Logo
Logo

राष्ट्रियता पनि भूगोलको सीमाभित्र छैन : विद्यादेवी भण्डारी


630
Shares

काठमाडौं । हिमवत्खण्ड कला–साहित्य–संस्कृतिक सम्मेलन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ ।

  

हिमवत्खण्ड क्षेत्रका विविध भाषा, संस्कृति, सभ्यता, तथा ज्ञान परम्परालाई आत्मसात् गर्दै विभिन्न जातजाति र समुदायबीच सांस्कृतिक आदान–प्रदानको अवसर गर्ने उद्देश्यका साथ मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले सम्मेलनको आयोजना गरेको हो । सम्मेलनको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी उद्घाटन गरे । सो क्रममा पूर्वराष्ट्रपति भण्डारीले कला साहित्य र संस्कृतिबाट बारेमा गरिने अन्तर्क्रियाबाट हिमवत्खण्डको गरिमालाई उजागर गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

विश्वव्यापीकरणको प्रक्रिया तीव्र बनिरहेको अवस्थामा राष्ट्रियता पनि भूगोलको सीमाभित्र नरहेको भन्दै उनले विश्वको जुनसुकै अवस्था रहेका नेपाली भाषी समुदायलाई साझा संस्कृतिले भावनाको एकताले जोडिरहेको बताए । हिमवत्खण्डका साझा चुनौतीहरूको सामना गर्न वातावरणीय संरक्षण, जलश्रोत व्यवस्थापन, हरितऊर्जा प्रवर्द्धन तथा स्थानीय समुदायलाई जलवायु परिवर्तन अनुकूलन रणनीतिमा सहभागी गराउनुपर्ने उनले बताए ।  

सम्मेलनका क्रममा हिमवतखण्डमा उत्पन्न सभ्यता तथा सांस्कृतिक वैभवमाथि प्राज्ञिक विमर्श गरिनुका साथै तिनको अध्ययन, अनुसन्धान, संरक्षण र प्रवर्द्धनमा जोड दिइने प्रतिष्ठानले जनाएको छ । सम्मेलनमा नेपालका सातै प्रदेशका साथै भारत, चीन, बङ्गलादेश, म्यानमार, भुटान तथा थाइल्यान्डबाट आएका प्रतिनिधिहरूबाट लोकसंस्कृतिसम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ । सम्मेलन तीनदिनसम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्