काठमाडौं । काठमाडौंको टोखा, झोरमा ट्रकमा लुकाइएको २५ करोड बराबरको डलर र युरोको मालिक पत्ता लागेको छ। प्रहरीको जानकारी र विज्ञ अनुसन्धानबाट शङ्कास्पद व्यक्तिको पहिचान खुलेको हो।

उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई हाल टोखा नगरपालिका–१० मा बसोबास गर्ने नारायण पौडेलको भएको पुष्टि भएको छ। गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा रकम लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय चालक कुसान लामालाई पक्राउ गरेको थियो।
चालक लामाले ट्रकको चालक सिट पछाडि फल्स बटम बनाएर रकम लुकाएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेललाई पक्राउ गर्न अदालतबाट पुर्जी जारी भइसकेको छ।
चालक लामाको बैङ्क खाताको विवरण जाँच्दा अस्वाभाविक कारोबार फेला परेको छ। उनको मोबाइलको सीडीआर विश्लेषण गर्दा पौडेलसँग अन्तिम पटक सम्पर्क भएको देखिएको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, टेकुले पौडेललाई पक्राउ गरी जिम्मा लगाउन प्रहरीलाई पत्राचार गरेको छ।
यसैगरी, प्रहरीले पौडेलको मोबाइल नम्बरको सीडीआर विश्लेषणलाई तीव्र बनाएको छ। सीसीटीभी फुटेज, डिजिटल उपकरणको जाँच, उनको घर, कारोबार स्थल र गोदाममा खानतलासी गर्दा विभिन्न प्रमाणहरू बरामद भएको प्रहरीको भनाइ छ। उक्त ट्रक ग्यारेज, पार्किङ स्थल र विभिन्न गोदाममा पुगेको देखिएकाले ती स्थानमा पनि खानतलासी गरिएको छ।