
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृहसचिव गोकर्णमणि दुवाडीले गृह मन्त्रालयमा आयोजित एक समारोहमा थापालाई आईजीपीको फुली लगाइदिएका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको थियो । यो सँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख रहेका थापा प्रहरीको ३१ औं आईजीपी बन्न सफल भएका हुन् ।
यसअघि नेपाल पप्रहरीको ३०औं आईजीपी वसन्त कुँवर थिए । उनी सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएसँगै थापा ३१ औं आईजीपी बनेका हुन् ।
आईजीपीका ३ जना प्रतिस्पर्धीमध्ये वरीयतामा थापा एक नम्बरमा थिए । प्रतिस्पर्धाको दोस्रो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरी र तेस्रोमा टेकबहादुर तामाङ थिए ।