काठमाडौं, ५ भदौ । माइतीमा गएर छमछम नाच्ने तीजको दिन शुक्रबार कोरोना संक्रमणले निषेधाज्ञाका कारण यहाँका महिला घरबाहिर निस्कन पाएका छैनन् । माइती, मावली जाने त कुरै भएन, चोकसम्म पनि निस्कन र भेटघाट गर्न नपाएपछि तीज खल्लो भएको छ ।
माइतीमा आमा र दिदीबहिनीसँग रमाउने तीजमा घरमै रत्यौलीमा झैँ सासू, देवरानी र जेठानीसँग नाचेर तीज मनाउन महिलाहरु बाध्य छन् । भरतपुर महानगरपालिका–१० की ८४ वर्षीया विष्णुमाया गौतमले जीवनमा पहिलोपटक यस्तो तीज देखेकी छन् । उनको जीवनमा फरकफरक तीज देखिए, तर यस वर्ष सुनसान भयो । छोरी, नातिनीलाई बोलाएर एक छाक खुवाउन परै जावस् घरबाहिर पनि निस्कन नपाएको उनको भनाइ छ ।
बाल्यकाल, युवा र बूढो हुँदै जाँदा तीजको पारा फेरिँदै गएपनि सुनसानचाहिँ यही वर्ष भएको गौतम बताउँछिन् । उनले भनिनु, ‘बाँच्यो भने अर्को वर्ष रमाइलो गरी तीज मनाउँला ।’ कोरोना रोगका कारण निषेधाज्ञा भएको र तीज मनाउन नपाएको उनलाई थाहा छ ।
तीजको दिन जिल्लाका शहरी र ग्रामीण क्षेत्र भरिभराउ हुन्थे । रंगीचंगी कपडामा बालिकादेखि वृद्धासम्म रमाउने गर्दथे । गाउँ र शहरका ठाउँठाउँमा टेण्ट लगाएर तीज गीतका कार्यक्रम गरिन्थ्यो । पाँच वर्षअघि निकै भड्काउ तीज हुन थालेपछि स्थानीय प्रशासनले नियन्त्रण गर्नुपरेको थियो । एक महिना अघिदेखि दरका नाममा भोज भतेर हुने गरेको थियो । स्थानीय रेडियोले प्रायोजक खोजेर महँगा पुरस्कार राखेर प्रतियोगिता गर्ने गर्दथे ।
स्थानीय कालिका एफएम र टेलिभिजनका निर्देशक दीपक पौडेलका अनुसार आजका दिन नजिकैको शिव मन्दिरमा तीज गीत महोत्सव गर्ने गरिएको थियो । विसं २०५९ सालमा रेडियो स्थापना भए यता बर्सेनि आजका दिन भव्य कार्यक्रम गरेको उनी बताउँछन् । पौडेलले भने, ‘पाँच वर्षअघिसम्म रेडियो परिसरमै ठूलो राशिको पुरस्कार राख्थ्यौँ । पछि प्रशासनले रोक लगाएपछि महोत्सव गर्न थाल्यौँ ।’
पुरस्कारको राशि प्रथम हुनेलाई रु ६० हजारसम्म दिँदा ११० समूह सहभागी भएको उनले स्मरण गरे । त्यतिबेला चितवन, नवलपरासीसँगै छिमेकका जिल्लाबाट पनि प्रतियोगी आउँथे । अहिले भने सुनसान छ । खिचेर सामाजिक सञ्जालमा पठाएका नाच, गीत टिभीमा प्रसारण गरिरहेको उनले बताए ।
भरतपुर महानगरपालिका उपप्रमुखसमेत रहेकी नेपाल महिला संघ चितवनका अध्यक्ष पार्वती शाह ठकुरी रोगको संक्रमणका कारण तीज मनाउन नपाएको बताउँछिन् । उनका अनुसार विगतका वर्षमा जिल्लाको मुख्य बजार नारायणगढमा स्टेज बनाएर भव्य कार्यक्रम गरिन्थ्यो । वडादेखि नगर, क्षेत्र र जिल्लाले दर खुवाउने कार्यक्रमसमेत गर्ने गर्दथे । उनले भनिन्, ‘सम्भवतः जिल्लामा सबैभन्दा ठूलो सहभागिता हाम्रो हुन्थ्यो ।’
सासू, ससुरा र श्रीमानसँगै परिवारदेखि सरकारका काम कुरालाई गीतको भाकामा छेड हान्दै र प्रश्रय दिँदै आ–आफ्ना गीत महिलाहरुले गाउने गर्दथे । अखिल नेपाल महिला संघ चितवनका अध्यक्ष संगीता भट्टराई आफ्नो जीवनमा पहिलोपटक यस्तो तीजमा रमाउनुपरेको बताउँछिन् । रोगको संक्रमणको बाध्यता बुझेकै कारण जेजस्तो अवस्था छ त्यसैमा रमाउन उनले आग्रह गरिन् । विगतका तीजमा वडादेखि जिल्ला तहसम्मले गरेको रमाइलो सम्झँदै अहिले घरमै बसेर तीज मनाउनुको विकल्प नभएको उनले बताइन् ।
जिल्लाका छ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकाले घरबाट बाहिर निस्कन मिल्दैन । सबै घरघरमै बसेर तीज मनाइरहेका छन् । बुहारीहरुले सासूसँग र सासूले बुहारीसँग नाचेर यस वर्ष घरघरमा तीज मनाउनुपरेको छ । कोरोना भाइरसको संक्रमणका कारण वर्षदिनमा आउने महिलाहरुको ठूलो पर्व तीज खल्लो भएको छ । तैपनि रोगको संक्रमणका कारण सबैले भनेका छन्, ‘बाँचिबसे अर्को वर्षको तीज धुमधाम साथ मनाउँला ।
नजिक माइती भएपनि रोगको डरले छिमेकीले के भन्लान् भनेर धेरैले छोरी बोलाउन र जान आँट नगरेको भरतपुरकी शारदा शर्माले बताए । हिँडडुलमा नै रोक लगाइएको छ । समूहमा उठबस गर्न सम्भव नै नहुने भएकाले राति दर खाएका महिलाहरु आज बिहानदेखि घरमै सामाजिक सञ्जालमा रमाएर यस वर्ष तीज मनाइरहेका छन् । रासस