सानैदेखि टेबलटेनिसप्रति रुचि राख्थिन् उनी । अहिले उनको टेबलटेनिस दिनचर्या बनेको छ । रहर र रुचिले टेबलटेनिस खेलमा होमिएकी दीक्षा दाहाल भन्छिन्, ‘सानो छँदा टेबलटेनिस खेलेको हेर्न मलाई रमाइलो लाग्थ्यो । अरुले खेलेको हेर्दाहेर्दै टेबलटेनिस खेलले मलाई आकर्षित गरेको हो ।’
दीक्षा टेबलटेनिसकी राष्ट्रिय खेलाडी हुन् । उनले हालसम्म थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरीय खेल खेलिसकेकी छन् । उमेरले दीक्षा भर्खरै २३ वर्ष टेक्दैछिन् । तर, उनी यो क्षेत्रमा लागेको झण्डै एक दशक भइसक्यो । दीक्षा भन्छिन्, ‘टेबलटेनिस खेल्न थालेको करिब १० वर्ष भयो । यसअवधिमा चालिसभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको गेम खेलिसकेकी छु ।’ थुप्रै पदक हासिल गरिसकेकी टेवलटेनिसकी राष्ट्रिय खेलाडी दीक्षा दाहालसँग दृष्टिको जम्काभेट :

टेबलटेनिस खेलतिर कसरी लाग्नुभयो ?
मेरो घरकै छेउमा टेबलटेनिस हल थियो । म आहोरदोहोर गर्दा धेरै जना टेबलटेनिस खेलिरहेको देख्थेँ । म झ्यालबाट चिहाएर पनि हेर्थेँ । मलाई रमाइलो लाग्थ्यो । अरुले खेलेको देखेर मलाई पनि खेलुँखेलुँ लाग्थ्यो । त्यतिबेला म ४ कक्षामा पढदैथिएँ । मेरो रहर र रुचि देखेर होला सायद त्यही ट्रेनिङ दिने गुरु विनोद शाक्य खेल्ने इच्छा छ भनेर सोध्नुभयो । त्यसपछि टेबलटेनिस हलभित्र प्रवेश गर्ने मौका पाएँ । विनोद शाक्य गुरुले नै मलाई ट्रेनिङ दिनुभयो । खेल्दै जाँदा झन् ऊर्जा थपिँदै गयो । मेरो टेबलटेनिस खेलको करिअर त्यहीबाट सुरु भएको हो ।
पहिलोपटक गेम खेल्दा कस्तो अनुभव भएको थियो ?
रमाइलो थियो । म चार कक्षामा पढ्थेँ । पहिलो चोटि गेम खेल्दा धरानदेखि विराटनगर जानुपर्ने थियो । त्यसैले घरपरिवारलाई कन्भिन्स गराउन गाह्रो भएको थियो । मेरो गुरु विनोद शाक्यले नै यो मौका नगुमाउनु है भन्दै मेरो ममी बाबालाई कन्भिन्स गराएपछि म पहिलो चोटि टिमसँग विराटनगर पुगेकी थिएँ । त्यतिबेला हाम्रो टिम तेस्रो भएको थियो । त्यही पनि म धेरै खुसी भएकी थिएँ ।
बुबाआमालाई के कारण कन्भिन्स गराउन गाह्रो भयो ?
म सामान्य परिवारको छोरी, एक्कासि एउटा ठाउँबाट अर्को ठाउँमा पठाउँदा कसले के भन्छ, के हुन्छ डर भन्ने सबै अभिभावलाई हुुन्छ नै । मेरो अभिभावकलाई पनि त्यस्तै भयो होला ।
त्यो बेला बुबाआमाले दिएको अनुमति ठिक लागेको छ कि छैन ?
त्यो बेला जे गर्नुभयो, त्यो राम्रो भयो । यसमा कुनै दुईमत छैन । समाजको डरले मलाई रोक्नुभएको भए आज म खेलाडी बन्दिनँ थिएँ होला ।
राष्ट्रिय खेलाडी भएर चिनिँदा कस्तो लाग्छ ?
देशको पहिचान बढाउन पाउँदा खुसी लाग्छ । सबैले राम्रो टेबलटेनिस खेलाडी भनेर चिन्दा झनै खुसी लाग्छ । यतिमात्र होइन, अन्तर्राष्ट्रियस्तरमा पनि खेल्ने अवसर पाएकोमा झनै खुसी लागेको छ ।
सामान्य परिवारका व्यक्तिलाई खेल क्षेत्रमा लाग्न कतिको गाह्रो छ ?
धेरै गाह्रो छ । खास त खर्च पु¥याउनै गाह्रो । म पनि सामान्य परिवारकी हुँ, तर मलाई धेरै सहयोग भएको छ । कतैकतै थोरै भए पनि क्यास प्राइज पाउँछु । यसले पनि सहयोग भएको छ । कतिपयले छक्क्याउनु पनि हुन्छ । स्पोन्सर गर्छु भनेर आस देखाउनुहुन्छ र भाग्नु हुन्छ ।
नेपालमा खेलाडीको अवस्था कस्तो छ ?
राम्रो छ भनौँ भने खेलाडीहरूले खासै केही सुविधा पाएको देखेको छैन । खेलको लागि खाने डाइट, लगाउने कपडा, टे«निङ सबै आफ्नै खर्चमा गर्नुपर्छ । कति खेलाडीहरू त खेलका लागि रकम जुटाउन नसकेर बिचैमा खेल छोडेर विदेश पलायन भएका छन् । धेरै खेलाडीहरूको अवस्था देख्दा दुःख लाग्छ ।
अन्तर्राष्ट्रियस्तरमा खेल्ने खेलाडीहरूको पनि अवस्था यस्तै हो ?
अन्तर्राष्ट्रियस्तरमा खेल्ने खेलाडीहरूको अवस्था निकै राम्रो छ । उनीहरूले पाउने सुविधाहरू जस्तै, खानपानदेखि जिम टे«निङ गर्ने सुविधा अलगै छ । उनीहरुको इन्स्योरेन्स पनि सरकारले नै गरिदिन्छ । भत्ता सुविधाहरू दिनुका साथै उमेर पुगेपछि सोहीअनुसारको सुविधा छ । यो देख्दा खुसी लाग्छ । तिमी खेलाडी हौँ भने खेलाडी नै भएर बाँच्ने अधिकार दिएको छ । यस्ता हरेक कुराको सुविधा राज्यले अन्तर्राष्ट्रियस्तरका खेलाडीलाई दिएको छ ।
टेबलटेनिसमा तपाईँ भविष्य देख्नुहुन्छ ?
हेरौँ, अहिलेचाहिँ खेलिरहेकी छु । सर, गुरुहरूको साथ र सहयोगमा खेल्ने अवसर पनि जुटिरहेको छ । भोलि मेरो अवस्था के आउँछ, भन्न सक्दिनँ । अहिलेचाहिँ खेलप्रति मेरो फोकस छ ।
हालै फ्रान्समा भएको ओलम्पिकमा खेल्न पाउनुभए नि, किन ?
म ओलम्पिकका लागि टप ३२ बाट छानिएर टप तीनमा परेकी थिएँ । तर, नियमअनुसार दुई जनामात्र खेल्न पाउने भएकाले मैले खेल्न पाइनँ ।
आजभोलि के गर्दै हुनुहुन्छ ?
गेमहरु भइरहेको हुन्छ । खाली बस्नुपरेको छैन । नयाँ खेलको तयारीमै सधैँ भइरहन्छु ।
खेलबाहेक अरु के गर्नुहुन्छ ?
यतिखेर टेबलटेनिस खेलबाहेक अरु केही सोचेको छैन । यसैलाई नै प्राथमकिता दिएकी छु ।
भविष्यको योजना के छ ?
यही गेम खेलेर राज्यलाई चिनाउने हो ।