Logo
Logo

अख्तियारमा पुलिसदेखि न्यायाधीशसम्म


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २३ असार । पार्टीभित्रकै भागबन्डाको विवाद तथा नेपाली कांग्रेसको बार्गेनिङका कारण संवैधानिक निकायहरुमा लामो समयदेखि करिब ४० पद रिक्त छन् । नियुक्तिमा कुरा नमिलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत संवैधानिक परिषद् ऐन संशोशन गरेर एकलौटी नियुक्तिको प्रयास गरे पनि त्यसको व्यापक विरोध भएपछि पछि हटेका थिए ।

अहिले पनि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा नियुक्तिका लागि पार्टीभित्र तथा कांग्रेससँग छलफल गरिरहेको स्रोत बताउँछ । कांग्रेस सभापति शेरबहादुर देउवाले आयोगमा एक आयुक्त मागेको छ । अख्तियारमा हाल दुई आयुक्तका पद रिक्त छन् । ओलीले नवीन घिमिरेपछि प्रमुख आयुक्त बनाउने गरी पूर्व गृहसचिव प्रेमकुमार राईलाई नियुक्त गर्न चाहेका छन् । तर, सहमति नहुँदा संवैधानिक परिषद्को बैठक बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी दलको नेताको सहभागीताबिना परिषद्ले निर्णय गर्न नसक्ने अवस्था छ ।

उता नेपाली कांग्रेसको तर्फबाट दुई जनाबीच प्रतिस्पर्धा छ । पूर्व सहसचिव गणेशराज कार्की र पूर्व एआईजी जयबहादुर चन्दबीच कांग्रेसको कोटाबाट आयोगमा नियुक्तिको प्रतिस्पर्धा छ ।

त्यस्तै प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले भने न्यायधीश किशोर सिलवालको नाम सिफारिस गरेको स्रोत बताउँछ । राजश्व न्यायधिकरण काठमाडौंका अध्यक्ष रहेका सिलवाललाई हालै प्रधानन्यायधीश राणाले उच्च अदालत, पोखराको कामु मुख्य न्यायधीशमा खटाएका छन् ।

प्रधानमन्त्रीले अख्तियारमार्फत आफ्ना विरोधीलाई सिध्याउने गतिविधि गर्न सक्ने आशंकाले नेकपाकै नेताहरु समेत सशंकित छन् । बालुवाटार जग्गा प्रकरणमा ओलीले आफुलाई अख्तियारमार्फत फसाउन खोजेको नेता माधव कुमार नेपालले आफू निकट नेताहरुसँग बताएका थिए । अख्तियारमा अहिले पनि दर्जनौं नेताहरुमाथि छानबिन चलिरहेको छ । आयोगमा सबै नेताहरुको विश्वास जितेको पात्रको खोजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्