चितवन, ८ भदौ । चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको नमूना संकलनको शुरु गरिएको छ ।
निकुञ्जमा ५९ हात्ती छन् । निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना संकलनको काम शुरुआत भएको जानकारी दिए । हात्तीको कान वा पुच्छरको नशाबाट रगतको नमूना संकलन गर्न थालिएको छ । हात्ती प्रजनन केन्द्र खोरसोरमा २० र सौराहामा आठ हात्ती छन् । ती हात्तीको नमूना संकलन गर्न चारदेखि पाँच दिन लाग्ने उनले बताए ।
त्यसपछि पोष्टमा रहेका हात्तीको नमूना संकलन गरी परीक्षणका लागि पठाइने जनाइएको छ । काठमाडौँको सेन्टर फर मोलिकुलर डाइग्नोसिस नामको निजी प्रयोगशालामा नमूना पठाइने छ । अहिले क्षयरोगको मात्र परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । सन् २००२ यता क्षयरोगका कारण निकुञ्जका १५ हात्तीको अकालमा मृत्यु भएका छन् । सो अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्यांक छ ।
जिल्लाका हात्तीमा पहिलो पटक सन् २००२ मा क्षयरोग देखिएको थियो । सो संक्रमण सन् २०१६ सम्म जारी रह्यो । त्यतिबेला निकुञ्जका १७, निजी ४१ र राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई हात्तीमा क्षयरोग देखिएको थियो । त्यसपछिका केही वर्ष संक्रमण नदेखिए पनि सन् २०१८ यता क्षयरोगका कारण चार हात्ती मरेको अनुमान छ । चिकित्सक श्रेष्ठका अनुसार पछिल्लोपटक गत साउन १९ गते मरेको दीपेन्द्रगजमा क्षयरोगको संक्रमण थियो । यसअघि मरेका तीन हात्तीको पोष्टमार्टमका क्रममा फोक्सोमा समस्या देखिएकाले क्षयरोगको संक्रमण भएको अनुमान गरिएको उनको भनाइ छ ।
यस क्षेत्रमा निजी होटलका पनि ५७ हात्ती छन् । उनी हात्तीमा दोस्रो चरणमा क्षयरोग देखापरेको अनुमान गर्छन् । समयमा नै उपचार गर्न सकेमा हात्ती बचाउन सकिने जनाउँदै उनले उपचारको कामलाई तीव्रता दिन लागिएको बताए ।