
मैले विद्यार्थी जीवनमा ०४६ सालको संयुक्त जनआन्दोलन र त्यसपछि २०६२/६३ सालको जनआन्दोलनलाई नजिकबाट हेरेको छु । ती आन्दोलन राजनीतिक परिवर्तनका लागि भएका थिए । ०४६ र ०६२/६३ को आन्दोलनले राजनीतिका साथै आर्थिक, सामाजिक परिवर्तन पनि ल्यायो, त्यही जगमा आज हामी उभिइरहेका छौँ । तर, त्यतिबेलाको जनआन्दोलन एउटा उद्देश्यका लागि भएको थियो, ती आन्दोलनहरुमा धेरैले ज्यान गुमाए पनि तर, चैत १५ गतेको आन्दोलनजस्तो व्यक्तिको घर जलाउने, व्यावसायीहरुको सामान लुट्ने, आतंक मच्चाउने गरेको थाहा छैन ।
चैत १५ गते राजावादीको नाममा भएको आन्दोलनमा अराजक, गुण्डा, लफंगाहरुको भीड थियो । त्यसले आफ्नो उद्देश्य भन्दा बाहिर गएर व्यक्तिको सम्पत्तिमाथि आगो लगाउने, झ्यालका सिसा फुटाउनेदेखि भाटभटेनीमा लुटपाट मच्चाउने जुन काम ग¥यो, त्यसको जति निन्दा र भत्र्सना गरे पनि पुग्दैन । त्यस्ता अपराधीहरूलाई कडाभन्दा कडा सजाय हुनुपर्छ । यो अक्षम्य अपराध हो ।
राजनीतिक परिवर्तनपछिको प्राथमिकता आर्थिक विकास हो । आर्थिक विकासबिना समृद्धि सम्भव छैन । हामी हाम्रै पालामा समृद्ध बन्न चाहन्छौँ । हाम्रा सन्ततिहरूलाई हाम्रै पालामा समृद्धिको बाटोमा डो¥याउन चाहन्छौँ, त्यसका लागि सबैभन्दा पहिला लगानीको वातावरण बन्नुप¥यो । शान्ति, सुरक्षाको ग्यारेन्टी हुनुप¥यो । युवा बेरोजगारीको समस्या अन्त्य हुनुप¥यो । योग्यताअनुसारको काम, माम र दाम पाउनप¥यो । त्यसतर्फ केही गर्न सकिन्छ कि भनेर भाटभटेनीले युवालाई ‘पार्टटाइम जब’को व्यवस्था गरेको छ ।
यो व्यवस्थाले एकातिर देशभित्रै युवाहलाई पढ्ने वातावरण दिएको छ । बिहान कलेज पढ्नेले दिउँसो र दिउँसो कलेज पढ्नेले बिहान ‘पार्टटाइम जब’ गरिरहेका छन् । अहिलेसम्म हामीले २५ सय जना विद्यार्थीलाई यो अभियानमा जोडेका छौँ । यो क्रमलाई जारी राख्दै भविष्यमा देशभरिका भाटभटेनी स्टोरमा स्थानीय युवा विद्यार्थीलाई जोड्दै जाने उद्देश्य रहेको छ ।
अहिले पनि सयौंको संख्यामा युवा रोजगारीका लागि बिदेसिनु पर्ने बाध्यता छ । देश बनाउने भनेकै युवाहले हो । तिनीहरूलाई देशभित्रै रोजगारीमा जोड्नु पर्छ । त्यसका लागि देशभित्रै वातावरण बनाउनु पर्छ, त्यो वातावरण बनाउन भाटभटेनी प्रयासरत छ । भाटभटेनीले सुरु गरेको ‘पार्टटाइम जब’लाई अन्य निजी क्षेत्रले पनि अवलम्बन ग¥यो भने युवालाई देशभित्रै काम गर्ने वातावरण सृजना हुनसक्छ ।
त्यति मात्र होइन, भाटभटेनीले जति कमाएको छ, त्यो देशमै लगानी गरेको छ । निजी क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने पनि भाटभटेनी हो, अझै बढी कर तिर्ने हाम्रो उद्देश्य छ । मुनाफा कमाउने उद्देश्य मात्र हाम्रो होइन, देश र समाजलाई योगदान दिने पनि हाम्रो उद्देश्यभित्रै पर्छ । चाहे दुर्गम गाउँका जेहेन्दार विद्यार्थीलाई एमबिबीएसको छात्रवृत्ति दिने होस्, चाहे डा भगवान कोइरालाले सुरु गरेको बाल अस्पताल निर्माण होस्, त्यसमा हाम्रो पनि सहभागिता छ ।
कोरोनाकालमा जताततै खाद्यान्नको हाहाकार हुँदा भाटभटेनीले सर्वसुलभ रुपमा आम उपभोक्तालाई खाद्यान्न उपलब्ध गराएको स्मरण गर्दै भूकम्प गएको बेलामा पनि दिनरात उपभोक्ताको सेवामा भाटभटेनी समर्पण मात्र भएन, भूकम्पपीडितका लागि राहत वितरण गर्न पनि पछि परेन ।
भाटभटेनी मीनबहादुर गुरुङको निजी सम्पत्ति मात्र होइन, यो राष्ट्रको सम्पत्ति हो । यसमा तोडफोड, लुटपाट मच्चाउनु जघन्य अपराध हो । चैत १५ गते भाटभटेनीमा लुटपाट मच्चाउने जोसुकै किन नहोस् तिनीहरूमाथि कडा कारबाही हुनुपर्छ । अबदेखि शान्तिपूर्ण आन्दोलनका नाममा हुने प्रदर्शनमा व्यक्तिको घर जलाउने, व्यवसायीको पसल लुटपाट गर्नेजस्ता काम हुनु हुँदैन । राज्यलाई कर तिर्ने हरेक व्यवसायीको सुरक्षा राज्यले लिनु पर्दछ ।
हामीलाई हाम्रो व्यवसायको मात्र चिन्ता छैन, समग्र देशको चिन्ता छ । देशको विकास कसरी गर्ने, युवा बेरोजगारीको समस्या कसरी हल गर्ने, देशलाई आर्थिक समृद्धिमा कसरी पु¥याउने भन्ने चिन्ता पनि हामीमा छ । त्यसैले देश बनाउन इमानदारीपूर्वक आ–आफ्नो बाटोबाट हामी लाग्यो भने देश बन्छ । देश हाम्रै पालोमा हामी बनाउँछौँ भन्ने दृढ अठोट पनि हामीले लिनुपरेको छ ।
(चैत २० गते भाटभटेनीले आयोजना गरेको सम्मान कार्यक्रममा व्यक्त स्वागत भाषणको संक्षिप्त टिपोट)