‘तिमीले गरेका विरोधाभासका कुरा
अब मैले बुझिसकेको छु
झुट्टो सपना देखाएर
नयाँ नेपाल रच्ने
तिम्रो राष्ट्रपतिको रणनीति
…राष्ट्रपति सहादत हुने
हजारौँ दर्शनलाल यादवहरु
प्रद्युम्न खड्काहरु
हजारौँ सेतु विकहरु
बिउँतिरहेछन् मृत्युको चिहानबाट
तिम्रो सक्कली रुप नियालिरहेछन्
र पर्दाफास गरिरहेछन् …’(राम बर्ताैला ‘आँसु’, सत्ता मोह, राष्ट्र उद्गार, सनिता फुल्लेल, २०७५)
वन शहीद, धार्मिक शहीद, निजामती शहीद, वित्तीय शहीद, सञ्चार शहीद, विद्यार्थी शहीद, पत्रकार शहीद, साहित्यकार शहिद । सरकारले मान्छे मा¥यो कि शहीद माग्ने प्रवृत्ति । गुण्डागिरीमा लाग्ने मारिए शहीद, सडक दुर्घटनामा मरे पनि शहीद । झैझगडामा मरे मारिए पनि शहीद माग । दिनेश चरी र कुमार घैँटे पनि शहीद मागिए क्यार । चुनावमा मारिने शहीद नहुने कुरै भएन । निर्मला पन्त प्रकरणमा प्रहरीको गोली लागी मारिने किशोर सनी खुना पनि शहीद भए । निर्माण व्यवसायी शरद गौचन शहीद भए । न मापदण्ड न नियम हचुवामा । नवराज सुवेदी र मोदनाथ प्रश्रित कार्यदलका शहीद प्रतिवेदन कहाँ थन्काइयो, कसले हेर्ने ?
अलिकति जोरजुलुम ग¥यो कि सरकार लाचार भई रु १० लाख दिन हडबडाइहाल्छ । दश लाख पाएपछि शहीद स्वतः । छयालीस सालका १९ शहीद परिवारले त जम्मा रु एक लाख पाए । उहिले ९७ सालमा चार शहीद थिए शुक्रराज, धर्मभक्त, गङ्गालाल र दशरथ, अब हजारौँ पुगे । कोही राज्यले मारेका कोही विद्रोहीले मारेका । जिते क्रान्तिकारी, हारे आतङ्ककारी । भारतीय हस्तक्षेपविरुद्ध लड्ने भीमदत्त पन्त र राजा महेन्द्रलाई बम हान्ने दुर्गानन्द झाचाहिँ भर्खरै शहीद रे । जङ्गबहादुरविरुद्ध बुङ्कोटमा विद्रोह गर्ने लखन थापालाई कसले शहीद घोषणा गर्ने ? ‘मकैको खेती’ लेखेर जेलमा सडेर मर्ने कृष्णलाल अधिकारीलाई कसले सम्झने ? प्रचण्ड गोर्खाका संस्थापकमध्येका मैनाबहादुर खत्रीलाई कसले सम्झने ? दशवर्षे सशस्त्र द्वन्द्वमा पर्ने सत्र हजार र मधेश आन्दोलनका सबै शहीद भइहाले । टीकापुर काण्डमा मारिने प्रहरी र बालक कहिले हुने ? विसं २०१२ देखि मनाउन थालियो शहीद दिवस तर शहीदको यकिन तथ्याङ्क गृह मन्त्रालयले समेत दिन सक्दैन भने अन्त कहाँ खोज्न जाने ?
तामझामसँग लैनचौर गयो, फूलमाला लगायो अनि भन्यो, “शहीदको सपना पूरा गर्छाैँ ।”” शहीद विचरा फूलमालाले छोपिएर नचिनिने । उता तिनका सन्तान के खाँदै छन्, के गर्दैछन्, कसलाई पत्तो ? केही वर्षअघि गङ्गालालकी श्रीमती हसिनालाई हिँडाएर ल्याई कार्यक्रम सकिएपछि शहीद गेटमै अलपत्र कसले छाड्यो ? शहीदगेटमा चार शहीदलाई थुनेर वर्षाैँसम्म राख्ने, अनि अब जगडोलतिर लाने ? महेन्द्र र त्रिभुवनको इतिहासलाई किन मेट्ने ? भावी पुस्ताले थाहा पाऊन् न शहीदसँगै राजा त्रिभुवन पनि एकै ठाउँमा राखिएका थिए भनेर । वर्षाैँसम्म राष्ट्रपिता भनी रटाइयो रटाइयो, अब राजा भन्दै फाल्ःने गर्दा दरबार छाडी त्रिभुवन भारत गएपछि यहाँ राणाशासनविरुद्ध जनउभार झन् बढेको होइन र भनी शहीदगेटका डिजाइनकर्ता शङ्करनाथ रिमाल नै प्रश्न गर्नेवाला छन् । राजा भनेर फालिएका पृथ्वीनारायण शाहलाई नाकाचालले शिर झुकाउनु प¥यो कि परेन ? झगडा त यतिसम्म भो कि मोटो श र दीर्घ ही लेखिँदैआएकामा पातलो स र ह्रस्व हि बनाएर सहिद बनाइयो । यसरी पनि हेमाङ्गराज–‘सबैको नेपाली’निर्माताबाट शहीदहरु ‘शहीद’ गराइए भन्ने ललितपुर घोषणापत्रवादीहरुको आरोपलाई के भन्ने ?
अस्ति एउटा दैनिक पत्रिकाले एक गरीब मान्छेले शहीदका शालिकमुनि बसेर “अहिले भएको भए आत्महत्या गथ्र्याै होला हैन” भनी शहीदलाई सोधेको कार्टुन प्रकाशन गरेथ्यो । भूपिले त्यसै भनेका होइनन् नि–
‘मैले पिएकामा रिसाएका साथीहरु
पिएर त हेर, पिउन झन् गाह्रो छ
मरेर शहीद हुनेहरु
जिएर त हेर, जिउन झन् गाह्रो छ !!’
वीरविराङ्गना, विभूति, शहीद, योद्धा कसलाई भन्ने कसलाई नभन्ने ? सुखानी होऊन् कि टिम्बुरबोटे, दोरम्बा होऊन् कि गौर–सबै शहीदलाई एकै दिन किन माला नलगाउने ? शहीदका छोराछोरी भनी गर्व गरेर हिँड्न किन नपाउने ? देशका लागि मरिमेट्ने शहीदलाई एकै शब्द किन नलेख्ने ? तेरो शहीद मेरो शहीद गरी कति हिँड्ने ?
‘…म नेकटाईमा झुण्डिएको मान्छे,
म औषधिको गोली खाने मान्छे,
मैले फाँसीमा झुण्डिएका,
फलामको गोली खाएका
ती शहीदहरुको फलाक्नु इतिहास ?
मलाई लाग्छ–व्यर्थको हो बकवास
त्यसैले भरसक म ‘शहीद ढोका’को बाटो
हिँड्नबाट तर्किन्छु,
र, शहीद दिवसको निम्ता पाएको दिन
म आफ्नो मुर्दा अस्तित्वमाथि झर्किन्छु ।(भूपी शेरचन, म हेर्न सक्दिन शहीदहरुका शालिकको हेराइलाई, भूपी शेरचनका कविता, सम्पाःशिव रेग्मी, साझा प्रकाशन, २०६१)
[email protected]