
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीका १९ अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।
लालबन्दी नगरपालिकास्थित लालबन्दीचोक र नवलपुरचोकमा रहेका २३ वटा स्वास्थ्य संस्था अनुगमन गर्दै उनले अनुमति पत्र बिना वा मापदण्ड विपरीत सञ्चालन भएका १९ अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका हुन् ।
नुगमनका क्रममा मुख्यमन्त्री सिंहले राज्यमा स्वास्थ्य सेवा सञ्चालन गर्दा मापदण्डको पूर्ण पालना अनिवार्य भएको बताए । उनले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाहीलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए ।
‘जनताको स्वास्थ्यप्रति हामी कुनै प्रकारको सम्झौता गर्न सक्दैनौँ । मापदण्ड उल्लंघन गर्दै सेवा सञ्चालन गर्नु गम्भीर अपराध हो । त्यसैले यस्ता अस्पताललाई तुरुन्त बन्द गर्ने निर्देशन दिएका छौँ,’ उनले भने ।
अनुगमनका क्रममा दुई वटा स्वास्थ्य संस्थासँग मात्रै सेवा सञ्चालन अनुमति पत्र पाइएको थियो । थप दुई वटाले नवीकरण गर्नुपर्ने अवस्था देखिएको र ती स्वास्थ्य संस्थाहरूलाई अविलम्ब आवश्यक कागजात मिलाउन मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् ।