Logo
Logo

आफ्नो त वर्तमान मात्रै


2.9k
Shares

संसारमा सबै कुरा अस्थायी रहेछ । कतिले संसारलाई नै एउटा ठूलो नाट्यशाला पनि मान्छन् जहाँ सधैँ उही नाटक चलिरहन सक्दैन । सत्य देखिँदैन । सत्यको परिभाषा दिन पनि मिल्दैन । सत्य त सत्य नै हुन्छ, त्यो हुन्छ मात्र । युद्ध, प्राकृतिक विपद्, महाव्याधि… सबै सबै अस्थायी नै हुन्छन् ।

मान्छेको पद, हैसियत, काम र विचार पनि अस्थायी नै हुन्छन् । र पनि मान्छे जीवनभर आफूलाइ मनपर्ने कुराप्रतिको राग र मन नपर्ने कुराप्रतिको द्वेषमा अल्झिएका हुन्छन् । आफ्नै अहंकार इष्र्यामा बेरिएका हुन्छन् ।

चीनमा बस्दाको डायरी पल्टाउँदै गर्दा पाँचौ वर्षको १५ जनवरीको पानामा पुगेँ । इराक र कुबेतको लडाईँले विश्व तातेको बेला रहेछ । इराकका राष्ट्रपति सद्दाम हुसेन– जसलाई दोस्रो हिटलर पनि भनिन्थ्यो– उनले आँखा चिम्लेर कुबेतमा हमला गरेका थिए ।

अर्को दिन खबर सुनेँ– अमेरिकी र ब्रिटिश फौजले सद्दाम हुसेनको घर र टिभि स्टेशनमा नै हमला गरेछन् । आफैसँग प्रश्न गरेकी रहेछु – ‘कहिलेसम्म यो लडाई हुने हो ?’

त्यो लडाईँ लामो भएन । अहिले न सद्दाम हुसेन छन् यो संसारमा न त त्यो बेलाका बुश नै । लडाईँ भने यो संसारको कुनै न कुनै कुनामा चलिरहेकै छ । एक देशले अर्को देशलाई गर्ने हेपाई, हस्तक्षेप पनि जारी नै छ । एउटै देशमा पनि आफूलाई नेता मान्नेहरूको बीचमा अहंकारको प्रतिस्पर्धा उस्तै नै छ– मिचाहा देशमा होस् वा मिचिने देशमा ।

नेपालमा धेरैपल्ट आन्दोलनहरू भइसकेका छन् । सबैलाई सत्ताको मोह छ । राजाको शासन गयो, गणतन्त्र आयो । द्वन्दको अन्त्य हुन सकेन । अहिले फेरि त्यति ठूलो जनउभारले पराजित गरेको राजतन्त्र फर्काउने सुरसारमा मानिसहरू भएको सुनिन्छ । द्वन्द र लडाईँको कथा कहिल्यै नटुंगिने रहेछ संसारमा । तर, अनित्य संसारमा यो अशान्ति पनि त स्थायी नहोला !

यतिबेला फेरि पनि चीनमा बस्दाकै दिनहरू सम्झिँदैछु । पढाइ सकिएपछि हामीलाई आफ्नै देश फर्किनु थियो । र त्यो समय नजिकिँदै थियो । सरोजको युनिभर्सिटीकी एकजना चिनियाँ विद्यार्थी मेडिसिनकै नेपाली विद्यार्थीसँग बिहे गरेर नेपाल जाने योजनामा थिइन् ।

‘नेपाली सिकाइदिनोस् न’ भनिरहन्थिन् मलाई । नेपाल जाने तयारीमा भएकीले र उनका प्रेमीले हामीलाई दाजु–भाउजुकै रूपमा आदर गर्ने भएकाले पनि उनी हामीसँग बढि नजिक हुन खोज्दैथिइन् ।

सानैमा आमा गुमाएकी उनले आफ्नो कथा सुनाउँदा उनीप्रति माया र सहानुभूति बढिरहेको थियो । पढ्नमा तेज र अरु कुरामा पनि बाठी थिइन् । उनका नेपाली प्रेमी भने उनको अगाडि सोझो र सरल स्वभावका थिए ।

सरोजले भविष्यमा आउन सक्ने सम्भावनाको ख्याल राख्दै आफ्नै भाइ ठानेर उनलाई सुझाव पनि दिएका थिए– ‘यो सम्बन्ध लामो हुन सक्दैन । पछि शत्रुका रूपमा छुट्टिनुभन्दा तिमीहरू बेलैमा असल साथीका रूपमा छुट्टिनु बेस हुन्छ !’ भनेर ।

तर, उनीहरू मानेनन् । पढाई सकिने बित्तिकै उनीहरू विवाह गरेर नेपाल फर्के । उनले एउटा छोरा पनि जन्माइन् । तर पछि सम्बन्ध राम्रो हुन सकेन र बच्चालाई लिएरै चीन फर्किन् । अहिले त उनका श्रीमान् पनि यो संसारमा छैन । उनको सम्झना भने बरोबर भइरहन्छ । उनी असल मनका ज्यादै मिहेनती डाक्टर थिए ।

शुरुमा सरोजलाई चीनमा फेरि विद्यावारिधि गर्न युनिभर्सिटीले बोलाउन लागेको खबर उनैले बिदामा आएका बेला मलाई फोन गरेर भनेका थिए । त्यो बेला सरोज राजबिराजको सरकारी अस्पतालमा भर्खरै मात्र गएका थिए । म मेरी छोरीलाई लिएर माइतीमा बसेकी थिएँ ।

राजबिराजको हावा खाइसकेको र एउटा असफल यात्रा गरी काठमाडौं फर्केको भएर फेरि बुढासँग त्यता जाने इच्छा पनि जागेन । हामी भिन्दाभिन्दै ढंगले जीवन गुजारी रहेका थियौं । चीनबाट फर्केको विद्यार्थीको कुरा सुनेपछि खुसी भएर सरोजलाई फोन गर्दा उनले सुरुमा पत्याएनन् पनि । त्यसैले पछि एकदम हतार हतारमा जानु पर्ने भयो ।

त्यो बेला नै अझ स्पष्ट हुन म ती विद्यार्थीका घर खोज्दै भेट्न गएकी थिएँ । त्यो बेलादेखि नै हाम्रो सम्बन्ध विशेष जस्तो भएको थियो । पछि चीनमा पुगेपछि सबै नेपाली विद्यार्थीकी भाउजू भएकी थिएँ म । उनी आफ्नै पैसाले पढेका विद्यार्थी, कहिले घरबाट पैसा आउन ढिलो हुँदा आपसी सरसहयोग पनि चल्थ्यो हाम्रो बीचमा । सरोजलाई आफ्नै दाइजस्तो मान्थे ।

अहिले धेरैपछि फर्केर हेर्दा उनीसँगको सम्बन्ध फराकिलो भएर धेरैलाई फाइदा र भलो हुने काम भइरहेको देख्छु । उनी डाक्टर भएर फर्केपछि सरोजसँगै काम गरे । पछि किर्तिपुरमा खेर गइरहेको जमिनलाई अस्पताल बनाउने विचार दिने र मिहेनत गरी जनसम्पर्क र स्थानीय निकायसँग सम्बन्ध बढाउने पुल उनी आफै र उनका बुवासमेत भए ।

अहिले किर्तिपुर अस्पताल जनरल अस्पताल भए पनि बर्न अस्पतालको रूपमा बढी चिनिन्छ । धेरै डाक्टरहरूले काम गर्छन् । स्थानीय बिरामीहरूलाई ५० प्रतिशत नै छुटमा उपचार हुन्छ । ती डाक्टरको असल मन नै त्यो अस्पतालको बीज थियोभन्दा हुन्छ ।

विगतको दिनमा उनले गरेका असल कर्महरू मनमा आइरहन्छन् । कम उमेर मै उनी क्यान्सरले बिते । तर अन्तिम समयसम्म पनि उनले सकेसम्म राम्रो काम गरिरहे । मृत्यु ढोकाको संघार नाघेर ओछ्यानसम्मै आइपुग्दा पनि उनले हाँस्न छोडेनन् ।

यो अस्थायी संसारमा मान्छेको जीवन पनि अस्थायी नै हुन्छ र सम्बन्धहरू पनि अस्थायी नै हुन्छन् । आफ्नो त वर्तमान मात्रै हो । असल मनले गरेको कर्मको फलले भने अरु धेरै असल कर्मको बाटो खोल्छ । आफूलाई सम्झिउन् भनेर मात्र काम गर्नुको कुनै अर्थ रहेनछ ।

संसारमा ज–जसको ठूलो नाम छ, उनीहरुका आलोचक पनि उत्तिकै छन् । असल लक्ष्यका निम्ति भनेर खराब उपाय अपनाउनेहरूको पछि समर्थकको अस्थायी भीड त जम्मा हुन्छ, तर एकपल्ट चम्केको नाम सधैँ चम्किरहने होइन रहेछ ।

एकथरीले मन पराएको नाम सबैका निम्ति उत्तिकै प्रिय पनि नहुँदोरहेछ । थोरैमात्र भए पनि असल कर्म गरेर चुपचाप जानेहरू आफ्ना वरिपरी मानिस बटुल्दैनन्, आफ्नो गाथा लेखाउँदैनन्, तर तीनका कर्मले अरु असल कर्मको निम्ति बाटो खोल्दै जान्छ ।

ती हाम्रा दिवंगत प्रिय भाइ– डा. नरसिंह महर्जन– किर्तिपुर अस्पतालमा कार्यरत मानिसहरूको बीचमा मात्र होइन, स्वयम् अस्पताल र अस्पतालको माउ संस्था जनस्वास्थ्य सरोकार ट्रष्टभित्रै पनि अहिले विस्मृतिमा हराएजस्ता भएका छन् । तर उनकै सुकर्मले नयाँ सुकर्मको निम्ति ढोका खोलेका थिए, अहिलेपनि खोल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्