काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गएराति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका ‘शब्दपथ’का प्रबन्ध सम्पादक मुरारी सिग्देलले बताए ।

‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित भएका थिए ।
भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।
सन् १९३३ को १ मार्चका दिन गुवाहाटी टकौबारीमा जन्मेका उनी ९२ वर्षका थिए । १६ वर्षको उमेरमा प्रकाशित पहिलो प्रकाशित कविता ‘शिवस्तुति’का माध्यमबाट नेपाली साहित्य जगतमा उदाएका उनको पहिलो उपन्यास ‘बसाइँ’ वि.सं. २०१४ सालमा प्रकाशित भएको थियो ।
उपन्यासका अतिरिक्त आख्यानको क्षेत्रमा उनका ‘तीन दशक बीस अभिव्यक्ति’, ‘लीलबहादुरका कथाहरू’ तथा ‘छरिएको बिस्कुन’ कथा कृतिहरू समेत प्रकाशित छन् ।
उनको हालै सबै उपन्यास एकसाथ ‘समग्र उपन्यास’का रुपमा प्रकाशित भएको थियो । उनले भारतको प्रतिष्ठित पद्मश्री समेत भारतीय राष्ट्रपतिवाट सन् २०२० मा प्राप्त गरेका थिए ।