Logo
Logo

नेकपामा ‘बा’ संस्कृति


- शम्भु श्रेष्ठ

0
Shares

नेपाल कम्युनिष्ट पार्टी भन्नासाथ माक्र्सवादी, लेनिनवादी विचारधाराबाट चल्ने पार्टी हो भनेर बुझिन्छ । त्यसैले नेकपाका हरेक बैठक, सभाहरुमा माक्र्स, एंगेल्स र लेनिनको फोटो अनिवार्यरुपमा झुन्ड्याइएको हुन्छ । नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि माक्र्स, एंगेल्स र लेनिनको ठाउँमा नेकपाका दुई अध्यक्षको फोटो झुन्ड्याउने संस्कृतिको विकास हुन थालेको छ । मुलतः यो वैचारिक स्खलन र व्यक्तिवादी चिन्तनको उपज हो । विचारमा माक्र्सवाद, लेनिनवाद भनिएपछि व्यवहारमा पनि त्यसको झल्को आउनुपर्छ । नेकपा सचिवालयको बैठकमा दुई अध्यक्षको लागि सिंहासन र अन्य नेताका लागि सामान्य कुर्ची राखिनु पनि नवसामन्तवादी चिन्तन हो । नेकपाभित्र हुर्कंदै गएको गैरमाक्र्सवादी चिन्तनलाई समयमै सच्याउन सकिएन भने त्यो नाम मात्रको कम्युनिष्ट पार्टी हुन्छ । त्यसैले नेकपाभित्र हुर्कंदै गएको यस्तो गैरमाक्र्सवादी चिन्तन र संस्कारका विरुद्ध सिंगो कार्यकर्तापंक्ति जुट्नुपर्ने बेला नेकपामा ‘बा’ संस्कृति हुर्काइँदै छ ।

शम्भु श्रेष्ठ

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकथरिले कमरेड भनेर सम्बोधन गर्छन् भने अर्काथरिले ‘बा’ भनेर सम्बोधन गर्छन् । जसले ‘बा’ भनेर सम्बोधन गर्छन्, उनी ओलीनिकट हुन् भनेर चिन्नुपर्ने हुन्छ । जसले कमरेड भनेर सम्बोधन गर्छन् ती ओलीविरोधी हुन् भनेर चिन्नुपर्ने हुन्छ । किनभने, ओलीलाई पछिल्लो पटक ‘कमरेड’ भन्दा ‘बा’ शब्द प्रिय लाग्न थालेको छ । जीवनभर कम्युनिष्ट आन्दोलनमा लागेर पार्टी अध्यक्षजस्तो पदमा पुगेको नेताले पार्टीभित्र कस्तो संस्कार बसाल्ने भन्ने कुरा बिर्सिए भने, उनीहरु स्वयं गलत संस्कारको शिकार भएर पतन हुन्छन् । पछिल्लोपटक देशैभरि ‘लकडाउन’ उल्लंघन गर्दै ‘बा’ को पक्षमा युवाहरुले देशव्यापी प्रदर्शन समेत गरेका छन् । पार्टीको स्थायी कमिटी बैठक चलिरहेको बेला देशव्यापी प्रदर्शन गरेर ‘बा’ लाई खुशी पार्न जो–जो लागेका छन्, वास्तवमा तिनीहरु कम्युनिष्ट होइनन् । कम्युनिष्ट भएको भए यसरी सडकमा नारा लगाएर व्यक्ति प्रशंसा गर्ने थिएनन् । व्यक्ति प्रशंसाबाट कार्यकर्तालाई मुक्त गर्न सकिएन भने वैचारिक रुपमा पार्टी तहसनहस हुन्छ । पार्टी नेतृत्वले कार्यकर्तालाई पार्टी अनुशासन बुझाउन नसक्दा आठ लाख सदस्य भएको नेकपा अराजकतातर्फ उन्मुख हुने खतरा बढ्दै जान्छ । कम्युनिष्ट पार्टी भन्नासाथ संगठित सदस्यहरुको अनुशासित पार्टी हो । त्यसलाई भीडमा रुपान्तरण गरियो भने त्यो पार्टीले देश र जनताको भलो गर्दैन । त्यसैले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई समयमै फलामे अनुशासनमा बाँध्न सकिएन भने पार्टी जति ठूलो भए पनि त्यो आकाशमा उड्ने बेलुनसरह हुँदै जान्छ ।

भनिन्छ, आफूलाई आफैँले सुधार्न सकेन भने कसैले सुधार्न सक्दैन । त्यसैले आफूभित्र रहेको कमजोरी नेतृत्वले समयमै सुधार्न सकेन भने त्यसले आफूलाई हानी त गर्छ नै, त्यो भन्दा बढी हानी पार्टी, देश र सिंगो समाजलाई गर्छ । आज हामीले पुष्पलालको जयन्ती मनाइरहँदा पुष्पलालले केका लागि कम्युनिष्ट पार्टी स्थापना गरे भन्ने कुरालाई पनि विचार पु¥याउनुपर्छ । पुष्पलालले देखाएको बाटोमा आज देशको राजनीति हिँडिरहे पनि त्यो बाटोमा नेताहरु अल्मलिदा अनेकौं विवाद खडा भएको छ । व्यक्तिवादी चिन्तनले पुष्पलालको सपना साकार हुन सक्दैन । पुष्पलालको सपना साकार पार्न ‘बा’ संस्कृति होइन, कमरेड संस्कृतिको विकास हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्