काठमाडौं । बानेश्वरमा संसद बैठक राखेर सत्तारुढ दलहरू भने बालुवाटारमा भेला भएका छन् । निर्धारितन समयभन्दा केही ढिला सुरु भएको प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
बैठक सुरु हुँदा सत्तापक्षका शीर्ष नेताहरू संसद भवनभित्र थिएनन् । उनीहरू बालुवाटारमा सत्तापक्षको बैठकमा भेला भएका थिए । शीर्ष नेताहरूमात्रै नभएर संसद बैठक सञ्चालनका लागि सहजीकरण गर्ने जिम्मेवारीमा रहेका प्रमुख सचेतकहरू समेत बालुवाटारमै थिए ।

यता, संसद भवनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा सरकारको जवाफ माग्दै विपक्षीले अवरोध गरेपछि सभामुख आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
बालुवाटारमा सत्तापक्षको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरू उपस्थित छन् । संसद बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ खोजिरहँदा प्रधानमन्त्री बालुवाटारमा सत्तापक्षको बैठकमा थिए ।
बालुवाटारमा जारी सत्तापक्षको बैठकमा अन्य सत्तापक्षका शीर्ष नेताहरू पनि उपस्थित छन् । जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी, लोकतान्त्रिक समावादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष अशोक राईलगायतका नेताहरू सहभागी छन् ।
बानेश्वरमा संसद बैठक सहज रुपमा चलाउन प्रमुख सचेतकको भूमिका खोजिरहेका छन् । तर, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे यता वालुवाटारमा सत्तापक्षको बैठकमा छन् । आधा घण्टाका लागि स्थगित प्रतिनिधि सभाको बैठक सूचारु गर्नका लागि सभामुख घिमिरेले दलहरूसँग संवाद गरिरहेका छन् । तर, प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने अडान विपक्षी दलहरूको छ ।