काठमाडौं । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको परिवारलाई जनही १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। गृहमन्त्रीस्तरीय बैठकले गरेको यो निर्णय गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ।

उक्त प्रदर्शनमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। दुवैको शवको पोस्टमार्टम सम्पन्न भइसकेको छ। पोस्टमार्टम रिपोर्टअनुसार पत्रकार रजकको शरीरमा गोली नभेटिएको चिकित्सकहरूले बताएका छन्। तर, सविन महर्जनको शरीरमा भने एउटा गोली लागेको पाइएको छ।
सविनको दाहसंस्कार मङ्गलवार नै सम्पन्न भएको छ भने सुरेश रजकको दाहसंस्कार आज हुने जानकारी प्राप्त भएको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको र पीडित परिवारलाई राहत प्रदान गर्ने सरकारको निर्णयले थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।