Logo
Logo

आटीचौर-मार्तडी सडक सञ्चालनमा ल्याउन जोड


- दृष्टि न्युज/संवाददाता

0
Shares

तस्बिर : नन्दा थापा/दृष्टि

बाजुरा, ३२ साउन । खप्तड छेडेदह गाउँपालिकाका स्थानीयले नयाँ मार्गका रुपमा आटीचौर मार्तडी सडकलाई सञ्चालनमा जोड दिएका छन् । साँफे मार्तडी बाढी पहिरोका कारण सडक खण्ड पूर्ण रुपमा बन्द भएपछि तत्कालको विकल्प सहीत दीर्घकालिन योजना सहीत आटीचौर भानेरा सडकलाई सञ्चालन गर्न स्थानीय जोड दिएका हुन् ।
खप्तड छेडेदह गाउँपालिकाका जनप्रतिनिधी र राजनीतिक दलका नेताहरुको टोलीले प्रमुख जिल्ला अधिकारीसँग छलफल समेत गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाजुरामै पुगेर गाउँपालिका बासीले बेतालमाडौं, कुल्देवमाडौं, आटीचौर भौनेरा हुँदै मार्तडी रुटको सडक सञ्चालनका लागि ध्यानाकर्षण गराएका हुन् ।
साँफे मार्तडी सडक छेदविच्छेद भइसकेको अवस्थामा सहज मार्गको रुपमा देखिएको र ट्याक समेत खोलेर सवारी साधन समेत सञ्चालन भइसकेकोले मार्तडीसँग सम्पर्कलाई आटीचौर मार्तडी सडकलाई नै प्रमुख मार्गका रुपमा कायम गर्न ध्यानाकर्षण गराएको खप्तड छेडेदह गाउँपालिका ६ का वडा अध्यक्ष कुम्भ नाथ योगीले बताएका छन् ।
बेतालमाडौंको बाटोलाई दिर्घकालिन योजनासहित मार्तडी जोड्ने मार्गका रुपमा विकास गरिनु पर्ने, सेरा आटीचौर सडक कालोपत्रे जिम्मा लिएका ठेकेदार पूर्ण अधिकारीलाई तत्काल काम गर्न लगाई बाटो सुचारु गर्न पहलका लागि पनि ध्यानाकर्षण गराएका छन् ।
गाउँपालिकाका स्थानीयले बुढीगंगा नगरपालिका र बडिमालिका नगर पालिका क्षेत्रमा पर्ने सडक सञ्चालनका लागि पहल गरिदिन मागसहित खप्तड छेडेदह गाउँपालिकाको क्षेत्रको सडक आफैले जिम्मा लिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेलाई जानकारी गराएका छन् ।
बेतालमाडौं आटीचौर मार्तडी सडकलाई दीर्घकालिन मार्गका रुपमा विकास गरिनु पर्ने, सेरा आटीचौर नियमित सुचारुका लागि ठेकेदारलाई जिम्मेवार बनाउनुपर्ने, तीन वटै स्थानीय तहले तत्कालको अवस्थामा बाटो सुचारुका लागि लगानीगरि सञ्चालनमा ल्याउने वातावरण निर्माण गर्नु पर्ने र भौनेरा नदीमा बेलिब्रीजका लागि पहल गर्न माग सहीत प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको खप्तड छेडेदह गाउँपालिका ७ का वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन् ।
ध्यानाकर्षणका लागि नेकपा जिल्ला कमिटी सचिवालय सदस्य दिलबहादुर रावल, ६ का वडा अध्यक्ष कुम्भनाथ योगी, ७ का अध्यक्ष खगेन्द्र रावत, ७ का वडा सदस्य रणबहादर ओली, स्थानीय वुद्धीजीवी भोविन्द्र ओली, नेकपा वडा कमिटी अध्यक्ष मिनबहादुर सार्की लगायत व्यक्तिहरु जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेका थिए ।
जवाफमा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले प्राविधिक अध्ययन प्रतिवेदन सहीत गाउँपालिकाको निर्णय बुझाउन आग्रह गरेका छन् । प्राविधिक प्रतिवेदनकै आधारमा माथिल्लो निकायसँग सहकार्य गरी प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन् । राजमार्ग सडककै रुपमा प्रदेश सरकारले गौरवको योजनामा रुपमा पनि डिपीआर तयार गरी निर्माण कार्य अघि बढाइसकेको छ । दुरीमा पनि धेरै नपर्ने र पाटामा देखिएको सामान्य पहिरो बाहेक अर्को समस्या नदेखिएकोले दीर्घकालिन हुने विश्वास स्थानीयको छ । बडिमालिका नगरपालिकाले पनि नयाँ मार्ग निर्माणका सहयोग गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्