Logo
Logo

योजना छनोट प्रक्रियालाई प्रभावकारी बनाइने


378
Shares

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले योजना छनोटको प्रक्रियालाई प्रभावकारी बनाउने बताएका छन् । उनले आवधिक योजना र आयोजना बैंकमार्फत मात्रै योजना छनोट प्रक्रिया अघि बढाइने बताए ।

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना तर्जुमासम्बन्धी प्रदेश विकास परिषद्को बैठकलाई आज लमहीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले टुक्रे आयोजनालाई निरुत्साहित गर्न आवधिक योजना र आयोजना बैंकले समेटेका योजनालाई वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताए ।

‘प्रदेश सरकारले तथ्याङ्कका आधारमा योजना बनाउँछ । तथ्याङ्क र प्रमाणलाई आधार मानेर योजना छानिन्छन् । यसका लागि आवधिक योजना र आयोजना बैंकले हामीलाई सहयोग गर्नेछ’, उनले भने ।

प्रदेश सरकारले नयाँ योजना थप्नेभन्दा पनि अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकतामा राखेको, रणनीतिक रुपमा महत्व बोक्ने, प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रको विकासमा योगदान पु¥याउने योजनालाई प्राथमिकतामा राख्ने भनाइ मुख्यमन्त्री आचार्यको छ ।

आवधिक योजनालाई प्रदेश मन्त्रिपरिषद् बैठकबाट पारित गर्नुअघि प्रदेश विकास परिषद् बैठकमा प्राप्त सुझावलाई समेटिने मुख्यमन्त्री आचार्यले बताए ।

प्रदेश सरकार स्थापना भएपछि विकास निर्माणले गति लिएको, गाउँ सहरको मुहार फेरिएको, जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकारले सफलता प्राप्त गरिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्