राँझा, १ भदौ । नेपालगञ्ज उपमहानगरपालिका-२० गायत्रीनगरस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका ८५ घरपरिवार भोकै बस्न बाध्य भएका छन् ।
मजदूरी गरेर जीवन निर्वाह गर्दै आएका उनीहरु कोरोनाको बढ्दो संक्रमणका कारण कामकाज बन्द भएपछि साँझ बिहान हातमुख जोर्न समस्या भएको छ । बस्तीमा कुछबधिया समुदायसहित करिब ३०० जनसंख्या रहेको छ । दिनभर काम गरेर जोहो गर्ने अधिकांश परिवार यतिबेला थप समस्यामा परेका हुन् । अपांग, अशक्त, एकल महिला, वृद्ध, वृद्धा झनै अप्ठ्यारोमा परेका छन् ।
कोरोनाका कारणले कामकाज नहुँदा मजदूरी गर्ने, रिक्सा चलाउने, मिस्त्री, ठेला व्यापार, घुम्टी पसललगायतका काममा संलग्न मारमा परेको स्थानीय कृष्णबहादुर कामीले जानकारी दिए । उनले भएको रासन, पैंसो सबै सकिएको भन्दै काम गर्ने बातावरण पनि नभएको बताए ।
उनले भने, ‘के गरेर गुजारा गर्ने हो भन्ने पीर छ ।’ स्थानीय अगुवा लालबहादुर परियारले दैनिक गरिखाने आफूहरु कोरोना महामारीका कारण समस्यामा परेको बताए । ‘खाने कुरा पनि छैन, काम पनि छैन, समस्यामाथि समस्या थपिएको छ’, अपांगसमेत रहनुभएका परियारले भने, ‘कहीँकतैबाट खाद्यान्न सहयोग जुटाइदिनसके पुण्य काम हुनेछ ।’
गत वैशाखमा वडा कार्यालयलगायतका संघसंस्थाले राहत सहयोग गरेको भए पनि लामो समयसम्मको लकडाउन र निषेधाज्ञाले उनीहरु समस्यामा परेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं २० का अध्यक्ष कृष्ण कार्कीले बताए । तत्काल वडा कार्यालयबाट सहयोग गर्ने अवस्था नरहे पनि विभिन्न संघसंस्थामा सहयोगका लागि आफूले पहल गरिरहेकोे उनको भनाइ छ।
यो बस्तीमा माइती नेपाल नेपालगञ्जले पाँच दिनसम्म तयारी खानाको प्रबन्ध गरेको थियो । कोरोना महामारीका कारण दैनिक जीविकोपार्जनमा समस्या भएका नागरिकलाई तयारी खाना वितरण कार्यक्रम अन्तर्गत गायत्रीनगरका ३०० नागरिकलाई खाना खुवाएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए ।
आदर्श माविको जग्गामा वर्षौंदेखि बसोबास गरिरहेका उनीहरुलाई केही महिनाअघिमात्रै वडा कार्यालयको पहलमा त्यहाँबाट स्थानान्तरण गरेर व्यवस्थित गरिएको छ । डेढदशकअघिदेखिको बसोबासको किचलो अन्त्य गर्दै उनीहरुलाई वडा कार्यालयले नजिकैको खाली जग्गामा सारेको वडाध्यक्ष कार्कीले बताए ।