
दृष्टि साप्ताहिकका पूर्वप्रधान सम्पादक कमल कोइरालाको निधनले हामी स्तब्ध र मर्माहत भएका छौँ । ८७ वर्ष टेकिसकेका कोइराला दीर्घरोगी थिएनन् । उहाँमा अझै बाँच्ने इच्छा थियो । हरेक दिन सामाजिक सञ्जालमा सकारात्मक सन्देश प्रवाह गरिरहने उहाँ यत्ति चाँडै हामीबाट बिदा हुनुहोला जस्तो लागेको थिएन ।
आइतबार मात्रै उहाँलाई भेट्न प्रकाश ज्वाला, दामोदर अर्याल, अस्मिता गिरी, लेखनाथ सिकारु, अम्बिका दाहाल र म केएमसी अस्पताल पुगेका थियौं । आइसीयुमा उपचार गराइरहनुभएकोले उहाँसँग भेट भएन । उहाँकी छोरी ऋचाले ‘कसैलाई भेट्न दिन्न, म पनि बाहिरै बसेको छु । माथि दाजु हुनुहुन्छ । बुबाले अलिअलि खुट्टा चलाउनुभएको छ ।’ भन्ने जानकारी दिएपछि हामी फर्कियौं ।
सादा जीवन उच्च विचारका कमल कोइराला सच्चा कम्युनिष्ट हुनुहुन्थ्यो । विद्रोही स्वभावका कमल कोइराला आफ्ना बुबा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा आन्दोलनमा लागेकोले पक्राउ पर्नुभएको थियो । उक्त कुरा न्युयोर्क टाइम्सदेखि धेरै भारतीय पत्रपत्रिकामा छापियो पनि ।
कोइराला परिवारका एकमात्र कम्युनिष्ट नेता कमल कोइराला हरेक आन्दोलनमा सरिक हुनुहुन्थ्यो । चोलेन्द्रशम्शेर राणाविरुद्धको आन्दोलनमा उहाँ दिनदिनै सर्वोच्च अदालत पुगेर आन्दोलनकारीहरूको हौसला बढाउनु हुन्थ्यो ।
०४९ सालतिर उहाँलाई मदन भण्डारीले सोझै दृष्टिको प्रधानसम्पादक नियुक्ति गर्नुभयो । त्यसपछि हाम्रो सम्बन्ध घनिष्ठ बन्दै गयो । त्यही साल उहाँ र ममाथि राजकाज मुद्दा चल्यो । उहाँ श्रीमती बिरामी भएकोले मुम्बई हुनुहुन्थ्यो र बच्नु भयो, म पक्राउ परेँ ।
उहाँलाई सघाउन कतिबेला स्वयं मदन भण्डारी स्वयं दृष्टि कार्यालय बागबजार आउनुहुन्थ्यो र उहाँकै कुर्चीमा बसेर लेख्नुहुन्थ्यो । त्यस घटनाले उहाँलाई पत्रकारिताप्रति झन् बढी जिम्मेवार बन्न प्रेरित गथ्र्यो । एक प्रकारको घटनाले अबको अंकमा कसको लेख छाप्ने भन्ने टन्टा नै साफ हुन्थ्यो ।
अध्ययनमा उहाँको खुबै रुचि थियो, जहिले पनि पत्रपत्रिका, किताब पढिरहने र फुर्सदको बेला दिमागमा आएका कुराहरूलाई उहाँले टिपोट गरेर झोलामा राख्ने गर्नुहुन्थ्यो । कसैले लेख माग्यो भने त्यो झोलाबाट टिपोट निकालेर सामान्य सम्पादन गरेर दिनुहुन्थ्यो । उहाँको झोलामा लेखको कमी थिएन ।
पत्रकारितामा उहाँ टिममा विश्वास गर्नुहुन्थ्यो । टिमले जे भन्यो त्यो कुरालाई उहाँले सहजै स्वीकार्नु हुन्थ्यो । टिममा उहाँले बढी विश्वास अग्निशिखा र किशोर श्रेष्ठलाई गर्नुहुन्थ्यो । किशोर श्रेष्ठ र उहाँबीच घनिष्ठ सम्बन्ध थियो । त्यो सम्बन्ध उहाँ घरमा ढलेर अस्पताल नपुगुञ्जेलसम्म कायम रह्यो । घरको भ¥याङमा ढल्नुअगाडि किशोर श्रेष्ठलाई जन्मदिनको शुभकामना दिन जनआस्थाको कार्यालयमै पुग्नुभयो ।
मदन रेग्मी उहाँका प्रिय मित्र हुनुहुन्थ्यो । मदन रेग्मीलाई भेट्न बेलाबखत उहाँ रेग्मीको घर चुनदेवी पुग्नुहुन्थ्यो । त्यहाँबाट फर्कने बेला रेग्मीले ट्याक्सी खर्च दिँदा उहाँ दंग पर्नुहुन्थ्यो । र घर फर्केर फेसबुकमा लेख्नुहुन्थ्यो । उहाँ खुला किताब हुनुहुन्थ्यो । उहाँको जीवनमा कुनै कुरा लुकेको छैन । मनमा लागेको कुरा निर्धक्क बोल्नुहुन्थ्यो ।
पछिल्लो समय उहाँको सम्बन्ध गोपाल बुढाथोकीसँग पनि घनिष्ठ बन्दै गयो र साँघुमा नियमित स्तम्भ लेख्न थाल्नुभयो । पत्रिकामा लेख्ने विषयवस्तुको अभाव उहाँमा थिएन । जुनसुकै समसामयिक विषयमा पनि लेख लेख्नुहुन्थ्यो किनभने, देश विदेशका सबै घटनाक्रमलाई उहाँले रुचिपूर्वक अध्ययन गर्नुहुन्थ्यो ।
एक प्रकारले उहाँ स्वतन्त्र पत्रकार हुनुहुन्थ्यो, उहाँमा कुनै बन्धन थिएन । रवि लामिछानेलाई राज्यले दुःख दिँदा उहाँलाई पीडा भएको थियो । रवि लामिछानेको सन्दर्भमा उहाँले धेरैपटक सामाजिक सञ्जालमा आक्रोश पोख्नुभएको थियो ।
रक्सी उहाँको प्रिय वस्तु थियो । बेलुकी सुत्ने बेला दुई पेग पिएर पुराना हिन्दी गाना सुन्नु मात्र हुँदैन थियो, के गाना सुन्दैछु भन्ने कुरा सामाजिक सञ्जालमा पोष्ट गरेर पाठकहरूलाई पनि मनोरञ्जन दिनुहुन्थ्यो ।
त्यस्ता योद्धा, विद्रोही स्वभावका कमल कोइरालाको लोकतन्त्रमा ठूलो योगदान छ । हामीबाट उहाँ यति छिटो बिदा हुनुहोला जस्तो पनि लागेको थिएन । यो पंक्ति लेख्दा पनि उहाँसँग बिताएका दिनहरूको सम्झना आइरहेको छ । हार्दिक श्रद्धाञ्जली कमल’दा ।