार परेपछि नेप्सेले बजार खोल्ने मोडालीटीलाई अन्तिम रुप दिन लागिएको छ ।
सरकारले लकडाउन गरेसँगै चैत १० बाट बन्द भएको सेयर बजार वैशाख ३० र ३१ गते २ दिनका लागि खुलेको थियो । त्यसपछि पुनः बन्द भएको बजार लकडाउन खुकुलो भएर आर्थिक गतिविधि सुरु हुँदासमेत सञ्चालनमा नआउँदा चौतर्फी विरोध भइरहेको थियो ।
असार ६ गते बसेको धितोपत्र बोर्डको सञ्चालक समितिको बैंठकले बजार खोल्ने विषयमा अध्ययन गर्न कार्याकारी निर्देशक परिष्ठनाथ पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनको आधारमा बोर्डले बजार खोल्ने निर्णय गरेको हो ।