काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘इनफ इज इनफ’ अभियन्ताको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । शतप्रतिशत पीसीआर परीक्षणको माग राख्दै १५ दिनदेखि वसन्तपुरमा अनशनरत अभियन्तालाई शनिबार भेटेर उनले अनशनकारीको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका हुन् ।
सभापति देउवाले भने, ‘अनशनकारीको मागप्रति हाम्रो पार्टीको ऐक्यबद्धता छ, मान्छेलाई मर्न दिन हुँदैन, वर्तमान सरकारले तुरुन्तै आफ्नो मान्छे पठाएर अनशनमा बसेका युवालाई बचाउनुपर्छ ।’ उनले सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गर्न खोजेको भन्दै त्यसको भत्र्सना गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले सरकार जनताको स्वास्थ्यमाथि गम्भीर हुनुपर्ने उल्लेख गरे । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले १५ दिनदेखि अनशनमा बस्दै आएका युवाले उठाउँदै आएको माग देश र जनताको हितमा रहेको बताए । उनले भने, ‘सरकारले आफ्ना प्रतिनिधि पठाएर मागलाई तत्काल सम्बोधन गर्नुपर्छ ।’
शतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्नेलगायतका माग राख्दै आएका अभियन्तासँग सरकारले गत असार २३ गते लिखित प्रतिबद्धता जनाएपनि अहिलेसम्म कार्यान्वयन नभएको अनशनकारीको भनाइ छ ।