बनेपा, ७ भदौं । बनेपा नगरपालिकास्थित भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अर्को सूचना जारी नभएसम्मको लागि स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपासको टोलभित्र आवतजावतमा रोक लगाइएको वडा नं १३ का वडाध्यक्ष सूर्यनारायण नापितले जानकारी दिए ।
स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार शनिबार एकैदिन जिल्लामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनका अनुसार स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैंसेपाटीमा कार्यरत कर्मचारी २३ र धुलिखेल अस्पतालमा कार्यरत १२ कर्मचारीमा गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको सम्बन्धित अस्पतालमा नै उपचार भइरहेको डा झाले बताए ।
एकैदिन यतिधेरै संख्यामा संख्मण देखिएको जिल्लामा यो पहिलो पटक हो । सो संख्यासहित गरी काभ्रेपलाञ्चोक जिल्लामा संक्रमितको संख्या १३९ पुगेको छ । यसमध्ये ४३ जना निको भएर घर फर्किसकेका जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।