
काठमाडौं । नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओली गुटको प्यानलै पराजित भएपछि तरङ्ग सिर्जना भएको छ । मोरङको १०औँ जिल्ला अधिवेशनमा ओली गुटले सम्पूर्ण शक्ति लगाए पनि प्यानलै पराजित भएपछि खैलाबैला मच्चिएको छ ।
निर्वाचन परिणामअनुसार अध्यक्ष ओली पक्ष (संस्थापन) भनेर प्रचारित नेताको प्यानललाई पराजित गर्दै एमाले नेता विनोद ढकाल पक्षका नेताहरूको प्यानल नै विजयी भएको हो । जसमा अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झा निर्वाचित भएका छन् ।
ओलीको व्यक्तिवादले एमालेका धेरै नेता तथा कार्यकर्ता आक्रान्त छन् । बोले भीम रावल भइने डर उनीहरूलाई छ । त्यसैले अधिवेशनमा मौन विद्रोह गरेर कार्यकर्ताले ओलीलाई सबक सिकाएका छन् । सहमतिको नाममा गुटका भित्रियाको नाममा दबाब दिने, कारबाहीको चेतावनी दिएर तर्साउने काम मोरङको नेतृत्व चयनको बेला पनि भएको थियो ।
यसअघि १०औँ महाधिवेशनमा पनि ओली गुटले तर्साउने र धम्क्याउने नीति लिएको थियो । ‘कार्यकर्तालाई विभेद गरियो, अन्याय भयो । यो सबै कुराको एकमुष्ट जवाफ कार्यकर्ताले निर्वाचनमार्फत दिएका हुन् ।’ एमालेका एक पदाधिकारीले दृष्टिसँग भने ।
सत्ता र शक्तिको दुरुपयोग गर्दै अर्को पक्षलाई रोक्न खोजेपछि ओली गुट मोरङमा बढारिएको हो । त्यसको नेतृत्व फिल्डमा नेता विनोद ढकालले गरेका थिए भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएकी थिइन् ।
यसले एमालेमा भण्डारीको पहुँच कति छ भन्ने सन्देश दिएको छ । यसअघि कोसी प्रदेशका विभिन्न जिल्लामा पुगेर भण्डारीले भेटघाट गरेकी थिइन् । त्यसको प्रभाव मोरङ अधिवेशनमा देखिएको नेताहरू दाबी गर्छन् ।
एमालेका नेताहरूले पार्टीमा हेपिएका र अन्यायमा परेकाको जितको रूपमा मोरङको नतिजालाई लिएका छन् । ओली गुटले नेता विनोद ढकाल समूहलाई पेल्दै आएको थियो । उक्त समूहका नेता तथा कार्यकर्तालाई बोलेकै भरमा कारबाही गर्ने, जिम्मेवारीविहीन बनाउने लगायतका काम हुँदै आएको थियो ।
एमालेभित्र स्वतन्त्र ढंगले पनि कार्यकर्ताले सोच्न थालेछन् भन्ने सन्देश गएको राजनीतिक विश्लेषकहरू बताउँछन् । विश्लेषकहरू एमालेलाई ‘बाकरण’ बनाउने अभियानमा झट्का लागेको विश्लेषण गर्छन् । पूर्वराष्ट्रपति भण्डारीको चर्चाले झस्किरहेको ओलीगुटलाई मोरङ अधिवेशनले गम्भीर प्रश्न खडा गरिदिएको छ ।
माओवादीबाट एमाले बनेका उपाध्यक्ष रामबहादुर थापाले अधिवेशन उद्घाटन गर्दै गुट अन्त गरेर सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । तर, उनको निर्देशन कार्यकर्ताले स्वीकार गरेनन् । सहमतिका नाममा अधिवेशन लम्बिँदा ओली गुटका नेता भानुभक्त ढकाल, सांसद तथा पूर्वजिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतको खुला हस्तक्षप गरेका थिए । तर, उनीहरूको हस्तक्षेप बालुवामा पानी साबित भयो ।
राजनीतिक विश्लेषक प्रा कृष्ण पोखरेल एमालेको मोरङ अधिवेशनले ओलीको अलोकप्रियता संकेत गर्ने बताउँछन् । ‘यो ओलीको अलोकप्रियताको संकेत हो । यसले ओलीको पार्टीभित्रको हैकमवाद अन्त्यको सुरुवात पनि ग¥यो’ पोखरेल भन्छन् ।
भण्डारीको सक्रियताले तरङ्ग
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियताले एमालेको तल्लो तहसम्म तरङ्ग पैदा गरेको छ । नेता–कार्यकर्ता तलसम्मै विभाजित बनेका छन् । भण्डारीले राजनीतिमा फर्किने घोषणा नगरे पनि संकेत भने गरेकी छिन् । सरकारी सुविधा त्याग्नु र पार्टी गतिविधिमा सहभागी हुनुले भण्डारीको राजनीतिक चेत दर्साउँछ ।
सार्वजनिक प्रश्नको जवाफसमेत उनले कूटनीतिक रूपमा दिने गरेकी छिन् । उनी कोसी हुँदै सुदूरपश्चिमसम्म भ्रमण गर्ने तयारीमा छिन् । उनले नेता तथा कार्यकर्तासँग भलाकुसारी गर्दै गुनासा सुन्दै आएकी छिन् ।
भण्डारीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्नेमा समेत जोड दिँदै आएकी छिन् । केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा ओलीसँगै एउटै मञ्चमा रहेकी भण्डारीले गुट र फुटलाई परास्त गर्दै कम्युनिष्ट आन्दोलनको एकतामा जोड दिएकी थिइन् । ओली व्यक्तिवादी बन्दै जाँदा कम्युनिष्ट आन्दोल विभाजित छ । विभाजित कम्युनिष्ट शक्तिलाई एकत्रित गर्ने सेतुको काम भण्डारीले गर्न सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।
दुई कार्यकाल (करिब ७ वर्ष ) मुलुकको सर्वोच्च पद राष्ट्रपतिको भूमिका निर्वाह गरेकी भण्डारी २०७९ फागुनयता साधारण नागरिकको हैसियतमा छिन् । पछिल्लो समय उनी एमालेको आन्तरिक अन्तद्र्वन्द्वलाई सूक्ष्म ढंगले नियाल्दै आएकी छिन् । उनलाई एमालेका नेता–कार्यकर्ताले पार्टीको नेतृत्व सम्हाल्ने गरी सक्रिय हुन आग्रह गर्दै आएका छन् । तर, भण्डारीलाई आग्रह गर्ने नेताहरूप्रति ओलीगुट सन्तुष्ट छैन । भण्डारी एमालेको नेतृत्वमा आउँदा हालीमुहाली गुम्ने डर ओलीगुटमा देखिन्छ ।