जीवनभर पार्टी र सरकारको पद ओगट्ने प्रथाले नेपालको अर्थ राजनीतिलाई जनपक्षीय नबनाउन ठूलो भूमिका खेलेको छ । राजनीतिक पार्टीहरुको शुरुआत विकसित देशहरुमा भएको हो । बेलायत, फ्रान्स, जर्मनी, अमेरिकाजस्ता विकसित देशमा राजनीतिक दलहरुका नेताहरु जीवनभर पद ओगटेर बस्ने चलन हटिसकेको छ । तर कम्युनिष्ट पार्टीहरुमा र अविकसित देशहरुका अन्य राजनीतिक दलहरुमा नेताहरु जीवनभर पदमा रहिरहने चलन कायमै छ ।
अमेरिकामा एक व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति हुन पाउँदैनन् । चीनमा पनि देङ स्याओ पिङपछि दुई पटक मात्रै कुनै एक व्यक्ति राष्ट्रपति र पार्टीको शक्तिशाली महासचिव हुन पाउने व्यवस्था गरिएको थियो । तर हालका महासचिव तथा राष्ट्रपति सी जिन पिङले दुई पटक मात्र महासचिव तथा राष्ट्रपति हुन पाउने व्यवस्था हटाएका छन् ।
एमाले–माओवादी एकता भएको आठ महिना पूरा भइसक्यो । तर तलदेखि माथिसम्मका नेता कार्यकर्ताको सही अर्थमा एकता भएको छैन । जिम्मेवारीविहीन नेता कार्यकर्ताहरुको संख्या ९५ प्रतिशत छ । यस्तो गतिहीनताले नेकपालाई असफलतातर्फ लैजानेछ । नेता कार्यकर्ताको व्यवस्थापनमा समस्या आउनुको मुख्य कारण नेकपा जमेको पोखरी बन्नु हो ।
नेपालको संविधान कानूनमा जति पटक पनि प्रधानमन्त्री-मन्त्री आदि हुन पाइन्छ । एमालेको विधानमा केन्द्रदेखि जिल्ला तहका पदाधिकारी दुई कार्यकालभन्दा बढी रहन नपाउने र कार्यकारी कमिटीमा निर्वाचित हुन ७० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था थियो । तर अहिले नेकपाको विधानमा यी व्यवस्थाहरु हटाइएको छ ।
जीवनभर पद ओगटेर बस्ने प्रणालीले नेपालको राजनीतिमा गम्भीर समस्या खडा गरेको छ । नेपालको तीव्र आर्थिक विकास नहुनुमा जीवनभर पद ओगटेर बस्ने प्रथाले पनि ठूलो भूमिका खेलेको छ । यहाँको राजनीति जनपक्षीय हुन नसक्नुमा यो प्रवृत्तिले अहम् भूमिका खेलेको छ ।
नेपालको कानूनमा सरकारी कर्मचारी, सेना, प्रहरी आदिमा निश्चित उमेर पुगेपछि अवकाश दिने प्रावधान छ । तर मन्त्री÷प्रधानमन्त्री पार्टीका पदहरु आदिमा भने जीवनभर रहन पाउने प्रावधान रहेको छ । यो आफैँमा अन्तरविरोधी छ । नेताहरुले पनि सेना प्रहरी कर्मचारी आदिमा जस्तै निश्चित उमेरपछि अनिवार्य अवकाश किन नलिने भन्ने विषय गम्भीर विषय हो । यदि मन्त्री प्रधानमन्त्री पार्टीका पदहरुमा उमेरहदसहित अवकाशको नियम नबनाउने हो भने सेना प्रहरी कर्मचारीमा किन उमेरहद र अवकाशको नियम बनाउने भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यसको उचित जवाफ जीवनभर पार्टी र सरकारका पदमा बस्ने पक्षका नेताहरुसँग छैन ।
जीवनभर पार्टी र सरकारको पदमा बस्ने पक्षका नेताहरुले सबै चिजहरुको जस्तै नेताहरुको पनि एक्सपायरी डेट अर्थात् म्याद नाघ्ने मिति हुन्छ भन्ने बिर्सेका छन् । सेना, प्रहरी, कर्मचारीलाई उमेरहदअनुसार अवकाश दिनुको अर्थ मानिसले निश्चित उमेरपछि दिइएको जिम्मेवारी सही ढंगले पूरा गर्न नसक्ने हुन थाल्छ भनेर पनि हो । उनीहरुले नयाँ ऊर्जावान व्यक्तिहरुलाई जिम्मेवारी सुम्पेर कामको गति बढाओस भनेर पनि हो । तर सेना, प्रहरी, कर्मचारीभन्दा पनि माथिल्लो पदमा बस्नेहरुका लागि उमेरहद नहुनु भनेको कामको गति र ऊर्जाशीलतामा अवरोध ल्याउनु हो । नयाँ ऊर्जावान मानिसहरुलाई जिम्मेवारी नदिनुले जुन गतिमा देशको अर्थराजनीतिको विकास हुनुपर्ने हो त्यो नभइरहेको स्थिति अहिले हो ।
जीवनभर पार्टी र सरकारको पदमा बस्ने पक्षका नेताहरुले सेना, प्रहरी, कर्मचारीले नियमित तलब सुविधा लिने तर पार्टी नेताहरुले नियमित तलब सुविधा सरकारी कोषबाट नलिने भएकाले जीवनभर पार्टीको पदमा रहँदैमा असर नपर्ने कुतर्क पनि गर्छन् । तर वास्तविकता यो हो कि पार्टीका पदहरु अहिले सेना, प्रहरी कर्मचारीका भन्दा पनि आकर्षक कमाइ हुने, त्यो पनि एकमुष्ठ ठूलो धनराशी कमाइ हुने थलो बन्न पुगेको छ । त्यसो हुनाले नै यी नेताहरु अनेक कुतर्क गरेर जालझेल गर्दै पार्टीका पदहरुमा उमेरहद र पटके हद नलाग्ने नियम बनाउँदैछन् । अरु युवा भनिएका बूढा हुन लागेका नेताहरु आफूले पनि जीवनभर नेताको पदमा बस्न पाउने हुनाले चुप छन् । तर यसले देशलाई डेटएक्सपायर भएकाहरुले चलाउने स्थिति बनेर ठूलो घाटा भइरहेको तर्फ यी नेताहरुले ध्यान दिएका छैनन् ।
जीवनभर पार्टी र सरकारको पदमा बस्ने पक्षका नेताहरुले राजनीतिमा थकाइ भन्ने हुँदैन भन्ने मदन भण्डारीको भनाइलाई दुरुपयोग गर्ने गर्छन् । यी नेताहरुले राजनीतिमा थकाइ भन्ने हुँदैन भन्नुको अर्थ राजनीतिबाट जीवनभर कमाइ गर्नु पर्दछ भन्ने हो भने मदन भण्डारीले राजनीतिमा निरन्तर विनास्वार्थ लाग्न पर्दछ भनेका हुन् । राजनीतिमा निरन्तर लाग्नु र राजनीतिबाट निरन्तर व्यक्तिगत फाइदा उठाउन पदहरु जीवनभर ओगटिराख्नु पर्दछ भन्ने चिन्तन बोक्नु फरक कुरा हो ।
अहिले एमाले–माओवादी–कांग्रेस–मधेशवादी सबै दलको नेतृत्वको पहिलो पंक्तिमा ०३५÷३६ सालतिर राजनीतिको नेतृत्वपंक्तिमा पुगेका नेताको हालीमुहाली छ । एक व्यक्तिले निरन्तर ४० वर्ष राजनीतिको पहिलो पंक्तिमा बसिरहनु भनेको सानो अवधि होइन । सेना, प्रहरी, कर्मचारीमा ३० वर्ष अधिकतम सेवा अवधि हुन्छ । यी नेताहरुले १० वर्ष बढी उपभोग गरिसके । अब यो पंक्तिलाई अवकाश दिएर नयाँ पंक्तिहरुलाई जिम्मा दिने काम जसले पहिला शुरु गर्दछ, उसैले नेपालको राजनीतिमा भविष्यको पहलकदमी लिनेछ ।
अहिले एमाले–माओवादी–कांग्रेस–मधेशवादी सबै दलको नेतृत्वको पहिलो पंक्तिमा ०३५-३६ सालतिर राजनीतिको नेतृत्वपंक्तिमा पुगेका नेताको हालीमुहाली छ । एक व्यक्तिले निरन्तर ४० वर्ष राजनीतिको पहिलो पंक्तिमा बसिरहनु भनेको सानो अवधि होइन । सेना, प्रहरी, कर्मचारीमा ३० वर्ष अधिकतम सेवा अवधि हुन्छ । यी नेताहरुले १० वर्ष बढी उपभोग गरिसके । अब यो पंक्तिलाई अवकाश दिएर नयाँ पंक्तिहरुलाई जिम्मा दिने काम जसले पहिला शुरु गर्दछ, उसैले नेपालको राजनीतिमा भविष्यको पहलकदमी लिनेछ ।
अहिलेको नेतृत्वले गणतन्त्रसम्म देशलाई पु¥याएको छ । तर यो गणतन्त्रमा दलाल तथा नोकरशाही पूँजीवादको हालीमुहाली चलेको छ । अहिलेको नेतृत्वको सीमा यहीँसम्म भएको देखिँदैछ । यसका विरुद्ध लड्ने र दलाल तथा नोकरशाही पूँजीवादलाई परास्त गरी राष्ट्रिय पूँजीवाद हुँदै समाजवादी गणतन्त्रको स्थापनातर्फ जाने क्षमता वर्तमान नेतृत्व पंक्तिमा रहेको देखिएन । सबै दलको नेतृत्वको पहिलो पंक्ति दलाल तथा नोकरशाही पूँजीपति वर्गमा रुपान्तरण हुनु वा त्यस वर्ग सामु घुँडा टेक्नु नै वर्तमान नेपाली अर्थराजनीतिको प्रमुख समस्या हो ।
नयाँ नेतृत्व आकाशबाट झर्दैन । अहिले नेपाली अर्थ राजनीतिमा रहेको पहिलो पंक्तिले जसरी त्यो भन्दा अगाडिको पंक्तिलाई पराजित गर्दै नेतृत्व आफ्नो हातमा लिएको थियो, त्यसरी नै मात्र नयाँ नेतृत्वको जन्म हुने गर्दछ । नेतृत्व भनेको सहज हस्तान्तरण कमै हुने विषय हो । यो परिवार, समाज, पार्टी, देश सबैतिर लागू हुन्छ । नयाँ नेतृत्व भन्नाले केवल नयाँ व्यक्तिलाई भनिएको होइन । नयाँ नीति र नयाँ ऊर्जासहितको नयाँ नेतृत्वलाई भनिएको हो ।
नेकपामा र अरु पार्टीहरुमा पनि तलदेखि माथिसम्म बीसौं, तीसौं वर्ष एउटै कमिटीमा बसेर पद ओगटिरहेकाहरुको संख्या उल्लेख्य भइसकेको छ । यस्तो स्थिति भनेको नेतृत्व जाम भएको स्थिति हो । नेतृत्वको विकास अवरुद्ध भएको स्थिति हो । माओले एक पटक भनेका थिए– ‘जमेको पोखरी राम्रो हो कि अटुट (अन्त्यहीन) र गडगडाउँदो याङ्त्जे नदी राम्रो ?’ जमेका पोखरीहरुको पानीभन्दा बगेका ठूला नदीहरुको पानी सफा हुन्छ । साथै जमेको पोखरीबाट विद्युत् निकाल्न सकिन्न भने ठूला नदीहरुबाट सकिन्छ । ठिक त्यस्तै नेपालका ठूला भनिएका पुराना दलहरु जमेको पोखरीजस्ता भएका छन् । यसमा नेता कार्यकर्ताहरु जमेर जीवनभर पद ओगटेर बस्ने प्रणाली बनाउने कि नेता र कार्यकर्ताहरु अटुट रुपमा गडगडाउँदै आउने र जाने बनाउनु सही हुन्छ ? यो प्रश्न अहिले सबै नेता कार्यकर्ताहरुले सोच्नुपर्ने बेला आएको छ । यसको सही हलविना न त देशको अर्थराजनीतिमा जनपक्षीय परिवर्तन हुनेछ, न त अहिले दलहरुले भोगिरहेको आन्तरिक व्यवस्थापनको समस्या नै हल हुनेछ ।
एमाले–माओवादी एकता भएको आठ महिना पूरा भइसक्यो । तर तलदेखि माथिसम्मका नेता कार्यकर्ताको सही अर्थमा एकता भएको छैन । जिम्मेवारीविहीन नेता कार्यकर्ताहरुको संख्या ९५ प्रतिशत छ । यस्तो गतिहीनताले नेकपालाई असफलतातर्फ लैजानेछ । नेता कार्यकर्ताको व्यवस्थापनमा समस्या आउनुको मुख्य कारण नेकपा जमेको पोखरी बन्नु हो । नेकपामा जीवनभर पद ओगट्ने प्रणाली रहेसम्म ठूलो संख्यामा रहेका नेता कार्यकर्ताको व्यवस्थापन पनि हुन सक्दैन । नेकपाले जीवन्त गतिशीलता र ऊर्जा पनि प्राप्त गर्न सक्दैन ।