काठमाडौं । कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा कर्पोरेट कार्यालय रहेको एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरीमा रजिष्टर्ड कार्यालय रहेको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने÷गाभिने (मर्जर)सम्बन्धी समझदारीपत्रमा आइतबार एक समारोहबीच हस्ताक्षर सम्पन्न भएको छ । मर्जर हुने यी दुबै संस्थाहरु नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरका संस्थाहरु हुन् ।
मर्जरसम्बन्धी उक्त समझदारीपत्रमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको तर्फबाट संस्थाका अध्यक्ष कपिल ढकाल र स्वदेशी लघुवित्त वित्तीय संस्थाको तर्फबाट संस्थाका अध्यक्ष लालमणि जोेशीले हस्ताक्षर गरेका हुन् । एनआईसी एशियाको कर्णाली प्रदेशलगायत मुलुकका विकट पहाडी तथा हिमाली जिल्लामा समेत गरी कूल १२० शाखा सञ्चालनमा रहेका छन् भने स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको नेपालभरि ८५ शाखा सञ्चालनमा छन् । मर्जरपश्चात कुल शाखा संख्या २०५ हुनेछ ।
मर्जरसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरी मर्जरपश्चात एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट २०७७ पुसाको पहिलो हप्ताभित्रमा एकीकृतरुपमा कारोवार सञ्चालन हुने गरी कार्ययोजना (एक्सन प्लान) सहित देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र चुक्ता पूँजी भएको एक सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित हुनेछ ।