चिकित्सा शिक्षासम्बन्धी विधेयक प्रतिनिधिसभाले पारित ग¥यो । विधेयक हेर्दा निकै राम्रो देखिन्छ । तर, प्रतिपक्षी दल र अनशनरत डा. गोविन्द केसी लगातार विरोधमा छन् नि ?
यो नियोजित विरोध हो । विगतमा उहाँसँग भएका सहमति बमोजिम नै चिकित्सा शिक्षासम्बन्धी विधेयक आएको छ । तपाईंले के बुझ्नुस भने उहाँसँग भएका सहमतिका भाषा, अक्षर जस्ताको तस्तै राखेर विधेयक ल्याएको भए पनि उहाँलाई पुग्दैन । किनभने मुलुकमा कम्युनिष्ट पार्टीको सरकार छ । यो सरकारलाई बदनाम गर्नु, यो सरकारलाई असफल बनाउनु, सामाजिक अभियन्ताको नाममा सरकारविरोधी मोर्चा कस्नु गोविन्द केसीजीको उद्देश्य हो । अरु कतिपयको पनि उद्देश्य छ, उहाँ त्यसमा परिचालित हुनुहुन्छ । १६औँ अनशन यो बाहेक अरु कुनै कारणले भएको छैन । उहाँले भने पनि नभने पनि हामीले विधेयकमार्फत स्वास्थ्यक्षेत्रमा आमूल परिवर्तनका कुरा ल्याएका छौँ ।
सहमतिका भाषा, अक्षर जस्ताको तस्तै राखेर विधेयक ल्याएको भए पनि गोविन्द केसीलाई पुग्ने थिएन । किनभने मुलुकमा कम्युनिष्ट पार्टीको सरकार छ । यो सरकारलाई बदनाम गर्नु, असफल बनाउनु, सामाजिक अभियन्ताको नाममा सरकारविरोधी मोर्चा कस्नु गोविन्द केसीको उद्देश्य हो ।
त्यसो भए, दुईतिहाइ बहुमतको सरकार किन रक्षात्मक देखिएको हो ?
सरकारको चरित्र नै प्रतिरक्षात्मक हुन्छ । सरकार ज्यादा ‘एग्रेसिभ’ हुन पनि हुँदैन । किनकी सबैलाई मिलाउने उसको दायित्व हुन्छ । त्यसहिसावले सरकार समन्वयकारी पनि हुनुपर्छ । अहिले त्यही भूमिका सरकारले खेलिरहेको हो ।
तर, सिंगो पार्टी चैँ यो प्रकरण वा सरकारका अन्य कामकारबाहीको पनि प्रतिरक्षामा देखिँदैन, नेताहरूबाटै सरकार सञ्चालन, पार्टी सञ्चालनका विषयमा असन्तुष्टिहरू आएको सुनिन्छ नि ?
यसमा केही कुरा छन् । केन्द्रमा पार्टी एकता भयो, तर लामो समयसम्म तहगत पार्टी कमिटी, मोर्चा संगठनहरूको एकता हुन सकेन, जसका कारण पार्टी सिथिलतामा गइरहेको छ । भरखरै सकिएको स्थायी समितिको बैठकमा हामीले यो कुरालाई गम्भीरताका साथ उठायौं । गहन छलफल पनि भयो र एउटा कार्यदल पनि बन्यो । तर, त्यो कार्यदलले पनि काम गरिरहेको छैन । पार्टीमाथि, सरकारमाथि र नेपाली समाजमाथि नै जसरी आक्रमण भइरहेका वेला पार्टीभित्रको एकतालाई सुदृढ गर्नुपर्ने र पार्टीलाई संगठनात्मक हिसावले क्रियाशील बनाउनुपर्ने ऐतिहासिक जिम्मेवारीबाट हाम्रो पार्टी अध्यक्ष÷प्रधानमन्त्री कमरेड केपी शर्मा ओली किन पछि हट्दै हुनुहुन्छ, किन चुकिरहनुभएको छ, मलाई आश्चर्य लागेको छ । म यसमा उहाँको एकदमै धेरै उदासिनता देख्छु ।
यो उदासिनता, पार्टीको सिथिलताले प्रतिपक्षी दललाई बल मिलेको भनिन्छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सडक आन्दोलन गर्ने धम्की दिन थालेको छ नि ?
केपी ओली नेतृत्वको यो सरकार हाम्रो पार्टीले बनाएको सरकार हो । जनताबाट जनअनुमोदित सरकार हो । यो सरकारका केही कमजोरी होलान्, त्यसमा हामीले पार्टीभित्र पनि समीक्षा गरेका छौँ । तर, यतिबेला सरकारका सामान्य कमजोरी मात्रै उठाइएको छैन कि प्रतिपक्षी दलको बेञ्चबाट ‘हामी सरकारलाई सडकबाटै हटाइदिन्छौँ’ भनेर जसरी अभिव्यक्तिहरू आएका छन् । त्यसभित्र केही न केही योजना लुकेको स्पष्ट हुन्छ । जननिर्वाचित सरकारलाई सडकबाटै हटाइदिन्छौँ भन्ने अभिव्यक्ति सामान्य होइन । यसले नेपाली कांग्रेस कुन बाटोमा जान खोजिरहेको छ । समाजलाई कता लैजान खोलिरहेको छ भन्ने कुरा देखाउँछ । यस्तो बेलामा प्रधानमन्त्रीका अथवा सरकारका सामान्य कमजोरीलाई आधार बनाएर पार्टी नतमस्तक भएर बस्न मिल्दैन । कुनै नेता रमिता हेरेर बस्न मिल्दैन । त्यसअर्थमा केपी ओलीसँगका थुप्रै असहमतिका बाबजुद प्रधानमन्त्रीको, सरकारको र आजका राजनीतिक उपलब्धिको रक्षा हुनुपर्छ भनेर म चैँ दृढताका साथ लडिरहेको छु । तर, म फेरि पनि भन्छु, संगठनात्मक मामलामा पार्टी अध्यक्ष र प्रधानमन्त्रीले जुन उदासिनता र कमजोरी देखाइरहनुभएको छ, यो कमजोरी र उदासिनताको मूल्य सायद हामीले धेरै चुकाउनुपर्छ ।
पार्टी कमजोर भएको होइन, पार्टी नेतृत्वको अर्कमण्यताले पार्टीलाई कमजोर बनाइएको हो । यो पार्टी आफैँ कमजोर भएको छैन, कमजोर बनाइँदैछ । र, यसमा सबै नेताहरूको थोरबहुत जिम्मेवारी हुनसक्छ । तर, मुख्यगरी दुई अध्यक्षको जवाफदेहिता मुख्य रहेको छ ।
पछिल्लो स्थायी समितिको बैठकमा गम्भीर समीक्षापछि पार्टी एकताका बाँकी कार्यभार पूरा गर्न कार्यदल बनाइएको थियो । तर, कार्यदलले पनि काम गर्न सकेन भनेर यहाँ स्वयम् भनिरहनुभएको छ । के कति कारणले कार्यदलले काम गर्न सकेन ?
हामीलाई नेपाली जनताले युगिन जिम्मेवारी दिएका छन् । यसमा असफल हुने हामीलाई छुट छैन । यो सफल हुने एउटै शर्त छ, पार्टीभित्र अभूतपूर्व एकता । त्योभन्दा अर्को शर्तबाट यो सफल हुन सक्दैन । इतिहासले त्यो युगिन अभिभारा पूरा गर्ने जिम्मेवारी मेरो काँधमा सुम्पिएको छ भनेर कमरेड ओलीले गौरव मान्नुपर्ने र दायित्व बोध गर्नुपर्ने हो । तर, मलाई आश्चर्य लाग्छ यो ऐतिहासिक दायित्वलाई उहाँले बुझिरहनुभएको छैन । पार्टीभित्रको एकतालाई निर्माण गर्ने क्रममा, पार्टीका सबै नेतालाई एकताबद्ध गरेर सामूहिक ढंगले अहिलेका चुनौति सामना गर्ने कुरामा उहाँ एकपछि अर्को चुकिरहेको म देख्छु । त्यसकारण उहाँलाई मेरो विनम्रतापूर्वक निवेदन छ, तपाईं पार्टीभित्रको सांगठनिक काम कारबाहीको सन्दर्भमा जुन बाटो हिँड्न खोजिरहनुभएको छ, त्यो बाटोले सही ठाउँमा पु¥याउँदैन । बाटो बदल्नुस् ।
पार्टी एकतापछि यहाँहरू दुईअध्यक्षात्मक प्रणालीमा जानुभयो । तर, अर्का अध्यक्ष पनि निस्कृय देखिनुहुन्छ । यो सिथिलता आउनुमा अर्का अध्यक्षको पनि त केही न केही दायित्व रहला नि ?
पार्टीलाई गतिशील बनाउन अर्का अध्यक्ष कमरेड प्रचण्डको दायित्व पनि उत्तिकै छ । एउटा अध्यक्षको बढी, अर्को अध्यक्षको कमी भन्ने छैन । दुवैको समान दायित्व छ । उहाँले पनि त्यो तहको गम्भीरता देखाउनुपर्छ भन्ने मलाई लाग्छ । म माओवादीकै अध्यक्ष हुँ भन्ने हिजोकै आँखाबाट अब उहाँले पनि हेर्न छोड्नुपर्छ । उहाँ नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष हो । त्यसो हुँदा पार्टीभित्रको आन्तरिक एकतालाई ध्यान दिँदै, पार्टीभित्र शक्ति संघर्ष नचर्कियोस् भन्ने कुरामा सचेत हुँदै उहाँले पार्टी संगठनको जुन सिथिलताको अवस्था छ, जुन सुन्यताको अवस्था छ, त्यसलाई चिर्न र सिंगो नेपाल कम्युनिष्ट पार्टीलाई मजबुत र एकताबद्ध बनाउन उहाँबाट अझै ज्यादा भूमिकाको अपेक्षा म गर्छु । दुईवटा अध्यक्षबीचमा ज्यादै धेरै समन्वय र तालमेल तथा एउटै ‘भ्वाइस’ आवश्यक छ । म फेरि पनि भन्छु, पार्टीभित्र अनावश्यक खालको शक्ति संघर्ष बन्न दिनु हुँदैन ।
सरकार तानाशाही बन्दैछ भनेर प्रतिपक्षी दल भन्दैछ । यो फरक हो कि ऊ आफैँ सडकबाटै सरकार फाल्छौँ पनि भन्दैछ, जुन लोकतान्त्रिक अभिव्यक्ति होइन । तैपनि प्रतिपक्षी पार्टीको आरोपलाई कसरी चिर्नुहुन्छ ?
हाम्रो पार्टी र सरकार सम्पूर्ण लोकतान्त्रिक मूल्यमान्यतालाई अंगिकार गरेर आएको सरकार हो । योसँग संवैधानिक हिसावको ‘लेजिटिमेसी’ छ । जनअनुमोदित भएको हुनाले त्यो वैधानिकता पनि छ । यो सरकार र पार्टीले संविधानको सर्वोच्चतालाई स्वीकारेको छ । कानुनी राज्यलाई स्वीकारेको छ । नेपाली जनताको सार्वभौमसत्ता जो संसद्मार्फत अभ्यास हुन्छ, त्यसलाई हामीले स्विकार गरेका छौँ । खुला समाज, प्रेस स्वतन्त्रता, मानवअधिकार, व्यक्तिका व्यक्तिगत स्वतन्त्रताहरू सबैप्रति हाम्रो पूर्ण सम्मान छ । हामी जे निर्णय पनि संविधानलाई शिरमा राखेर, संसद्को सार्वभौमसत्तालाई ख्यालमा राखेर गर्छौं । एउटा लोकतान्त्रिक सरकार र पार्टी चल्ने विधि यही नै हो । कांग्रेसले हामीलाई अधिनायकवादी, तानाशाही जे जे भने पनि यो विधिबाट हामी विचलित हुँदैनौँ । कांग्रेसमाथि प्रतिवाद गर्ने नाममा हामी उत्तेजनामा आएर अर्कोबाटो समाउँदैनौँ । यही बाटोबाटै हिँड्छौँ । यो बाटोबाट जाँदा पार्टीहरूका बीचमा प्रतिस्पर्धा हुन्छ । आवधिक निर्वाचन हुन्छ । पछिल्लो निर्वाचनपछि हामीले करिब एक वर्ष बिताएका छौँ । अब चार वर्षपछि अर्को चुनावमा जानु छ । र, पहिलो वर्षमा नीति कार्यक्रम, बजेट बनाउँदा जे जस्ता कमजोरी भए, जनताका अपेक्षाहरू जति मात्रामा सम्बोधन हुनुपथ्र्यो त्यति भएन । आउने वर्षको बजेट, नीति कार्यक्रममा त्यसबाट भएको क्षतिसमेत परिपूरण हुने गरी हामी अगाडि बढ्छौँ । कांग्रेससँग हाम्रो भनाइ यत्ति छ, हामीले उसलाई जिम्मेवार प्रतिपक्षी दलका रूपमा हेरेका छौँ । उसले पनि यो भूमिका निर्वाह गर्न नभुलोस् । निर्वाचनबाट कांग्रेसले नसोचेको परिस्थिति सिर्जना भयो होला । तर, त्यसलाई कम्तीमा बाँकी चार वर्ष सहनुबाहेक अरु विकल्प छैन । चार वर्षपछि चुनावी मैदानमा अवश्य पनि हाम्रो भेट हुनेछ । को असल, को खराब भनेर फेरि पनि जनताले फैसला गर्नेछन् ।
पार्टी एकताअघि यहाँ तत्कालीन नेकपा एमालेको केन्द्रीय सचिव हुनुहुन्थ्यो । महाधिवेशनबाटै एमालेले कार्यकारी पदका निम्ति उमेर हदको मापदण्ड तय गरेको थियो । यसले पार्टी अर्को पुस्तामा हस्तान्तरण हुने बाटो खोले पनि थियो । तर, पार्टी एकतापछि फेरि यी सबै कुरा हराए नि, किन ?
हराएको छैन । युवा नेतृत्वको कुरा हाम्रो पार्टीमा पहिलेदेखि उठ्दै आएको छ । फेरि पार्टीमा हामीले प्रतिस्पर्धा र पहलकदमीबाट नेतृत्व स्थापित गर्ने भनेका छौँ । त्यसो हुँदा युवा साथीहरू पनि प्रतिस्पर्धाबाटै आउनुपर्छ । पहलकदमीबाटै आउनु पर्छ । कुनै नेताको कोटामा परेर हामी युवा हौँ भनेर जखमले जुल्फी हल्लाउनुले नेता भइँदैन । नयाँ पुस्ता पार्टी नेतृत्वमा पुगेको छैन भन्ने हुँदै होइन । हाम्रो पार्टी क्रमश पुस्तान्तरण हुँदै गएको छ । लगभग पहिलो पुस्ताले पार्टीबाट अवकास लिइसकेको अवस्था छ । पहिलो पुस्ता भन्नाले २००७ सालको क्रान्तिको सेरोफेरोबाट स्थापित भएको पुस्ता हो । त्यसमा भरतमोहन अधिकारी जस्ता केही जीवित नेताहरू केही हुनुहुन्छ, तर उहाँहरू पनि सकृय राजनीतिमा हुनुहुन्न । २०१८ सालपछि नेपालको कम्युनिष्ट आन्दोलनमा आएको विभाजनसँगै उदाय भएका नेताहरूको एउटा पंक्ति हामीसँग छ । त्यो विशेषगरी २०२७, ०२८ सालको झापा विद्रोहको सेरोफेरोमा उदय भएको नेतृत्व छ । र, त्यही झापा विद्रोहको सेरोफोरोमा चिनियाँ सांस्कृति क्रान्तिको विषयलाई हेर्ने दृष्टिकोणमा विभाजित भएको कम्युनिष्ट आन्दोलनको दुई अलग अलग धार अहिले फेरि एक ठाउँमा आएको छ । त्यसो हुँदा दुवै धारको त्यसबेला नै उदय भएको नेतृत्व अहिले छ । चाहे केपी ओलीको कुरा गर्नुस् चाहे प्रचण्डको कुरा गर्नुस् । अथवा, हिजो पार्टी चलाउनुभएका माधवकुमार नेपाल, झलनाथ खनालको कुरा गर्नुस् । उहाँहरू त्यही सेरोफेरोको नेतृत्व हो । आज गौरवका साथ हामी भन्छौँ, हाम्रो पार्टीमा २०३६ सालको विद्यार्थी आन्दोलनले स्थापित गरेका र त्यसपछि विद्यार्थी आन्दोलनबाट खारिएर परिस्कृत हुँदै आएका सशक्त ‘मास लिडर’ हरूको एउटा ठूलो पंक्ति आज पार्टीको केन्द्रीय कमिटीमा छ । संसद्मा छ र पार्टीका तहगत कमिटीमा छ । मलाई लाग्छ, हाम्रो पार्टीप्रति जनआकर्षण पैदा गर्ने कुरामा त्यो पुस्ताले उल्लेख्य भूमिका खेलेको छ । उता, माओवादी साइडबाट हेर्ने हो भने, हिजो माओवादीको सशस्त्र बलपूर्वक क्रान्तिको बेलामा कठिन कठिन मोर्चाहरूमा आफूलाई अब्बल सावित गरेका कमान्डरहरू जो उमेरले युवा हुनुहुन्छ, उहाँहरूको भूमिका त्यहाँ पनि सशक्त थियो र आज एकीकृत पार्टीमा पनि हामीसँगै छौँ । त्यसो हुँदा यो पार्टीमा नेतृत्व हस्तान्तरणको समस्या छैन । त्यसो हुँदा पार्टीभित्रको अन्तरसंघर्ष, गुटबन्दीको चरित्र पनि परिवर्तन हुँदै जानुपर्छ । हिजो नेताहरूको कारणले गुटहरू बने । नेताहरू बलिया बलिया भए त्यसकारणले नेतालाई आधार बनाएर गुटहरू बने । हामी पनि कुनै नेताको पछि लाग्यौँ, अर्का साथी अरु कुनै नेताको पछि लाग्नुभयो । अब यो परम्पराको अन्त्य हुन्छ र हुनुपर्छ । माओवादीतर्फ हरेक मोर्चामा भूमिका खेलेको र सफल हुँदै आएका अब्बल साथीहरू र हिजोको एमाले साइडमा पनि हिजोको जोखिमपूर्ण काममा नेतृत्व गर्दै आएका युवा पंक्तिको बीचमा सहकार्य हुन आवश्यक छ र पार्टीको भविष्य पनि त्यही हो ।
पार्टीलाई गतिशील बनाउन दुवै अध्यक्षको समान दायित्व छ । एउटा अध्यक्षको बढी, अर्को अध्यक्षको कमी भन्ने हुँदैन । दुवै अध्यक्षले यो कुरा गम्भीरतापूर्वक लिनुपर्छ र भूमिका निभाउनुपर्छ ।
राजनीति र विकास अन्योन्याश्रित हुन्छन् । खोक्रो राजनीति अथवा तथाकथित विकास मात्रै हामीले भन्यौँ भने त्यसले हामीलाई टुंगोमा पु¥याउँदैन । त्यसैले आज नेपाल कम्युनिष्ट पार्टी र यो पार्टी नेतृत्वको सरकारले जुन बाटो लिएको छ, त्यो नै सही छ ।
राजनीतिक क्रान्तिको एउटा कोर्स पूरा भएको हो, राजनीतिको सम्पूर्ण च्याप्टर समाप्त भएको होइन । अब राजनीतिक क्रान्तिको अर्को कोर्स सुरु भयो । राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि रक्षा गर्दै नेपाली समाजमा भएका सामाजिक, आर्थिक विभेद हटाउँदै, न्युन गर्दै, सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि नै हाम्रो अबको बाटो हो ।सामाजिक असमानतालाई यथावत राखेर हुने विकासले आम सर्वसाधारण जनता र मध्यम वर्गलाई छुन सक्दैन । जो हाम्रो पार्टीको निम्ति सबैभन्दा धेरै महत्व राख्ने वर्ग हो, त्यो वर्गलाई सँगै लगेर नै समृद्धि हासिल गर्ने हो । मेरो विचारमा हाम्रा प्रधानमन्त्री यो कुरामा स्पष्ट हुनुहुन्छ ।
पार्टीमाथि, सरकारमाथि र नेपाली समाजमाथि चौतर्फी आक्रमण भइरहेका वेला पार्टीभित्रको एकतालाई सुदृढ गर्नुपर्ने र पार्टीलाई संगठनात्मक हिसावले क्रियाशील बनाउनुपर्ने ऐतिहासिक जिम्मेवारीबाट पार्टी अध्यक्ष÷प्रधानमन्त्री कमरेड केपी शर्मा ओली किन चुकिरहनुभएको छ, मलाई आश्चर्य लागेको छ ।
अब सिंगो पार्टी र देशको जिम्मेवारी युवाको काँधमा आउँदैछ भन्नेमा यहाँ आशावादी हुनुहुन्छ ?
मलाई लाग्छ, हाम्रो पार्टीको आउने महाधिवेशन छिट्टै भयो र उहाँहरूले आउन चाहनु भयो भने एक कार्यकाल फेरि पनि अहिले नाम चलेकै नेताहरू पार्टीको प्रमुख जिम्मेवारीमा आउन सक्नु होला । म जोड गरेर भन्दैछु, यदि उहाँहरू आउन चाहनु भयो भने । तर, मेरो भनाइ के हो भने, अब केपी कमरेड र प्रचण्ड कमरेडले पनि अवकासको बाटो लिनुपर्छ । मैले यो सुझाब धेरै अघि नै दिएको हुँ । मेरो सुझाब धेरैलाई मन प¥यो । केपी कमरेडलाई पनि असाध्यै मन प¥यो, प्रचण्ड कमरेडलाई पनि असाध्यै मन प¥यो । तर, केपी ओली र प्रचण्ड भएनन् भने हामी कहाँ जानु, टुहुरा हुन्छौँ कि भन्ने केही साथीलाई मन परेन र उहाँहरू प्रधानमन्त्रीलाई कुरा लगाउन पनि गए कतिपय । ती साथीहरू देखेर मलाई दया लाग्छ । हामी नयाँ ढंगले जाऔँ न । केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल यो स्तरका नेतालाई एउटा सम्मानजनक ठाउँमा राखौँ । अभिभावकको रूपमा, संरक्षकको रूपमा राखौँ । उहाँहरूका नीति निर्देशन, उहाँहरूले प्राप्त गर्नुभएका सफलताका अनुभवहरू हाम्रा निम्ती अमूल्य छन्, ती अमूल्य अनुभवलाई पनि सम्मान गर्दै अब क्रमशः पार्टी नयाँ पुस्ताबाट नेतृत्व गर्ने हिम्मत गर्न सक्नुपर्छ । यसो भनिरहँदा मैले अहिले नेतृत्वमा रहेको पुस्तालाई अपमान गर्न खोजेको होइन । उहाँहरूको योगदान, उहाँहरूको भूमिका नभएको भए हामी सायद अहिलेको अवस्थामा आउने थिएनौँ । इतिहासमा उहाँहरू दर्ज भइसक्नुभएको छ । भोलि मैले इतिहास लेख्दा, ‘थेसिस’ लेख्दा केपी, प्रचण्ड, माधव, झलनाथलाई नभेटी त्यो पूर्ण हुन सक्दैन नि ।
वर्तमान विश्व राजनीतिलाई नियाल्ने हो भने थुप्रै देशमा युवा पुस्ताले शासनसत्ता चलाइरहेका छन् । हाम्रो मुलुकको सन्दर्भमा राजनीतिकको एउटा ‘कोर्स’ अहिलेको नेतृत्वसम्म आउँदा पूरा भयो । अब विकास र समृद्धिको ‘कोर्ष’ नयाँ पुस्ताको काँधमा आयो भने सहज रूपमा र तीव्रतामा सम्पन्न हुन सक्छ कि ?
विगतमा हाम्रा दुवै पार्टीभित्र असाध्यै धेरै छलफलहरू हुन्थे । हाम्रो जत्तिको उच्चस्तरको छलफल सायद अरु कुनै पार्टीभित्र हुँदैनथ्यो । तर, पछिल्ला दिनमा पार्टीभित्र छलफल, विमर्श, अन्तरसंवादको परिस्थिति अलिकति घट्दै गएको छ । त्यो वातावरण बनिरहेको छैन । यसपटकको स्थायी समिति हामी झन्डै दुई हप्ता बस्यौ । त्यहाँ फेरि छलफलको पुनरावृत्ति भएको छ, यसले मलाई खुसी तुल्याएको छ । यसले हामीलाई परिस्कृत नै गर्छ भन्ने लाग्छ । अब राजनीतिक कोर्स सकियो, विकासको कोर्समा जाऔँ भन्ने कुरा सुन्दा एकदमै सुन्दर र प्रिय कुरा हो । तर, त्यो एकअर्कासँग अन्योन्याश्रित हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्दछ । विकास बिनाको राजनीतिक र राजनीति बिनाको विकास कता जान्छ र त्यो ? त्यो विकासलाई राजनीतिले नै दिशानिर्देश गर्नुपर्ने होला नि ? त्यसैले यी सँगसँगै जान्छन् । हामीले सोभियत युनियनको विघटनबाट गम्भीर पाठ सिकेका छौँ । महाशक्ति राष्ट्रसँगको प्रतिस्पर्धाको नाममा सरकार, पार्टीलाई जसरी सीमित व्यक्तिहरूको घेराबाट चलाउन खोजियो र आमजनता त्यसबाट टाढिँदै गए, हुन त सोभियत युनियनले ठूलठूला संरचना बनायो । अन्तरिक्षमा यान पठायो । त्योभन्दा ठूलो उपलब्धि के हुन्थ्यो ? आज पनि विश्वको एउटा ठूलो अर्थतन्त्र हो । त्यति ठूलठूला उपलब्धि हिजोको सोभियत कम्युनिष्ट पार्टीकै कार्यकालमा भएको हो । तर, पार्टी र सत्ता जनतासँग अलग्गिँदै जाँदा त्यही सत्ताले निर्माण गरेका संरचना पनि आफ्नो सत्ता रक्षाका निम्ति उभिन सकेन । त्यसकारण खोक्रो राजनीति अथवा तथाकथित विकास यी दुवै कुरा मात्रै हामीले भन्यौँ भने त्यसले हामीलाई टुंगोमा पु¥याउँदैन । त्यसैले आज हामी नेपाल कम्युनिष्ट पार्टीले जुन बाटो लिएको छ, त्यो सही बाटो छ । राजनीतिक क्रान्तिको एउटा कोर्स पूरा भएको हो, राजनीतिको सम्पूर्ण च्याप्टर समाप्त भएको होइन । अब राजनीतिक क्रान्तिको अर्को कोर्स सुरु भयो । त्यो भनेको यो राजनीतिक क्रान्तिबाट प्राप्त उपलब्धि रक्षा गर्दै नेपाली समाजमा भएका सामाजिक, आर्थिक विभेद हटाउँदै, न्युन गर्दै सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि नै हाम्रो बाटो हो । यो हाम्रो सरकारको बाटो हो, हाम्रो पार्टीको बाटो हो । हामी जे गर्छौं यो लक्ष्य पूरा गर्न बल पु¥याउनका निम्ति गर्छौँ । सामाजिक असमानतालाई यथावत राखेर हुने विकासले आम सर्वसाधारण जनता र मध्यम वर्गलाई छुन सक्दैन । जो हाम्रो पार्टीको निम्ति सबैभन्दा धेरै महत्व राख्ने वर्ग हो, त्यो वर्गलाई सँगै लगेर नै समृद्धि हासिल गर्ने हो । मेरो विचारमा हाम्रा प्रधानमन्त्री यो कुरामा स्पष्ट हुनुहुन्छ ।
प्रस्तुति : छविरमण अधिकारी