Logo
Logo
विचार

ट्रम्प र पुटिन मिल्दाको विश्वव्यापी तरंग


डा. दीपेश केसी

2.5k
Shares

अमेरिकाले संसारभर अनुदानका अधिकांश पाइपलाइनहरु काटिदिएको छ यतिबेला । संसारभर प्रभाव बनाउन उसले अनुदानमार्फत जोडेका पाइपलाइन काटिँदाको असर विश्वव्यापी परिरहेको छ ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि युएसएआइडी त बन्द नै छ अहिले । अनुदानको रकम हिनामिनाको छानबिन चलिरहेको छ । अमेरिकाले दिने अनुदान संसारभर रोकिएको छ ।

जसमध्ये बंगलादेशमा राजनीतिक मामलामा, नेपालमा संघीयता र जैविक विविधता, भारतमा मतदातामा उत्साह ल्याउनेजस्ता परियोजनाहरु पर्दछन् । कतिपय देशमा समलिङ्गी अधिकारमा पनि अनुदान दिइएको थियो । ती अनुदानहरु रोकिएका मात्र छैनन् यसअघिका नास्तिकता फैलाउनेलगायतका परियोजनाबारे पनि सनसनीपूर्ण खुलासाहरु भइरहेको छ ।

अमेरिकी अनुदान सैन्य क्षेत्रमा पनि रोकिएको छ । युक्रेनलाई ३५० अर्ब डलर सैन्य सहयोग गरिसकेको तथ्य सार्वजनिक भएको छ । अब थप सहयोग नगर्ने निर्णयमा पुगेको छ अमेरिका ।

ट्रम्पले जेलेन्स्कीमाथि बच्चाले चकलेट मागेजस्तो बाइडेनसँग मागेर लिएको टिप्पणी गरे । सहयोग ठप्प पारेपछिको असर धमाधम देखिँदैछ । अमेरिकाले युक्रेनमा राखेको सैन्य प्रणालीहरु निष्कृय बनाइदिएको छ ।

रुसले यो घटनालगत्तै युक्रेनका थप भूभाग कब्जा गर्न थालेको छ । सैन्य प्रणालीहरु धमाधम ध्वस्त पारिदिएको छ । टाइम्सले युक्रेनले अहिले ठूलो क्षति व्यहोरिरहेको खुलाएको छ । यही घटना विकास भएमा युक्रेन अब केही महिना पनि टिक्दैन ।

युरोपेली युनियनको सहयोगले युक्रेनमा सैन्य गतिविधिको बढोत्तरीमा रुस केही सुस्त छ । युरोप पनि लामो समय युद्ध थेग्न सक्ने अवस्थामा नहोला । उसले ८०० अर्ब डलर प्रतिरक्षामा खर्च गर्ने निर्णय लिएको छ ।

युद्धले थिलथिलो भइसकेको युरोपलाई खर्च धान्न धौधौ पर्न सक्छ । आफ्नो भविष्यको सुरक्षा गर्ने भन्दै युरोपेलीहरु एकढिक्का हुन खोजेका छन् । तर, अमेरिकाको साथ र सहयोगविना त्यो प्रभावकारी हुन सकेन ।

बरु ट्रम्प–पुटिनसँग मिलेर आक्रामक कदम चालिरहेका छन् । अमेरिका र रुसबीचको द्वन्द्वको लाभ लिने समूहमाथि धक्का परेको छ संसारभर । युद्ध र शान्तिको खेती एकसाथ गर्नेहरु आकुलब्याकुल भएका छन् ।

विश्वव्यापी अनुदान रोकिएपछि उदारवादका नाममा मौलाएका गतिविधि सुस्ताइसकेका छन् । समलिङ्गी गतिविधि निष्कृय हुन थालेका छन् । देश विशेषको धर्म संस्कृतिमाथि नकारात्मक भाव फैलाउने गतिविधि पनि सुस्ताएको छ ।

उदारवादका नाममा जातीय र क्षेत्रीय अतिवादी गतिविधिहरुमा ठाडै असर परेको छ अहिले । प्यालेस्टाइन र त्यस वरपरका क्षेत्रमा हमासका गतिविधि कमजोर भएको छ । ट्रम्पले त हमासलाई युद्धबन्दी रिहा गर्न या सक्किन तयार हुन भनिसकेका छन् । भारतको उत्तरपूर्वी क्षेत्रमा सशस्त्र गतिविधि गर्नेहरु कमजोर बन्न थालेका छन् ।

अफ्रिकामा युरोपेलीहरुको प्रभाव कमजोर बन्न थालेको छ । फ्रान्स र बेलायतजस्ता देशका लगानीकर्ताहरुले अफ्रिकाका खनिजहरुमा बनाएको पहुँच कमजोर बन्न थालेको छ । सैन्य अखडाहरु बन्द गराइएका छन् । युक्रेन युद्धका दौरान नै फ्रान्सको प्रभाव रहेको कतिपय अफ्रिकी देशहरुमा सैनिक ‘कू’ भए जसमा फ्रान्सविरोधी शक्तिमा आए ।

ट्रम्पका नीतिहरु अमेरिका केन्द्रित हुनुले युरोपलाई असर परिरहेको छ । जो बाइडेन युरोपको पिछलग्गु बनेको आरोप लगाउँथे ट्रम्प चुनावअघि नै । अमेरिकालाई फेरि महान् बनाउने उनको नारा थियो । चुनाव जितेपछि युरोपले युक्रेन युद्धबाट फाइदा लिइरहेको र अमेरिकाले गुमाइरहेको भनेका थिए । हुन पनि युरोपका फ्रान्स र बेलायतजस्ता देशले युक्रेनलाई युद्ध गर्न ऋण दिएका छन् ।

बेलायतले हालै घोषणा गरेको २ अर्ब ७० करोड सैन्य सामग्री पनि ऋणमा हो । फ्रान्सले दिने सहयोग पनि रुसी फ्रिज भएको धनको ब्याज हो । त्यसैले पनि ट्रम्पले युद्धमा आफूले गरेको लगानी फिर्ता मागे । जेलेन्स्कीलाई रेयर अर्थजस्ता खनिजमा पहुँच दिन भने । यो सम्झौता गर्ने भनी ह्वाइटहाउसमा डाकिएका जेलेन्स्कीसँग ट्रम्पको नोकझोक नै भयो । त्यसपछि ट्रम्प झन् कडा बने ।

अमेरिकाले रुससँगको टकरावबाट अन्य शक्तिले फाइदा लिएको लेखाजोखा निकालेको हुनुपर्छ । रुसको तेल र ग्यास चीनले सबैभन्दा बढी खरिद ग¥यो । भारत पनि लाभान्वित भयो । युरोपका कतिपय देशले चीनबाट रुसको तेल र ग्यास खरिद गरे । रुसमाथि प्रतिबन्ध लागेकाले यसो भएको हो । युक्रेन युद्धबाट चीनको शक्ति झन् बढ्यो । रुसीहरुले कतै आफूहरु चीनको स्याटलाइट देशमा रुपान्तरित हुने त होइन भन्ने विश्लेषण गर्न थाले ।
कुनैबेला माओलाई सहयोग गरेर चीनमा कम्युनिस्ट क्रान्ति सफल बनाएको देश हो रुस । भियतनाममा हो चि मिन्ह र उत्तर कोरियामा किम इल सुङको उदयका पछाडि रुसको महत्वपूर्ण भूमिका छ । शीतयुद्धका बेलामा विभाजनले असर पारेको रुस जति कमजोर भयो उति नै चीनले शक्ति आर्जन गर्न थाल्यो ।

कुनैबेला रुसलाई थ्रेट मानेको अमेरिकाका लागि चीन झन् चुनौती बन्यो । ट्रम्पले रुससँग मिलेर जाने नीति लिइसके अहिले । उनी चीनप्रति कठोर छन् । चिनियाँ सामानमा कर बढाएर कडा नीति देखाइसके । चीनप्रति कडा नीति लिने मार्को रुबियोलाई विदेशमन्त्री बनाए ।

ट्रम्पको पुटिनसँग मिलेर जाने नीतिको असर संसारभर परिसकेको छ । चीन र भारतको भूमिका विगतभन्दा कम देखिन थालेको छ विश्व राजनीतिमा । जुन दिन ट्रम्पले पुटिनसँग टेलिफोन वार्ता गरे त्यो दिनबाट संसारको राजनीतिको माहोल नै परिवर्तन भइसक्यो । ट्रम्प र पुटिनले उच्च अधिकारी साउदी अरब पठाएर वार्ता गर्न लगाए । युक्रेन युद्धमा सिधा सिधा कुरा गर्न थाले यी दुई नेता ।

ट्रम्पले युरोपेली युनीयन र बेलायतको भूमिकालाई समेत बेवास्ता गरिदिए । पुटिनले पनि सी चिनफिङको भूमिका चाहेनन् । जेलेन्स्कीले फ्रान्स र बेलायत जस्ता देशहरुलाई युक्रेन युद्ध अन्तको वार्तामा संलग्न गराउन खोज्दा चेतावनी नै दिए । अमेरिका आफ्नो मामलामा आफै सिघा अघि सर्छ भन्ने सन्देश ट्रम्पले दिइसके । आफूलाई सफल डिल मेकर मान्ने ट्रम्पको सिधा सिधा कुरा गर्ने शैलीले बीचमा खेल्न खोज्ने शक्तिहरु कमजोर सावित भएका हुन् ।

बदलिंदो घटनाक्रमले संसारमा ट्रम्प र पुटिन नै मुख्य हुन् भन्ने देखाइरहेको छ । क्षेत्रीय शक्तिहरुलाई आफ्नै क्षेत्रमा ध्यान दिन जोड दिएका छन् ट्रम्पले । अमेरिका र रुसबीचको टकरावको फाइदा अन्य शक्तिलाई अब लिन नदिने रणनीति देखिन्छ ट्रम्पको । अमेरिकाले जे लगानी गर्छ त्यसको प्रतिफल खोज्छ भन्ने सन्देश पनि हो ट्रम्पको । अरु देशको समाजभित्र पस्ने र उदारवादका नाममा गरिने गतिविधिको भारी बोक्न तयार छैनन् ट्रम्प ।

हुनपनि अमेरिकी सहयोग ठप्प भएपछि उदारवादका नाममा हुनेगरेका गतिविधि ठप्प जस्तै भएको छ । नेपालमा जातीय, क्षेत्रीय, लैङ्गिक मुद्दा निकालेर माइतीघर मण्डलामा हुने गतिविधि लगभग शून्यजस्तै भएको छ । देशमा जग बनाएर उठेको भन्दा पनि अनुदानको भरमा मुद्दा लामो समय उठ्दैन भन्ने तथ्यप्रमाण हो यो । जब अनुदान रोकियो तब गतिविधि पनि रोकियो । यी सबैका पछाडि ट्रम्प र पुटिन मिल्नुको कारण हो । दुवै अनुदारवादी मानिन्छन् जो उदारवादका नाममा मौलाइएका मानव सभ्यतालाई चुनौती दिने खालका अप्राकृतिक र अराजक गतिविधिविरुद्ध कठोर बने ।

प्रतिक्रिया दिनुहोस्