विश्व महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाको इन्डो प्यासीफिक रणनीति अन्तर्गत घनीभूत रुपमा नेपालमा चासो बढिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली विश्वका महत्वपूर्ण नेताहरुका साथै बहुराष्ट्रिय कम्पनीका सीईओ र माथिल्लो दर्जाको सेलिब्रेटीहरु उपस्थित रहेको ‘विश्व आर्थिक मञ्च’ डावोस २०१९ मा भाग लिई स्वदेश फर्किएका छन् । ‘डावोस’ स्वीट्जरल्याण्डको पूर्वी इलाकामा पर्ने एक शहरको नाम हो । विश्वव्यापी अर्थतन्त्र तथा अन्य समसामयिक मुद्दाहरुमा छलफल हुने यस मञ्चको प्रारम्भ सन् १९७१ मा जेनेभा विश्वविद्यालयका जर्मन प्राध्यापक क्लाउस स्च्वाबले गरेका छन् ।
२१ औँ शताब्दीमा विश्व शक्ति एशियामा केन्द्रित हुँदै गर्दा विश्वका दुई उदाउँदा ठूला (भारत र चीन) अर्थतन्त्रको बीचमा रहेको नेपालमा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा पश्चिमा पूँजीवादी शक्तिले प्रधानमन्त्री ओलीलाई डावोसमा निम्त्याएको कुरा सजिलै बुझ्न सकिन्छ ।
डावोस विश्व आर्थिक मञ्चको तीनवटा सत्रमा प्रधानमन्त्री ओलीले भाग लिए । पहिलो ‘आउटलुक अन साउथ एशिया’ २२ जनवरी, दोस्रो ‘सेपिङ्ग द फयुचर अफ डेमोक्रेसी, २३ जनवरी र तेस्रो ‘द इण्ड अफ ग्लोबल ट्रेड एज बी नो इट’ ।
यी सत्रमा ओलीले मुलुक लामो राजनीतिक संक्रमणकालपछि स्थिरताको बाटोमा हिँडेको बताए । यस्तै उनले अन्तर्राष्ट्रिय समुदायलाई दक्षिण एशियाको भू–राजनीतिक परिस्थितिबारे नेपालको धारणा राखे । प्रधानमन्त्री ओलीले नेपाल आर्थिक समृद्धि र विकासको यात्रामा बढेकोले विश्व समुदायलाई नेपालमा लगानी गर्न आमन्त्रण गरे । उनले विश्व तथा दक्षिण एशियामा क्षेत्रीय सहकार्यको बारेमा आफ्नो धारणा राखे । सार्क बिमस्टेक जस्ता क्षेत्रीय संगठनमा नेपालको भूमिकाबारे नेपालको पक्ष प्रस्तुत गरे । व्यापार, लगानी र कनेक्टीभिटीका सवालमा क्षेत्रीय सहकार्य सघन बनाउन उनको विशेष जोड रह्यो । यस क्षेत्रमा हवाई कनेक्टीभिटीबारे पनि कुरा उठ्यो । प्रधानमन्त्री ओलीले नेपाली प्रेसबारे बोल्दै भने– ‘आफ्नो पे्रेसलाई नियन्त्रण गर्ने कुनै नियत छैन ।’
इण्डोनेशियन प्राध्यापक मोरीक एल्का पेङ्गेस्टुले सहजीकरण गरेको ‘स्ट्राटेजिक आउटलुक अफ साउथ एशिया’ सत्रमा प्रधानमन्त्री ओलीले संविधान निर्माणसँगै नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा समेत उल्लेख गरे ।
यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने, जबसम्म हामीले विदेशी लगानीमैत्री कानूनको निर्माण र त्यसको दृढतापूर्वक कार्यान्वयन गर्दैनौं, तबसम्म विदेशी लगानी अन्तर्राष्ट्रिय मञ्चमा भाषण गरेर मात्र आउँदैन । आजको भूमण्डलीकरणको युगमा हामी आफूले मात्र नेपाललाई समृद्ध बनाउन सक्दैनौं । त्यसका लागि विदेशी पूँजी, सीप र प्रविधि अनिवार्य आवश्यकता हो । यसका लागि अनुकूल वातावरण बनाउनु हाम्रो कर्तव्य हो ।
समग्रमा नेपालको भौगोलिक अवस्थितिका (चीन र भारतको बीच) कारण विश्व शक्तिहरुको चासो नेपालमा सघन रुपमा बढेको छ । यो नेपालको आर्थिक समृद्धिको लागि चुनौती र अवसर दुवै हो । चुनौती यसमानेमा कि हामी आफ्नो सन्तुलित विदेश नीतिलाई कसरी सञ्चालन गर्छौ ? अवसर यस मानेमा कि राष्ट्रहित र समृद्धिलाई केन्द्रविन्दुमा राखी सन्तुलित विदेशी नीति अपनाई विश्वको चासो नेपालमा रहेको बेला मुलुकको समृद्धिको ढोका खुल्न कत्ति पनि बेर लाग्दैन ।
[email protected]