काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले मुलुकको संविधान संशोधन गर्नुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, जनताबाट निर्वाचित समानुपातिक समावेसी संसद, सामथ्र्य र पहिचानमा आधारित राज्यको पुनर्संरचना गर्न संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको उनको भनाइ छ ।

‘नेपालको संविधान अपुरो र अधुरो छ । जसपा नेपाल संविधान पुनर्लेखन वा संशोधन/परिमार्जन गरी मुलुकमा बसोबास गर्ने सबै समुदायले स्वामित्व ग्रहण गर्न सक्ने संविधान बनाउन चाहन्छ’ बस्नेतले भने । मुलुकमा स्थिरता, सुशासन, प्रादेशिक स्वायत्तता र संविधानलाई जनपक्षीय बनाउन संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ ।