काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विशेष अधिवेशन या अन्य उपायबाट तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेको छ। माओवादी केन्द्रले आज एक विज्ञप्ति जारी गर्दै ऐन जारी गर्न माग गरेको हो ।

माओवादी केन्द्रले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नेलगायत विभिन्न माग राखेर लामो समयदेखि नेपाल शिक्षक महासङ्घको नेतृत्वमा चलिरहेको आन्दोलनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। संविधानतः आम नागरिकले शिक्षा प्राप्त गर्न पाउने अधिकार सुनिश्चित भए पनि आवश्यक कानुनी र नीतिगत संरचना निर्माण नहुँदासम्म सङ्घीयताको मर्मअनुरूप शैक्षिक क्षेत्रको पुनर्संरचना हुन नसक्ने माओवादीले जनाएको छ।
‘नेपाल शिक्षक महासङ्घसँग ५ बुँदे र ६ बुँदे सहमति भएको स्मरणीय छ, उक्त सहमतिअनुरूप तर्जुमा भएको विधेयकलाई महत्त्व दिएर यथाशीघ्र पारित गर्नुपर्नेमा कांग्रेस र एमालेको गठबन्धन सरकारले हजारौँ शिक्षक र लाखौँ विद्यार्थीको पेशा तथा भविष्यमाथि खेलवाड गर्नु निन्दनीय छ, सरकार गठन भएको दश महिनासम्म आन्दोलनरत शिक्षकहरूको जायज मागलाई बेवास्ता गरिनु, तर यही बिचमा देशलाई गम्भीर असर पर्ने प्रकृतिका ऐनहरू भने निसंकोच अध्यादेशमार्फत जारी गर्न सक्ने सरकारले अहिले शिक्षकहरूको आन्दोलन चर्किएपछि बजेट अधिवेशनमा विधेयक पारित गर्ने तर्क दिनु हास्यास्पद छ, ’माओवादीले विज्ञप्तिमा मार्फत भनेको छ ।












