Logo
Logo

‘हुलमुल’मा रविको अर्थपूर्ण ‘कमब्याक’


2.5k
Shares

काठमाडौं । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान नसकिँदै रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिकै भूमिकामा फर्केका छन् । 

साढे पाँच महिनापछि सोमबार पार्टी सभापतिकै औपचारिक जिम्मेवारीमा फर्किएका लामिछानेले पार्टीप्रति उठाइएका राजनीतिकसहितका प्रश्न र चुनौतीको सामना गर्ने, विकल्पको राजनीति कमजोर भएको छैन भन्ने सन्देश दिने र पार्टी संगठनमा हुन सक्ने क्षति रोक्ने रणनीति राखेका छन् । यसैअनुसार उनले केन्द्रीय समिति बैठकबाट निर्णय गराउन थालिसकेका छन् । 

लामिछाने कार्यकारी जिम्मेवारीमा फर्किएकै दिन रास्वपाले संगठन संरचनामा व्यापक फेरबदल गर्ने निर्णय गरेको छ । लामिछानेले सभापतित्व गरेको केन्द्रीय समिति बैठकले पार्टी संरचना अझै सबल र सशक्त बनाउन ‘म्यासिभ रिफर्म’ गर्नुपर्ने निष्कर्ष निकालेको छ ।  रास्वपाले राष्ट्र निर्माणसम्बन्धी खाका तयार गर्न उपसभापतिद्वय डोलप्रसाद अर्याल र स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल बनाएको छ । 

मिसन ब्लुप्रिन्ट कार्यदल नाम दिइएको उक्त कार्यदलमा पूर्वमन्त्रीहरू सुमना श्रेष्ठ, शिशिर खनाल, विराजभक्त श्रेष्ठ र डा. तोसिमा कार्की सदस्य छन् । त्यस्तै, लिडरसिप एकेडेमी र उम्मेदवार क्लबको कार्यान्वयनका लागि सहमहामन्त्रीद्वय सुमना श्रेष्ठ र विपिनकुमार आचार्यलाई जिम्मेवारी तोकिएको छ । रास्वपाले यही चैत २३ गतेदेखि चितवनबाट जनयात्रा समेत सुरु गर्दैछ । पार्टीको जनयात्रा कार्यक्रमको कार्यविधि लगायतको संयोजन जिम्मेवारी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई तोकिएको छ । 

केन्द्रीय समितिमा आफूमाथि राज्यले राखेको राजनीतिक प्रतिशोध र यातना दिएको पीडादायक अनुभूति सुनाउँदै लामिछाने अझै पनि सरकारले सबै शक्ति रास्वपामा केन्द्रित गरिरहेकाले सशक्त हुन जरुरी रहेको धारणा राखेका थिए । कांग्रेस एमालेले आफूलाई गोली हान्न मात्रै बाँकी राखेको आरोप लगाउँदै सभापति लामिछानेले अब आफू चुप नबस्ने समेत बताएका छन् ।

लामिछानेले रास्वपा देश बनाउनका लागि एक ठाउँमा आएर अभियानमा लाग्ने पार्टी भन्दै जिम्मेवारी पाएका नेतालाई समीक्षा गर्न आह्वान गर्नुको साथै पार्टी फुटाउने षड्यन्त्रहरू भइरहेकाले सबै एकढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको समेत बताए । त्यस्तै  दुईवटा मुख्य पार्टी नेपाली कांग्रेस र नेकपा मिलेर पनि सरकार काम गर्न नसकेको उनको दाबी छ ।  

पार्टी राजनीतिमा फर्किएका लामिछानेले संसदीय राजनीतिमा फर्कने प्रयास समेत  गरिरहेका छन् । मंगलबार लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटेर सांसद पद निलम्बन फुकुवाको आग्रह समेत गरिसकेका छन् ।

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध विभिन्न जिल्लामा मुद्दा चलिरहेको छ । मुद्दा विचाराधीन अवस्थामै रहेको बेला उनले विशेष समय आएको भन्दै सभापतिको जिम्मेवारीमा फर्किएको दाबी गरिरहेका छन् ।  तर, रविको फिर्तीको समयमा भने टिप्पणी सुरु भएको छ । अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेको व्यक्तिलाई नेतृत्वमा फर्काएर रास्वपाले कस्तो अभ्यास गर्न खोजेको हो भन्ने प्रश्न समेत उठेका छन् ।

देश गणतन्त्रवादी र राजावादी धारमा विभाजित भइराख्दा तेस्रो धारका रूपमा पार्टीलाई अघि बढाउने उपयुक्त समय देखेकाले लामिछानेको कमब्याक भएको धेरैको बुझाइ छ ।  देशमा राजतन्त्र नचाहनेहरूको ठूलो जमात छ तर उनीहरू फेरि गणतन्त्रवादीहरूसँग पनि सन्तुष्ट छैनन् । यसको अर्थ वैकल्पिक शक्तिका लागि ठूलो स्पेस छ भन्ने हो । यसैलाई भर्ने उद्देश्यका साथ उनी सक्रिय भएको राजनीति विश्लेषकहरू बताउँछन् । 

तेस्रो कित्तामा आफूलाई उभ्याउने पक्षमा रास्वपा देखिएको विश्लेषकको बुझाइ छ । रास्वपाले बरु अदालतमा पूरक निवेदन दिएर मुद्दा छिटो टुङ्गो लगाइदिन अपिल गर्नुको सट्टा पार्टी जिम्मेवारीमा फर्काएपछि लोकतन्त्र, विधिको शासन र राजनीतिक इमानदारितामाथि प्रश्न उब्जिएका छन् । तर, रास्वपाले यसलाई कसरी अघि लैजान्छ भन्ने विषय भने हेर्न बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्