Logo
Logo

को भाइमारा ? को ज्यानमारा ?


डा. दीपेश केसी

945
Shares


माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘भाइमारा’ देखि ‘मूर्तिचोर’ सम्म भनेका छन् । राजावादीहरूको समर्थन र सक्रियता बढ्न थालेपछि प्रचण्डले सिन्धुपाल्चोकमा दिएको अभिव्यक्तिले तरङ्ग नै ल्याएको छ । राजावादीहरूले पनि प्रचण्डलाई ‘ज्यानमारा’ भनिरहेका छन् ।

प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रका समर्थक एक अर्काविरुद्ध आगो ओकलिरहेका छन् । उच्छृंखल बोलीको प्रतिस्पर्धा चलिरहँदा राजकाजको कुर्सीमा बसेका र बसिसकेकाहरू पनि त्यही स्तरमा झर्न थालेको उदाहरण हो यो । यसै पनि आरोप र प्रत्यारोपको राजनीतिमा गालीगलौज र व्यवहारले उचाइ नाघिसकेको छ । भाषणमा अपशब्द बोल्ने र सामाजिक सञ्जालमा जथाभाबी लेख्नेहरू भाइरल बन्न थालेका छन् । चरित्रसम्बन्धी आरोप प्रत्यारोप त सामान्य बन्न थालिसकेको छ ।

जब विचारको राजनीति शून्य हुन्छ तब भाषणमा अराजनीतिक शब्द मिसिन थाल्छ । त्यति मात्र होइन, दुर्गा प्रसाईँ राजाको पक्षमा सीमै नाघेर बोल्न थालेका छन् । यस्ता पात्रको उदय हुनुमा प्रचण्ड र केपी शर्मा ओलीहरूकै मुख्य भूमिका छ । प्रसाईँको घरमा प्रचण्ड र ओलीले मार्सी चामलको भात खाएको तस्बिर सदास्मरणीय रहनेछ । अहिले उनै प्रसाईँ पूर्वराजा ज्ञानेन्द्रका प्रिय भएका छन् ।

नेपाललाई यो अवस्थामा पु¥याउने जिम्मेवारी शासनसत्तामा पुग्नेले मात्र नभई देशका विद्धान र सचेत वर्गले सबैभन्दा बढी लिनुपर्छ । जाग्नुपर्ने बेलामा नजाग्ने र बोल्नुपर्ने बेलामा नबोल्ने, विचारको राजनीतिलाई कमजोर हुन नदिने दायित्व निर्वाह गर्नुपर्नेमा नगर्ने प्रत्येक विद्धान र सचेतवर्गले छातिमा हात राखेर मनन गर्नैपर्छ । सधैँ दोष दिएर मात्र केही हुँदैन । देशमा के हुनुपर्दथ्यो र के भएन भन्ने समीक्षा सचेत र बौद्धिक वर्गले समयमै गर्नुपर्ने बेला आएको छ ।

नेपालको भूगोल र इतिहास मनन नगरी पखेटा फैलाएर उड्नुपर्छ भन्नेको सतही कदमले देशलाई कहाँ पु¥यायो अहिले । सभ्यता, धर्म, परम्परा, भाषा संस्कृतिलाई बेवास्ता गरेर आधुनिकताको नाममा अरूको देखासिकी गर्दा देश कहाँ पुग्यो अहिले । कुनै नयाँ पुस्ता देशभित्र भविष्य देख्न नसक्ने बनाइएको छ । यो भन्दा विडम्बना के हुनसक्छ ?

सोझासाझा नेपालीको बचत सहकारीका नाममा ठगेर राजनीतिक दलका ठगहरूले मस्ती मारिरहेका छन् । बचतकर्ता भोकभोकै पर्न थालिसके । रकम अभावमा उपचार नपाएर मृत्युवरण गरिरहेका छन् । तर, राज्य उनीहरूलाई न्याय दिलाउन गम्भीर छैन ।

वैचारिक रूपमा स्खलित भइसकेकाहरूले सर्वहारा, किसान, मजदुरका नाममा राजनीति गर्ने अनि तिनकै लुटिखानेलाई केही गर्न नसक्ने भएपछि राज्य माफियाको हातमा पुगिसकेको प्रस्ट हुन्छ । जनतामा महाअसन्तुष्टि व्याप्त छ । बरु पुरानै राजनीतिक प्रणाली ठिक भन्ने अवस्थामा जनता पुग्न थालिसकेका छन् ।

राजनीतिक अवस्था यति भयावह बन्दै गएको छ कि जनताले फेरि पूर्वराजा ज्ञानेन्द्र शाहलाई समर्थन गरेर गद्दीमा फर्काएमा आश्चर्य नमाने हुन्छ । राजनीतिमा असम्भव भन्ने हुँदैन पनि । असन्तुष्टिको ज्वालामुखी विस्फोटको अवस्थामा पुगिसकेको छ । जनताले विकल्प खोजिरहेका छन् । मूलधारका राजनीतिक दलका नेतृत्वपंक्तिप्रति वितृष्णा बढ्दो छ । जसका कारण ¥यापर बालेन साहले काठमाडौं महानगरपालिकाको मेयर जिते ।

अमेरिका छाडेर नेपालमा टेलिभिजन प्रस्तोता बन्न आएका रवि लामिछानेले रास्वपा खोलेर संसदमा चौंथो ठूलो दलको नेता बने । धरानमा अराजक क्रियाकलापले चर्चामा आएका हर्क साम्पाङ मेयर जिते । अझै असन्तुष्टिको आगो निभेको छैन । दलहरूप्रति वितृष्णा झन् झन् बढ्दो छ ।

बरु पूर्वराजा ज्ञानेन्द्र शाह नै ठिक थिए भन्ने मत बलियो बन्दै गएको छ । त्यसैले त नेताहरूबिच ज्ञानेन्द्र शाहलाई गाली गर्ने प्रतिस्पर्धा चलेको छ । देउवाले त राप्रपाको अध्यक्ष बन्न सुझाव दिइसके । ठूला दलका नेताहरू शाहलाई देशबाटै लखेट्छु भन्न थालिसके । जति जति बदनाम नेताहरू ज्ञानेन्द्रलाई गाली गरिरहेका छन् उति उति उनी लाभ लिइरहेका छन् ।

सत्ताको घुम्ने मेचमाथि उठबस गर्दै आएका नेताहरूले जनतालाई रैती मात्र नभई आफूहरूले जे भनेपनि पत्याउने र जे गरेपनि सहने ठाने । देशमा व्यापक भ्रष्टाचार भयो । विदेशमै घूसको लेनदेन खुल्यो । भ्रष्ट नेता, कर्मचारी र न्यायाधीशको पैसा विदेशमा भेटिनथाल्यो ।

नेताहरूको वरिपरि माफिया र बिचौलिया मात्र रहन थाले । द्रव्यको राजनीति हाबी भयो विचारको राजनीति शून्य जस्तै । छिमेक र मित्र सक्तीसँग गर्ने व्यवहार पनि हल्काफुल्का रह्यो । जनतामा छिमेकप्रति नकारात्मक भाव जगाउने र राष्ट्रभक्ति देखाउने रणनीति चलिरह्यो । तर, त्यस्ता झुक्क्याउने रणनीति लामो समय चलेन ।

छिमेकले पनि सत्तामा लामो समययता बस्दै अएका नेताहरूलाई नपत्याउने अवस्था विकास भयो । भारतले त प्रधानमन्त्री केपी ओलीलाई निम्तो सम्म गरेन । देउवा पनि भारत भ्रमण तय भइसक्दा अन्तिम समयमा रद्द गर्न पुगे । प्रचण्ड पनि भारत नगएको धेरै भयो । चीनले पनि मुख्य नेताहरूलाई नपत्याउने अवस्था बनिसक्यो ।

अमेरिकाले त चासो लिन छाडिसक्यो । बरु नेपालमा पठाएको पैसालाई ठगी भनिदिए डोनाल्ड ट्रम्पले । यो कटु यथार्थबिच पनि विश्वमा खुसी जनतामध्ये दक्षिण एसियामा नेपाल पहिलो स्थानमा परेकोमा सोझासाझा नेपाली दंगदास छन् । सत्ताधारीहरू यसलाई ठूलै जित सम्झेर बढाइचढाइ दोहोराएर सुनाइरहेका छन् ।

देशमा सामाजिक समस्या गहिरिएको छ । राजनीतिक अस्थिरता त आउने जाने सामान्य भइसकेको छ । कसैको बहुमत आउँदैन । आर्थिक रूपमा बजार संकटमा छ । अनि देशमा असन्तुष्टि नबढे के हुन्छ र ? यही असन्तुष्टिमा मौका छोप्ने प्रतिस्पर्धा चलिरहेको छ । जनताको समस्याभन्दा पनि को सत्तामा जाने या गद्दीमा फर्कने भन्ने टकराबमा देशलाई धकेल्न खोजिँदै छ ।

देशको मूल समस्या कुनै व्यक्ति विशेष होइन राजनीतिक प्रणाली, मूल्य मान्यतामा आएको ह्रास, विचारको शून्यता नै हो । देशमा राजा फर्कने वा नफर्कने विषय आकाश खस्ने विषय पनि होइन । सत्ता र शक्तिमा को आउँछ को आउँदैन भन्ने गौण विषय हो ।

जब देशको राजनीतिमा नैतिक मूल्य मान्यताले जरो गाड्छ तब जो सत्तामा आएपनि पद्धति र प्रणाली ठिक भए केही फरक पर्दैन । व्यक्ति त प्रतिनिधि पात्र मात्र हो । अहिले मूल्य मान्यताको राजनीतिक रहेन ।

विचारको राजनीति शून्य भएको छ । देशमा कस्ता व्यक्ति हाबी छन् र के के भइरहेको छ भन्ने तथ्यले राजनीतिको तस्बिर छर्लङ्ग पार्छ । अराजकता, उच्छृंखलता र सरम पचाएर बोल्नेहरूबिच सत्तामा पुग्ने तँछाडमछाडबाट देश गम्भीर संकटमा फस्दै गएको प्रस्ट हुन्छ । त्यसैले देशमा समस्या फटाहा ठग र अराजकहरू हाबी भएर भन्दा पनि सज्जन र विचारको राजनीति गर्नेहरू निष्क्रिय भएर हो । जोसुकै होस् ज्यानमारा र मूर्ति चोरको आरोप प्रत्यारोपमा उत्रने र आरोप लागेकाहरूबाट देश उँभो लाग्दैन ।

प्रतिक्रिया दिनुहोस्