बाजुरा, २१ असार । अविरल वर्षाले बाजुराको त्रिवेणी र बूढीगंगा नगरपालिकाको ताप्रिसेरामा रहेको झोलुंगे पुल उच्च जोखिममा परेको छ । पुलमाथि पानी बग्न थालेपछि आवजावतमा जोखिम भएको बूढीगंगा–२ का वडाध्यक्ष हिरालाल थापाले जानकारी दिए ।
लगातारको वर्षाले शुक्रबारदेखि पुलमाथि पानि बग्न थालेपछि आवतजावत समस्या भएको छ । पुलमाथि पानी जाँदा त्रिवेणी नगरपालिका र बूढीगंगा नगरपालिकामा आउन जान निकै समस्या भएको छ । पुलमाथि पानी बगेपछि जतिबेला पनि पुल बग्ने सम्भावना रहेकोले आवतजावतमा समस्या भएको स्थानीय वसन्त थापाले बताए ।
लगातार वर्षाले बाजुराका अन्य झोलुंगे पुल पनि जोखिममा रहेका छन् । बूढीगङ्गा नदीले बाजुराको द्वारी, तिपाडा, राप्का, अछामको साँफे, बुढाबगरलगायत ठाँउका दर्जनौँ पुल उच्च जोखिममा रहेका छन् । त्यस्तै कर्णाली नदीको पिलुचौर जुकोट पुल उच्च जोखिममा रहेको स्थानीयवासीले बताएका छन् ।
बूढीगंगा नदीको द्वारीमा रहेको झोलुङ्गे पुल बगाइसककेको स्थानीय धन जैशीले बताउनुभयो । कर्णालीको पिलिचौरमा रहेको झोलुङ्गे पुल बर्सातको समयमा सधैँ जोखिममा पर्ने गरेको छ । त्यो सँगै कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा छन् ।
वाई र वाधु जोड्ने पुल, गोत्रीको साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोड्ने आधा दर्जन पुल जोखिममा रहेका हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो । झोलुंगे पुलभन्दा माथि कर्णाली नदीमा पानीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका वाई, साप्पाटा, जुकोट गाउँपालिकामा आवतजावत प्रभावित बनेको छ ।