Logo
Logo

रेडियोमा अख्तियार


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, ६ साउन । रेडियो नेपाल सरकारी सञ्चार माध्यम हो । रेडियो नेपाल राजनीतिक नियुक्तिका कारण अस्तव्यस्त बन्दै आएको छ । बहुदलीय व्यवस्थाको पुनःस्थापनादेखि नै राजनीतिक भर्तिकेन्द्र बनेको यो संस्था अझै तंग्रन सकेको छैन । अहिले पनि सरकारी बजेटबाटै रेडियो नेपाल सञ्चालन भइरहेको छ । रेडियो नेपालका कार्यकारी निर्देशकबाट सुरेशकुमार कार्कीले २०७७।२।२७ गते राजीनामा दिएपछि सूचना तथा सञ्चार मन्त्रालयले नयाँ कार्यकारी अध्यक्ष नियुक्तिको प्रक्रिया थालेको छ ।

बाहिर देखाउन खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति गरिने भनिए पनि त्यसमा राजनीतिक हस्तक्षेप हुने पक्का छ । कार्यकारी निर्देशकका लागि २१ जनाले आवेदन हालेका छन् । जसमध्ये रेडियो नेपालभित्रबाटै नायब कार्यकारी निर्देशकद्वय अशोक बाँस्कोटा र बुद्धिबहादुर केसी छन् । त्यसैगरी सञ्चालक दीपक पाठक, नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक लक्ष्मण हुमागाईं र पूर्वनायब कार्यकारी घनेन्द्र बिमल छन् । खुला प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुमध्ये दीपक पाठकमाथि प्रेस काउन्सिलले आचारसंहिता उल्लंघन गरेको आरोप लगाएको छ । अन्य, उम्मेदवारहरुको अन्तर्वार्ता चलिरहेको छ ।

रेडियो नेपालको कर्मचारी सूत्रका अनुसार एकथरि कर्मचारी नायब कार्यकारी निर्देशक बुद्धिबहादुर केसीलाई कार्यकारी निर्देशक बनाउनुपर्ने अडानमा छन् । तर, केसी विभिन्न काण्डमा मुछिएका कर्मचारी हुन् । उनी लेखाको जिम्मेवारीमा हुँदा सुरेशकुमार कार्कीलाई सवारी साधनको नाममा अनियमित तरिकाले भुक्तानी दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो । त्यसैगरी ट्रान्समिशनलगायतका उपकरण खरिद गर्दा आपूर्तिकर्ता गेट्स एयर इन्क अमेरिकालाई भन्सार महसुलवापतको रु. २० लाख ३० हजार ८०० बढी भुक्तानी दिएको विषयमा समेत उनीमाथि अख्तियारले छानविन गरेको छ । रेडियो नेपालको स्टुडियो रंगरोगन गर्दा स्नेहा इञ्जीनियर्स कम्पनीको नाममा भुक्तानी दिनुपर्नेमा प्रशासकीय अधिकृत सुनिलकुमार गुप्ताको नाममा भुक्तानी दिएको विषयमा महालेखाले अनियमितता भनेको छ ।

नायब कार्यकारी निर्देशक केसी र पूर्व कार्यकारी निर्देशक कार्की मिलेर खुमलटारको जग्गा भाडामा दिइएको विषयमा समेत मन्त्रालयले छानबिन अगाडि बढाएको छ । स्मरणरहोस्, पूर्व कार्यकारी निर्देशक कार्कीलाई ७ लाख ७७ हजार ४९ रुपैयाँ सवारी साधनवापत भुक्तानी दिन केसीले २०७३।१।३१ गते टिप्पणी उठाएका थिए । अहिले रेडियोका एकथरि कर्मचारी यिनै केसीलाई बोकेर बालुवाटार कुदिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्