काठमाडौं । विपक्षी चार दलीय समाजवादी मोर्चाले राजावादीबाट तीन खतरा रहेको भन्दै सडक संघर्ष गर्नुपर्ने निष्कर्ष निकालेको छ । आइतबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा भएको करिब डेढ घन्टाको छलफलले परिस्थिति गम्भीर रहेकाले संघर्षमा जानुपर्ने निष्कर्ष निकालेको हो ।

मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले नेपाली जनताले फालिसकेको प्रतिगामी शक्तिले फेरि टाउको उठाउने कोसिस गरेकाले चैत १५ गते वृहत् विरोधसभा राखिएको बताए । उनले भने, ‘हामीले पछिल्लो राजनीति र सडकमा प्रतिगामी शक्ति सलबलाएको विषयमा गम्भीर समीक्षा गर्यौँ । विषय धेरै गम्भीर छ । देशको राजनीतिक अवस्था एकपछि अर्को जटिल बन्दै गएको छ ।’
उनले सामन्तवादीको अवशेष बाहिर फेरि देखिन थालेको बताउँदै भने, ‘राजावादी प्रतिगामी शक्तिको सक्रियता जनसंघर्षबाट प्राप्त गरेको गणतन्त्र, राष्ट्रियता र समाजवादको खिलापमा छ । यी तीनवटा विषयलाई समाप्त पार्न देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरू षड्यन्त्रमुलक ढङ्गले लागेको बैठकले निष्कर्ष निकालेको छ ।’
मोर्चाले यही चैत १५ गते काठमाडौंमा हुने विरोधसभामा व्यापक जनसहभागिता हुने उनले दाबी गरे । आगामी दिनमा थप विरोधका कार्यक्रम तय गर्न भोलि बिहान बुद्धिजीवी र नागरिक समाजका अगुवासँग अन्तरक्रिया कार्यक्रम राखेको उनले बताए ।
भोलि दिउँसो तीन बजे वर्तमान परिस्थितको बारेमा जनतालाई सुसूचित गराउन पत्रकार सम्मेलन गर्ने निर्णय भएको पनि उनले बताए । बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबाहेकका सबै नेता उपस्थित थिए । अध्यक्ष नेपाल भने स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित भएनन् ।
आइतबार काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न भनेर हजारौं मानिस सडकमा उत्रिएका थिए । सो विषय गणतन्त्रवादी सबै राजनीतिक दलहरूले ध्यान आकर्षित गरेको हो ।