
काठमाडौं । काठमाडौं उपत्यकामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत ८ वटा आङ्गिक क्याम्पसहरूमा स्ववियु निर्वाचन स्थगित भएको छ ।
उपत्यकाभित्रका २२ वटा आङ्गिक क्याम्पसहरूमध्ये ८ वटामा अन्तिम समयमा स्ववियु निर्वाचन रोकिएको हो । त्रिविले आजका लागि ६२ वटा आङ्गिक र अन्य सम्बन्धनप्राप्त कलेजहरूमा स्ववियु निर्वाचनको मिति तय गरेको थियो ।
तर, तालाबन्दीका कारण ति कलेजहरूमा निर्वाचन रोकिएको हो । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) र अमृत साइन्स क्याम्पसमा अन्तिम समयमा आएर स्ववियु निर्वाचन स्थगित भएको हो ।
त्यस्तै सरस्वती क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, शंकरदेव क्याम्पस, त्रिचन्द्र क्याम्पस र पब्लिक युथ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया यसअघि नै रोकिएको थियो । आरआर र अमृत साइन्समा भने हिजो मध्यरातदेखि तालाबन्दी भएपछि स्थगित भएको हो ।
यता त्रिवि केन्द्रीय क्याम्पसमा ८ गते र पद्मकन्या क्याम्पस बागबजारमा ७ गतेका लागि निर्वाचनको मिति तोकिएको छ । अन्य क्याम्पसहरुमा भने अहिले निर्वाचन जारी रहेको छ ।