Logo
Logo

तनहुँमा बाढीपहिरो : सामुदायिक भवनको ओतमा ७१ परिवार


- दृष्टि न्युज/संवाददाता

0
Shares

दमौली, ४ साउन ।  बाढीपहिराबाट तनहुँको म्याग्दे गाउँपालिकाका ७१ परिवार विस्थापित भएका छन् । बाढीपहिराले घर भत्किएपछि सातवटै वडाका ती परिवार विस्थापित भएका हुन् । म्याग्दे गाउँपालिका–१ का ७, वडा नं २ का २७, वडा नं ३ का ८, वडा नं ४ का २, वडा नं ५ का ५, वडा नं ६ र वडा नं ७ का १४ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिए । विस्थापित भएकाहरु छिमेकीको घरमा र सामुदायिक भवनमा आश्रय लिएर बसिरहेका छन् ।
विस्थापित भएकाहरुलाई गाउँपालिकाले राहत वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष रानाका अनुसार ती परिवारलाई नगद रु पाँच हजार र दैनिक उपभोग्य वस्तुहरु प्रदान गरिएको छ । ‘गाउँपालिका आफ्ना वासिन्दाप्रति उत्तरदायी छ, जनताको दुःखमा सहयोग गर्नु गाउँपालिकाको दायित्व हो’ उनले भने, ‘पहिलो चरणमा प्राप्त तथ्यांकका आधारमा राहत सहयोग गरेका छौँ ।’
विस्थापित भएका घरधुरीको तथ्यांक् संकलन गर्ने क्रममा पहिलो चरणमा ७१ परिवारलाई राहत वितरण गरिएको र बाँकीलाई क्रमशः वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । उनका अनुसार अन्य जोखिममा रहेका बासिन्दालाई पनि वडाबाट प्राप्त हुने विवरणका आधारमा राहत वितरण गरिनेछ ।
गत असार २८ गते आएको बाढीपहिराका कारण भएको क्षतिको विवरण संकलन गर्न शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधि घरघरमै पुग्न थालेका छन् । नगरपालिकाका १२ वटै वडामा बाढीपहिराले क्षति भएकाले त्यसको यकिन तथ्यांक संकलन गर्नका लागि जनप्रतिनिधिले अनुगमन सुरु गरेका हुन् ।
बाढीपहिराका कारण शुक्लागण्डकीका घर, सामुदायिक भवन, सडक, पुल, कुलो, मठमन्दिर, खानेपानी पाइप, बिजुलीको पोललगायत भौतिक संरचनामा क्षति पु¥याएको छ । क्षतिको निरीक्षण गर्नका लागि नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले शुक्रबारदेखि अनुगमन सुरु गरेको नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।
नगरप्रमुख किसान गुरुङ नेतृत्वको टोलीले वडा नं २, उपप्रमुख सविता रसाइलीको टोलीले ८ र ९, प्रवक्ता कुमालको टोलीले ५ र प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीको टोलीले ३, ६ र ७ का विभिन्न स्थानमा पुगेर निरीक्षण गरेको छ । तथ्यांक संकलनपश्चात् घर भत्किएकालाई पहिलो प्राथमिकता दिएर व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्