काठमाडौं । अहिले नेपालको कम्युनिष्ट आन्दोलन जुन धरातलमा उभिएको छ, त्यसको जग क्रान्तिकारी कम्युनिष्टहरूको बलिदानी नै हो । मुलुकमा गणतन्त्र स्थापना गर्न पुष्पलाल श्रेष्ठले २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

स्थापनादेखि हालसम्मको अवस्थामा ल्याउन धेरै क्रान्तिकारी कम्युनिष्ट योद्धाहरूले बलिदान गरेका छन् । त्यही पृष्ठभूमिमा विसं २०२९ साल फागुन २१ गते पञ्चायती राज्यसत्ताले झापाको खुदुनाबारी र इलामको दानावारीको सिमावर्ती सुखानी जंगलमा पाँच जना कम्युनिष्ट क्रान्तिकारी योद्धाको गोली हानेर हत्या गरेको थियो ।
झापाको चन्द्रगढीस्थित कारागारबाट इलाम सार्ने बहानामा झापा विद्रोहका अगुवा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई पञ्चायती तानासाहले गरेको उक्त हत्या अत्यन्त पाशविक, अमानवीय, क्रूर र विवेकहीन थियो ।
पञ्चायती तानासाहले ती वीर योद्धाहरुलाई जेलमा राख्ने मात्र आँट पनि गरेनन् । बाँच्न पाउने मानवअधिकारलाई पनि वास्ता गरेनन् । पाँच योद्धाको हत्यापछि आन्दोलन समाप्त हुने पञ्चायतले सोचेको थियो । तर, निर्मम सुखानी हत्याकण्डपछि आन्दोलन झन् चर्कियो । अन्ततः पञ्चायती व्यवस्था ढल्न पुग्यो ।
सुखानी बलिदान नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा एउटा निकै दर्दनाक घटना हो । तिनै वीर अमर सहिदहरूको रगतले सिञ्चित भएको नेपाली धर्तीमा जनताको अभूतपूर्व जागरण र संघर्षपछि ०६२–०६३ को जनक्रान्ति सम्पन्न भएको छ । र, आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं । यो पुँजीवादी लोकतन्त्र हो ।
वीर सहिदहरूको लक्ष्य वैज्ञानिक समाजवाद र समाजवादी लोकतन्त्रको प्राप्ति थियो । त्यो दिशामा नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्ने ऐतिहासिक आवश्यकता छ । झापा विद्रोहको क्रममा लामो समय जेलजीवन बिताएका केपी शर्मा ओली चार–चार पटक देशको प्रधानमन्त्री भइसके । तर, सुखानी हत्याकाण्डको ५२ वर्ष बित्दासमेत सहिदले देखेको सपना पुरा हुन सकेको छैन । झापा विद्रोहको जगमा खडा भएको नेकपा एमालेले सुखानीका सहिदको योगदान भुल्दै गएको छ ।
सहिदहरूकोे सपना लत्त्याउँदै एमाले व्यक्ति केन्द्रित बन्दै गएको छ । सुखानीका सहिदहरूले राजतन्त्र र पञ्चायती व्यवस्थाको अन्त्य, सामान्त र साम्राज्यवादका सबै प्रकारका शोषण–उत्पीडन समाप्त, सबैखाले विभेदको अन्त्य गर्दै नयाँ जनवादी क्रान्ति पूरा गर्ने सपना बोकेका थिए । त्यहीकारण पाँचजनाले जीवन त्यागे भने अधिकांश नेता जेल पर्दा पनि परिवर्तनको आन्दोलन रोकिएन । आन्दोलन फैलिँदै गयो । परिवर्तनकारी कम्युनिस्ट घटकबीच एकताको क्रम चल्यो । २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टी माले गठन भयो ।
माक्र्सवादीसँग माले एकीकृत हुँदै एमाले बन्यो । २०५१ सालमा निर्वाचनमार्फत कम्युनिष्टको अल्पमतको सरकार गठन भयो । मनमोहन अधिकारी नेतृत्वको ९ महिने सरकार अत्यन्तै लोकप्रिय भयो । त्यसपछि पनि थुप्रै कम्युनिष्ट नेता प्रधानमन्त्री बने ।
कम्युनिष्ट आन्दोलन द्रुतगतिमा अगाडि बढ्ने क्रममा झण्डै दुईतिहाइको कम्युनिष्ट सरकार पनि बन्यो । तर, ‘बोकाको मुखमा कुभिन्डो’ भनेझै केपी ओलीले दुई तिहाइ हाराहारीको सरकार चलाउन जानेनन् । श्रमिक सर्वहारा वर्गको हातमा शासन सत्ता स्थापित गर्ने, जनवादी क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक अभिभारा ओलीले बहन गर्न चाहेनन् ।
सुखानीका सहिदका सपना अर्थात् वर्गीय मुद्दा भुल्दै ओली बिचौलिया, दलाल, भ्रष्टाचारीको रकममा रमाउन पुगे । त्यति मात्रै होइन, ओली सिंगो कम्युनिष्ट आन्दोलनलाई नै तहसनहस बनाउने बाटोमा हिँडे । दुई तिहाइ हाराहारीको सरकार हुँदासमेत ओलीले जनताले महसुस गर्ने गरी काम गर्न सकेनन् ।
सुखानीका सहिदका सपना अर्थात् वर्गीय मुद्दा भुल्दै ओली बिचौलिया, दलाल, भ्रष्टाचारीको रकममा रमाउन पुगे । त्यति मात्रै होइन, ओली सिंगो कम्युनिष्ट आन्दोलनलाई नै तहसनहस बनाउने बाटोमा हिँडे । दुई तिहाइ हाराहारीको सरकार हुँदासमेत ओलीले जनताले महसुस गर्ने गरी काम गर्न सकेनन् । असफल भएर पदबाट बाहिरिनुपर्ने डरले उनले असंवैधानिक रुपमा दुई–दुई पटक संसद् भंग गरिदिए । जसकारण नेकपा विभाजित भयो । एमालेमा विद्रोह भयो । माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी बन्यो ।
ओलीमा गलत सोच र चिन्तन हाबी हुँदा एमाले विकृति र विसंगतिको चंगुलमा फसेको छ । एमालेले सुखानीको बलिदान भुल्दै गएको छ । दलाल÷बिचौलियाको चंगुलमा एमाले नेतृत्व फसेको छ । जसका कारण सिंगो कम्युनिष्ट आन्दोलन कमजोर बनेको छ । राजावादीहरूले टाउको उठाउने मौका पाएका छन् ।
वीर अमर सहिदहरूको रगत क्रान्तिकारी कम्युनिष्टले कहिल्यै खेर जान दिनु हुँदैन । अहिले पनि समाजमा शोषण, दमन, अन्याय, अत्याचार, विभेद, भ्रष्टाचार र हर प्रकारका विकृति विसंगतिहरू छन् । त्यसलाई अन्त्य गरेर मात्रै वीर अमर सहिदहरूको सपनालाई साकार बनाउन सकिन्छ । त्यसका लागि ओलीले ओरालो बाटो लगाएको कम्युनिष्ट आन्दोलनलाई फेरि माथि उकास्नुपर्छ ।
स्पष्ट मार्गदर्शनबिना त्यो काम सम्भव छैन । त्यसकारण नयाँ शिराबाट कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । प्राप्त उपलब्धिको रक्षा गर्दै सहिद र जनताले देखेका सपना पूरा गर्ने बाटोमा सच्चा कम्युनिष्ट नेता कार्यकर्ता एकजुट हुनैपर्छ ।