काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णले सरुवा भएको १ महिना बितिसक्दा पनि रमाना नलिई कब्जा जमाएर बसेका छन् ।

गुणस्तरहीन प्रयोगशाला भ्यान खरिदमा २४ करोड भ्रष्टाचार गरेको आरोपबाट सफाइ पाएपछि दोस्रो पटक विभागको महानिर्देशक भएका कर्णको सरुवा कर्णाली प्रदेशको प्रदेश सचिवका रुपमा भइसकेको छ । उनीसँगै सरुवा भएका सबै सहसचिवहरू कार्यक्षेत्रमा गएर काम गर्न सुरु गरिसकेका छन् । तर उनी भने विभागमै हरेक फाइलमा घुस मोलमोलाई गर्दै बसिरहेका छन् ।
कृषिमन्त्री रामनाथ अधिकारीको स्वार्थ पूरा गर्न नसक्दा ६ महिनामै सरुवा भएका कर्ण आफ्नो सरुवा थमौती गर्ने अभियानमा शक्तिकेन्द्र धाइरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता मधेसी मूलकै भएका कारण उनलाई सरुवा थमौती गराउन सहज भएको छ ।
गुप्ताले कर्णलाई सरुवा थमौती गरिदिने आश्वासन दिएपछि उनी रमाना नलिई विभागको कुर्सीमा बिराजमान छन् । विभागीय मन्त्रालयले समेत उनको ठाउँमा नयाँ महानिर्देशक खटाउन सकिरहेको छैन । कर्ण महानिर्देशक भएपछि विभागमा सेवाग्राहीहरूले सास्ती खेप्दै आएका छन् ।
बिगतमा मुद्दा जित्न र महानिर्देशक हुन ठूलो धनराशी खर्च भएकाले सो असुलउपर गर्न उनी तल्लीन छन् । उनलाई बरिष्ठ खाद्य अधिकृत सुमन धितालले सहयोग गरिरहेका छन् । धिताल आयात निर्यात शाखाका प्रमुख हुन् । कर्णकै जोडबलमा उक्त शाखाको जिम्मेवारी पाएका धिताल महानिर्देशककै सामुन्ने कार्यकक्ष खडा गरेर सेवाग्राहीहरूसँग हरेक फाइलमा दररेट तोकेर आर्थिक लाभ लिइरहेका छन् ।
विगतमा महानिर्देशकको कार्यकक्ष रहेको भन्दा छुट्टै भवनमा आयात निर्यात शाखा रहेको थियो । तर धिताल प्रमुख भएपछि महानिर्देशकको कार्यकक्ष सामुन्ने आफ्नो चेम्बर खडा गरेर असुली गर्दैआएका छन् ।