काठमाडौं, २ भदौ । गत चैत ११ गतेदेखि शुरु भएको देशव्यापी लकडाउनको असर बैंक तथा वित्तीय संस्थाहरूको गत आर्थिक वर्षको वित्तीय विवरणमा स्पष्टसँग देखिएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म उत्साहजनक नाफा गरेका बैंक तथा वित्तीय संस्थाहरू तेस्रो त्रयमासमा आइपुग्दा सामान्य ढंगले खस्किएका थिए । कोरोना संक्रमण र लकडाउनले बैंकिङ्ग व्यवसाय चौपट हुनसक्ने आँकलन गर्दै सरकारसमक्ष हातेमालोको लागि अनुरोध गरेका बैंकरहरूलाई अर्थमन्त्री युवराज खतिवडाले चैतको तेस्रो साता एकाध हप्तामा कोरोनाको असर सकिने धारणा व्यक्त गरेका थिए ।
‘अर्थ मन्त्रालयको निर्देशनमा राष्ट्र बैंकले हचुवाको भरमा तोकेको राहत प्याकेज र ब्याज छुटले सबैभन्दा धेरै मर्का पर्यो । उक्त निर्देशनले वास्तविक कोरोना प्रभावित व्यवसाय र व्यवसायीभन्दा अरुले मस्ती गरे । उनीहरूको मस्तीको भार अहिले बैंकहरू भोग्न बाध्य भएका हुन् । तर पनि राष्ट्र बैंक र अर्थ मन्त्रालय मौन बसेका छन् ।’ हाल प्रकाशित वित्तीय विवरण अनुसार समग्रमा वाणिज्य बैंकहरुको नाफामा आर्थिक वर्ष २०७६÷०७७ मा ११ प्रतिशतको हाराहारीले संकुचन आएको छ ।
शुरुमा दुई साताको लागि गरिएको लकडाउन पटक पटक गरी एक सय दिनभन्दा बढी समयसम्म लम्बियो । असारदेखि लकडाउन केही खुकुलो बनाएपनि कोरोना संक्रमणको गति तीब्र भएपछि पुनः आर्थिक चहलपहल र गतिबिधिमा कमी आयो । चैतदेखि असार मसान्तसम्म अधिकांश बैंकहरूले उत्साहजनक ढंगले कर्जा प्रवाह गर्न सकेनन् भने नसोचेको ढंंगले निक्षेप संकलन भएको बताएका छन् । साउन तेस्रो सातादेखि गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गर्न थालेका बैंक तथा वित्तीय संस्थाहरूको नाफामा पछिल्लो चार महिनाको लकडाउनले नराम्ररी असर पारेको देखिएको हो । संक्रमण र लकडाउनको अवस्था यहि ढंगले लम्बिने हो भने चालु आर्थिक वर्षको पहिलो त्रयमासमा बैंकहरूको नाफा हालसम्मकै न्यून विन्दूमा पुग्नसक्ने आँकलन गरिएको छ ।
प्रारम्भिक तथ्याङ्ग अनुसार अधिकांश बैंकको नाफा घटेको छ । यसरी नाफा घटेपछि केही बैंकको वितरणयोग्य नाफा ऋणात्मक हुने निश्चित छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताले लगानीको प्रतिफल लाभांश पाउँदैनन् । यसबाट बैंकहरूको प्रतिसेयर आम्दानी घट्ने छ भने, कोरोना र लकडाउनले खराब कर्जालाई ह्वात्तै बढाएको छ । यसले विशेषगरी बैंकका लगानीकर्ता (सेयर होल्डर) ले सबैभन्दा धेरै मुनाफा गुमाउनुपर्ने बाध्यतामा पुग्नेछन् ।
कोरोना र लकडाउनको कारण बैंकहरूको नाफा घटेको भनिएपनि केही बैंकर त्यो अवस्थाले मात्रै नाफा घटेको मान्न तयार छैनन् । उनीहरूका अनुसार चैतमा सरकार र नेपाल राष्ट्र बैंकले हतारमा घोषणा गरेका केही कार्यक्रम र निर्देशनले बैंकहरूको नाफा घटाउन सहयोग पुर्याएको हो । नाम नबताउने शर्तमा बैंकर्स संघका एकजना सदस्य भन्छन् ‘अर्थ मन्त्रालयको निर्देशनमा राष्ट्र बैंकले हचुवाको भरमा तोकेको राहत प्याकेज र ब्याज छुटले सबैभन्दा धेरै मर्का पर्यो । उक्त निर्देशनले वास्तविक कोरोना प्रभावित व्यवसाय र व्यवसायीभन्दा अरुले मस्ती गरे । उनीहरूको मस्तीको भार अहिले बैंकहरू भोग्न बाध्य भएका हुन् । तर पनि राष्ट्र बैंक र अर्थ मन्त्रालय मौन बसेका छन् ।’
हाल प्रकाशित वित्तीय विवरण अनुसार समग्रमा वाणिज्य बैंकहरुको नाफामा आर्थिक वर्ष २०७६÷०७७ मा ११ प्रतिशतको हाराहारीले संकुचन आएको छ । तर, छुुट्टा छुट्टै ढङ्गले हेर्दा एसबीआई बैंकको नाफा ३३ प्रतिशतले र सिभिल बैंकको नाफा ३५ प्रतिशतले घटेको देखिएको छ । उता, मुलुककै सबैभन्दा पूरानो र सरकारी बैंक नेपाल बैंकको समेत डेढ प्रतिशतभन्दा बढीले घटेको छ भने स्टाण्डर्ट चार्टर्डको झण्डै १८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ११ प्रतिशत, कृषि विकास बैंकको १७ प्रतिशत, एनसीसी बैंकको पनि झण्डै ११ प्रतिशतले नाफामा कमी आएको देखिएको छ ।
हालै प्रकाशित विवरण अनुसार सिद्धार्थ बैकको नाफामा ७.३० प्रतिशतले कमी आएको छ । त्यस्तै बैंक अफ काठमाण्डूको २२ प्रतिशत, एभरेष्ट बैंकको नाफा १८ प्रतिशत, नबिल बैंकको १८ प्रतिशतभन्दा बढी र एनआईसी एसिया बैंकको १ प्रतिशतको हाराहारीले नाफा घटेको पाइएको छ ।
त्यस्तै हिमालयन बैंक, एनएमबी बैंक, सनराईज बैंक, सानिमा बैंक र प्रभु बैंकको नाफा पनि घटेको छ । उता एनबी बैंकको नाफा झण्डै २२ प्रतिशतले र सिटिजन्स बैंकको २४ प्रतिशतको हाराहारीले घटेको छ । अहिलेको विषम अवस्थामा समेत प्राइम बैंक र ग्लोबल आईएमई बैंकले भने नाफा बढाएका छन् । प्राइम बैंकले झण्डै ४ प्रतिशत र ग्लोबल आईएमई बैंकले अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले नाफा बढाएको स्रोत बताउँछ ।