काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्य दुवैको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा दुवैका रिटमाथि सुनुवाइ भएको थियो । तर, सुनुवाइ नसकिएपछि दुवै रिट हेर्दाहेर्दैमा राखिएको छ ।

घिसिङ र शाक्यको रिटमा आइतबार पनि पेशी तोकिएको थियो । तर, सुनुवाइ हुन सकेको थिएन । मंगलबार भने सुनुवाइ भएको थियो । तर सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।
गत चैत १५ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेसी तोकिएको थियो । उक्त इजलासले दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाउन भनेको थियो।
त्यस्तै पक्ष र विपक्ष दुबैलाई १५ दिनभित्र लिखित जबाफको माग गरिएको छ। घिसिङ र शाक्यको रिट गत बिहीबार दर्ता भएको थियो।
घिसिङले मन्त्रिपरिषदले उनलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गरेका छन् । यता शाक्यले भने यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गरेका छन् ।
गत चैत ११ गते सरकारले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।