Logo
Logo

पत्रकार सुरेशको पोस्टमार्टम रिपोर्ट- गोली भेटिएन, जलेर मृत्यु


1.6k
Shares

काठमाडौं । चैत १५ गते तीनकुनेमा जलेको अवस्था मृत भेटिएका २९ पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोटमा गोली उनलाई नलागेको खुलेको एक चिकित्सकले बताए ।

अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपाल चौधरीले भने, ‘शरीर जलेर, फोक्सोमा धुवाँको मुस्लो छिरेको पाइयो । शरीरमा कुनै गोली लागेको छैन । अगाडि मारेर पछि आगो लागेको देखिएन । आगोले जलेरै उनको मृत्यु भएको खुल्यो ।’

आगलागीमा परेर मृत्यु भएका रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए ।
हिजो साँझ उनको एक्स–रे गरिएको थियो । एक्स–रेको रिपोर्टपछि बुधबार पोस्टमार्टम गरिएको हो ।

रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको थियो । केही मिडिया तथामा सामाजिक सञ्जालमा पत्रकार रजकलाई गोली लागेको भन्दै खबरहरू सार्वजनिक भएका थिए । त्यसपछि चिकित्सकले एक्स–रे नगरी पोस्टमार्टम नगर्ने बताएका थिए ।

अहिले रजतको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ । परिवारले केही समयमै शव लैजाने बताएको ती चिकित्सकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्