काठमाडौं, ५ साउन । नेपाल तरुण दल केन्द्रीय समितिले ३८औँ विपी स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ । त्यसका लागि ७७ वटै जिल्ला समितिहरुलाई परिपत्र गरिसकेको तरुण दलले जनाएको छ ।
साउन ६ गते विपी स्मृति दिवस मनाउने तयारी गरेको नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले जानकारी दिएका ह्न । उनका अनुसार केन्द्रीय समितिले ६ साउनमा बाल आश्रममा फलफूल वितरणका साथै कोभिड–१९ लाई ध्यानमा राखी मास्क, स्यानीटाईजरलगायतका स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष बस्नेतले कोभिड–१९ को संक्रमणबाट बच्न भिडभाड नगरी सबै किसिमका सुरक्षा अपनाई कार्यक्रम आयोजना गर्ने बताए ।
यस्तै, कार्यक्रम छोटो र प्रभावकारी बनाउने र आफूहरुको प्रयासले बाल आश्रमका बालबालिकाहरुलाई केही मदत पुग्ने उपाध्यक्ष उत्तम चापागाईंले बताए ।
तरुण दल केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले देशभर साप्ताहिक कार्यक्रम गर्न निर्देशन दिइएको बताए । कोभिड–१९ को रोकथाम र यसबाट जोगिन जनचेतनाका लागि नेपाल तरुण दल सधै अग्रसर रहेको बताए । नेपाल तरुण दलले प्रत्येक साउन ६ गते विपी स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।