काठमाडौं । तेह्रथुमको फेदाप गाउँपालिका-१ (साविक सिम्ले-१) पिपलडाँडामा फागू पुर्णिमाको अवसरमा आयोजित आहालेबजार मेलामा जारी ‘याक्थुङ कुरुम्बाङ सङजुङ्भो कप-२०८१’को आज पुरुषतर्फ उपाधिका लागि आयोजक टिम र फक्ताङ्लुङ एफसीबिच भिडन्त हुँदैछ । खेल (आइतबार) दिउँसो साढे १ बजे सुरु हुनेछ ।

याक्थुङ कुरुम्बाङ सङजुङभो कार्यसमिति, तेह्रथुम फेदापद्वारा ‘स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद’ भन्ने नारासहित आयोजित ‘याक्थुङ कुरुम्बाङ सङेजुङभो कप’मा ११ टिमले सहभागी जनाएका थिए । तीमध्ये आयोजक टिम कुरुम्बाङ सङ्जुङ्भो क्लव (बी) र फक्ताङलुङ एफसी फाइलनमा पुगेका हुन् । उपाधि विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, दोस्रो हुने टिमले नगद ३० हजारसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।

महिलातर्फ भने मुनाल युवा क्लव, जलजलेले उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक टिमलाई हराउँदै मुनाल युवा क्लव जलजलेले उपाधि हासिल गरेको हो । जलजलेले उपाधिसँगै नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

फागुन २६ गतेदेखि सुरु भएको मेलामा फुटवलका अलावा खुला लोक नृत्य प्रतियोगिता, च्याबु्रङ नाच (केःलाङ), धान नाच, हाक्पारे साम्लो, छेलो लगायतका प्रतियोगिताहरु आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष किरण कुरुम्बाङले बताए ।
