Logo
Logo

प्रधानमन्त्री ओलीले थाइल्यान्ड भ्रमणमा के-के सम्झौतामा हस्ताक्षर गरे ?


1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्ड भ्रमणका क्रममा नेपाल र थाइल्यान्डबीच सरकारी तथा निजी क्षेत्रका आठवटा सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री ओली र थाइल्यान्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावात्बीच प्रतिनिधिमण्डलस्तरीय बैठकमा यी सम्झौताहरू सम्पन्न भएका हुन्।

सरकारी स्तरबाट दुई तथा निजी क्षेत्रबाट छ सम्झौतामा हस्ताक्षर गरिएको छ। नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणाले पर्यटन सहयोग आदान–प्रदान र सांस्कृतिक सम्बन्ध प्रवर्द्धनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिन्।

त्यस्तै, काठमाडौं विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच उच्च शिक्षामा सहकार्य गर्ने तथा नेपाल नेत्रज्योति संघ र माहिडोल विश्वविद्यालयअन्तर्गतको रामाथिबोडी अस्पतालबीच सहकार्यसम्बन्धी समझदारी भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्शबीच व्यापार विस्तारको समझदारी, नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासंघबीच लगानी प्रवर्द्धनको सम्झौता तथा नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाइल्यान्डबीच पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी भएको छ।

त्यसैगरी, जनता एग्रो एण्ड फरेष्ट्री र कसेस्टार्ट विश्वविद्यालयबीच जैविक प्रविधि मार्फत खाद्यान्न उत्पादन वृद्धि गर्ने सम्झौता भएको छ।

नेपाल र थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ वर्षमा औपचारिक भ्रमण गर्ने ओली पहिलो नेपाली प्रधानमन्त्री हुन्। उनले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने उल्लेख गर्दै थाइ लगानीकर्तालाई नेपालका पर्यटन, ऊर्जा र व्यापार क्षेत्रमा लगानी गर्न आग्रह गरे।

थाइल्यान्डकी प्रधानमन्त्री शिनावात्ले जलविद्युत् र व्यापार प्रवर्द्धनमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताइन्। बैंकक-काठमाडौँ हवाई सम्बन्ध पुनःस्थापनाले पर्यटन र व्यापार प्रवर्द्धनमा टेवा पुग्ने उनले उल्लेख गरिन्। साथै, दुई देशबीच संयुक्त पर्यटन प्रवर्द्धन अभियान सञ्चालन गर्ने समझदारी भएको जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्